सुरु भएसँगै पहाडी तथा ग्रामीण भेगका वनजङ्गल र खेतबारीका कान्लाहरूमा च्याउ उम्रन थालेका छन् । तर प्राकृतिक रूपमा उम्रिने यी च्याउहरू स्वादका लागि मात्र नभई कतिपय अवस्थामा ‘काल’ बनेर आउने गरेका छन् । वनस्पति विज्ञका अनुसार वर्षाको मौसममा च्याउको उपभोग उच्च हुने भए पनि विषालु र खाने च्याउ छुट्याउन नसक्दा वर्षेनी धेरै मानिसले अकालमै ज्यान गुमाउने गरेका छन् ।
यसै गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै वनस्पति अनुसन्धान केन्द्र सल्यानले ग्रामीण भेगमा जङ्गली च्याउ सङ्कलन र उपभोग नगर्न विगतमा झैँ सचेतना अभियान सञ्चालन गरेको छ । नेपालमा हालसम्म करिब एक हजार तीन सय प्रजातिका च्याउहरू अभिलेखीकरण गरिएका छन् । जसमध्ये एक सय भन्दा बढी प्रजातिहरू अत्यन्तै विषालु र ज्यानमारा रहेको वैज्ञानिक तथ्य छ ।
वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा.मित्र पाठकका अनुसार केही च्याउका प्रजाति त यस्ता पनि छन्, जसको एउटा सानो टुक्रा वा थोरै मात्रा मात्रै सेवन गर्दा पनि मानिसको शरीरमा गम्भीर असर पर्छ । ती च्याउमा हुने कडा विषले कलेजो र मिर्गौलालाई पूर्ण रूपमा फेल गराउने भएकाले मानिसको तत्कालै मृत्यु हुन सक्छ ।नेपाली समाजमा च्याउको गन्ध, स्वाद, रङ वा कीराले खाएको र नखाएको हेरेर विषालु हो वा होइन भनी छुट्याउने भ्रम अझै कायम छ ।
डा.पाठकले वैज्ञानिक परीक्षणबिना च्याउको बाहिरी रूप, गन्ध वा रङ हेरेर मात्र विषालु हो कि होइन भनेर छुट्याउनै नसकिने स्पष्ट पारे । “त्यसैले थोरै मात्र शङ्का लागे पनि जङ्गली च्याउ नखानु नै सबैभन्दा सुरक्षित उपाय हो”, उनले भने । जङ्गली च्याउ खाएपछि सुरुमा सामान्य पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षण देखिन्छन्, जसलाई धेरैले सामान्य अपच सोचेर बेवास्ता गर्छन् । “पछि यसले बिस्तारै चेतना हराउने र मिर्गौला तथा कलेजो स्थायी रूपमा ध्वस्त पारेर मानिसको ज्यानै लिने गर्दछ”, डा.पाठकले भने ।
नेपालमा पाइने घातक विषालु च्याउमध्ये ‘अमेनिटा भाइरोसा’ मुख्य मानिन्छ । यो प्रायः जंगल, झाडी र सिँचाइ भएका सल्लो तथा बाक्लो वन क्षेत्रमा पाइन्छ । यसैगरी ‘अमेनिटा कन्सेन्ट्रीका’ नामको विषालु च्याउ पनि खेत, झाडी र सल्लेरी वन क्षेत्रमा देखिने गरेको छ ।अनुसन्धान केन्द्रका अनुसार ‘अमेनिटा लङ्गिस्ट्रियाटा’, ‘अमेनिटा फालोइडेस’ र ‘अमेनिटा सबग्लोबोसा’ पनि खेत, झाडी तथा सिँचाइ भएका वन क्षेत्रमा फैलिएका छन् । यी च्याउ सामान्य खाने च्याउ जस्तै देखिएपनि भित्र घातक विष बोकेका हुन्छन् ।
सल्लोको वन र झाडीमा उम्रने ‘अमेनिटा भर्ना’ प्रजाति समेत यही ज्यानमारा सूचीमा पर्छ ।अमेनिटा समूहबाहेक तराईदेखि उच्च पहाडसम्मका स्याउ र सल्लोका रुख, खेत र झाडीमा ‘ग्यालेरीना मर्जिनाटा’ नामको अर्को खतरनाक च्याउ पाइन्छ । यस्तै सिँचाइ भएका खेत र झाडीमा फस्टाउने ‘माइसिना पुरा’ र हाल नेपालमा खतरनाक विषालु च्याउको रूपमा पहिचान गरिएको ‘पाक्सिलस इनभोलुटस’ नामका च्याउहरू पनि निकै घातक प्रमाणित भएका छन् ।
यस्तो अवस्थामा जङ्गली च्याउको उपभोगबाट बच्नका लागि पहिचान नखुलेको च्याउ पूर्ण रूपमा निषेध गर्नुपर्ने अनुसन्धान केन्द्रको भनाई छ ।यदि जङ्गली च्याउ खाएपछि कुनै पनि असहज लक्षण देखिएमा घरेलु उपचारमा नअल्झिई तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वैज्ञानिक अधिकृत डा.पाठकले सुझाव दिए ।
