महोत्तरी प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी कैद भुक्तानीका लागि जलेश्वर कारागार पठाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी पञ्चलाल गोलेका अनुसार कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा प्रतिवादी रहेका महोत्तरीको गौशाला नगरपालिका-२ निवासी ६० वर्षीय लक्ष्मी महतोलाई अदालतको फैसला कार्यान्वयनका लागि बिहीबार कारागार पठाइएको हो ।कोइरी २०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन ।
प्रहरीका अनुसार २०७२ भदौ २५ गते ड्युटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिक माथि आक्रमण गरी हत्या गरिएको घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीले २०८० मङ्सिर २८ गते लक्ष्मी महतोलाई सफाइ दिएको थियो तर उक्त फैसला उल्टाउँदै उच्च अदालत जनकपुरले २०८३ असार १७ गते मुलुकी ऐन ज्यान सम्बन्धी महलको दफा १७९२० बमोजिम पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको छ।
उक्त फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले लक्ष्मी महतोलाई २०८३ असार १८ गते साँझ करिब ६ बजे पक्राउ गरी आज शुक्रबार महोत्तरी जिल्ला अदालत, जलेश्वरमा उपस्थित गराई अदालतको आदेशअनुसार पाँच वर्ष कैद सजाय भुक्तानीका लागि कारागार कार्यालय जलेश्वर पठाइएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी पञ्चलाल गोलेले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक गोलेको अनुसार अदालतको फैसला कार्यान्वयन अभियानलाई निरन्तरता दिइएको हो ।
