पुराण वाचन, ज्योतिषी कर्म गर्ने र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर अनुमतिपत्र दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड लागेको छ । प्रशिक्षण लिन चाहनेको भीड लागेपछि यही महिनाको अन्तिमदेखि ६ महिने कार्यक्रम सुरु गर्न लागिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरु समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनाको अन्तिमदेखि प्रशिक्षण दिन लागिएको हो । समितिमा आफैं खोजी गर्दै २० जना प्रशिक्षार्थी आएको समितिले जनाएको छ ।प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गर्न लागिएको उतले सुनाए । ज्योतिष प्रशिक्षण लिन भने जनजाति र दलित पनि आउने गरेको समितिले जनाएको छ । कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ ।