टेक्सस, अमेरिका — बलात्कार आरोपमा दुई नेपाली विद्यार्थी अमेरिकामा पक्राउ छन् । एकलाई प्रहरीले पक्राउ गरेपछि अर्का एक जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । पक्राउ पर्नेमा १९ वर्षीय सुजन तामाङ र २० वर्षीय दीपक फुयाँल छन् । मिनेसोटा राज्यको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययरत तामाङ र फुयाँलमाथि गत १ नोभेम्बर राति मिनेसोटाको सेन्ट क्लाउडको फस्ट एभेन्यु साउथ ठेगानामा रहेको युनिभर्सिटीको छात्रावासको कोठामा आफूसँगै लगेर एक महिला विद्यार्थीलाई बलात्कार गरेको आरोप लगाइएको छ ।
क्यालिफोर्नियामा फ्रिमोन्ट प्रहरी विभागको स्ट्रिट क्राइम्स युनिटले फुयाँललाई पक्राउ गरेको थियो । उनलाई मिनेसोटा पठाउनका लागि प्रहरीले बिहीबार इस्ट काउन्टी हल अफ जस्टिसमा पेस गर्ने जनाएको छ । उनलाई क्यालिफोर्नियास्थित सान्तारिता जेलमा राखिएको छ । घटनापछि फुयाँलले कलेज ट्रान्सफर गरेका थिए । उनी पछिल्लो समय सान फ्रान्सिस्को बे युनिभर्सिटीमा अध्ययरत थिए ।
पीडितको चिकित्सा परीक्षण गर्दा संकलित डीएनए नमुना फुयाँल र तामाङ दुवैसँग मिलिसकेको प्रहरीको दाबी छ । अमेरिकाको कानुन अनुसार फुयाँलविरुद्ध पहिलो र तेस्रो डिग्रीको आपराधिक यौन दुर्व्यवहार र पहिलो डिग्रीको आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको अभियोजन अघि बढाइएको छ ।
