तीन दिन भयो, निभाउनै मुस्किल पाल्पाकाे डढेलाे

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

तीन दिनदेखि लागेको डढेलोले पाल्पाका चार सामुदायिक वनमा ठुलो क्षति पुर्‍याएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको वडा नं. १ र २ स्थित चार सामुदायिक वनमा तीन दिनदेखि लागेको डढेलोले १६८ हेक्टर वन क्षेत्र सखाप बनाएको छ ।

वनमा लागेको आगो समयमै नियन्त्रणमा लिन नसक्दा चार सामुदायिक वनको अधिकांश क्षेत्र सखाप भएको हो । तीन दिनअघि विद्युत् सर्ट भएर वनमा सल्केको डढेलो समयमै नियन्त्रण लिन नसकिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए  ।

उनका अनुसार , “विद्युत् सर्ट भएर लागेको आगो धेरै स्थानमा फैलिएपछि मात्र जानकारी भयो । सुरुमै जानकारी पाएको भए सानो आकारको डढेलो नियन्त्रणमा लिन सहज हुन्थ्यो तर वनभरि फैलिएपछि निभाउन निकै गाह्रो भइरहेको छ ।”

सुरुमा लागेको डढेलो यति धेरै क्षेत्रमा फैलिएला भन्ने अनुमान नभएकाले पनि डढेलो धेरै क्षेत्रमा पुगेको वनका कर्मचारी बताउँछन् । यस क्षेत्रमा सल्लाका रुख मात्र रहेकाले डढेलो तीव्र गतिमा फैलिँदा नियन्त्रणमा लिन समस्या भएको थियो । डढेलो ठुलो भएकाले तीन दिनसम्म बस्तीमा जानबाट रोक्ने काम मात्र भएको स्थानीय बासिन्दा बताउँछन् ।

डढेलोबाट देउराली लेक सामुदायिक वनको ५० हेक्टर क्षेत्र सखाप भएको छ । उक्त सामुदायिक वन क्षेत्रले ६८ हेक्टर क्षेत्र ओगटेको छ । यस्तै देउराली र संयुक्त भारेखोला सामुदायिक वनको ४८ हेक्टर वन क्षेत्र डढेलोले सखाप पारेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङले जानकारी दिए ।

यस्तै ख्याहास्थित मधुवन समुदायिक वन क्षेत्रको १२० हेक्टरमध्ये ६० हेक्टरभन्दा बढीमा डढेलो लागेको तामाङले बताए ।

रिब्दीकोट वडा नं. २, देउरालीको वृन्दावन सामुदायिक वनको ३९ हेक्टरमध्ये १० हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । डढेलो लागेको क्षेत्र भौगोलिक विकटता र हावाहुरीका कारण नियन्त्रणमा लिन समस्या भएको सूचना अधिकारी तामाङले बताए ।

डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, वनका कर्मचारी परिचालित भए पनि नियन्त्रणमा लिन समस्या भइरहेको छ । डढेलो ठुलो भएकाले बस्ती जोगाउने काम मात्र भएको रिब्दीकोट–१, ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेल  बताउछन् ।

बिहीबार पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन । पानी नपर्ने हो भने यस क्षेत्रको वनमा लागेको डढेलो नियन्त्रणमा आउन थप केही दिन लाग्ने डिभिजन वन कार्यालयका कर्मचारी बताउँछन् । डढेलोले साना बुट्यान, झाडी, सल्लाका रुख, वन्यजन्तुको वासस्थान खरानीमा परिणत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *