यथावत् चलाउन दिने कि भवन नै भत्काउने भन्ने टुंगो लागिनसकेको छायाँदेवी कम्प्लेक्सका लगानीकर्ताहरू भने सर्वसाधारणलाई सेयर बेचेर आफ्नो लगानी सुरक्षित गर्ने दाउमा देखिएका छन् । राजधानीको ठमेलस्थित ऐतिहासिक पोखरी मासेर निर्माण भएको छायाँदेवी कम्प्लेक्सको आईपीओ निष्कासन गरेर जनतालाई सेयर बिक्री गरी रकम उठाउने दाउ रहेको देखिएको छ ।
सार्वजनिक जग्गामा गैरकानुनी रूपमा निर्माण भएको छायाँदेवी कम्प्लेक्सविरुद्ध परेको मुद्दाको अन्तिम किनारा सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने क्रममा रहेको छ । तर,सो कम्प्लेक्सका लगानीकर्ताहरू सर्वोच्चको निर्णय आउनुअगावै सेयरबेच्ने योजनाका साथ नेपाल धितोपत्रबाट स्वीकृति लिने कसरतमा लागेकाछन् । त्यसका निम्ति उनीहरूले नेपाल धितोपत्र बोर्डमाथि विभिन्न शक्ति केन्द्रबाट दबाब पु¥याउँदै आएको स्रोतको भनाइ छ ।
जसरी यसअघि जग्गा सार्वजनिक कि व्यक्तिको जग्गा भन्नेमा विवादकैबीच शक्ति केन्द्रहरूसँगको मिलेमतोमा भवन निर्माण गरी १५ तले कम्प्लेक्स बनाएर भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र लिएका थिए । त्यसै गरी अहिले मुद्दाको किनारा नलाग्दै सर्वसाधारण जनतालाई सेयर बेचेर आफू उम्किने दाउमा रहेको पाइन्छ । छायाँदेवी कम्प्लेक्सले १४ लाख ३७ हजार ५ सय कित्ता सेयर प्रतिकित्ता ४ सय रुपियाँ प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्नका लागि बोर्डमा आवेदन दिएको छ ।
पहिले नै छायाँदेवी कम्प्लेक्समा विभिन्न व्यवसायीलाई पसल कबल बिक्री गरेर केही रकम उठाइसकेका यसका सञ्चालकहरूले जनतालाई महँगो मूल्यमा सेयर बिक्री गरेर साढे ५७ करोड रुपियाँ उठाउन चलखेलमा लागिरहेका छन् । यसका सञ्चालकहरूले बोर्डबाट स्वीकृति लिन लामै कसरत गरिरहे पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेलामा आईपीओ निष्कासनको अनुमति दिन भने बोर्डका अधिकारीहरू हच्किरहेको स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो । धितोपत्र बोर्ड स्रोतले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्यो– ‘आईपीओ निर्णय गराउन बोर्डमाथि धेरैतिरबाट दबाब आइरहेको छ । तर, विवादास्पद निर्णय गर्न नेतृत्वले हिम्मत गरिरहेको अवस्था छैन ।’
छायाँदेवी कम्प्लेक्सको वैधानिकतामाथि नै प्रश्न उठिरहेका एउटा विषय हो भने अर्को कम्पनीले प्राथमिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) बुक बिल्डिङ विधिमार्फत निष्कासन गर्ने गरेको प्रस्ताव र त्यसका निम्ति पूरा गर्नुपर्ने प्रावधानमा समेत आशंका रहेको स्रोतको भनाइ छ । बुक बिल्डिङ विधिबाट सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डले चारवटा मापदण्ड तय गरेको छ ।
जसमा संगठित संस्था तीनवटा आर्थिक वर्षमा लगातार खुद मुनाफामा सञ्चालनमा रहेको, संगठित संस्थाको साधारणसभाले बुक बिल्डिङ विधिमार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको, संगठित संस्थाको प्रतिसेयर नेटवर्थ प्रतिसेयर चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत रहेको र संगठित संस्थाले कम्तीमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेका हुुनपर्ने उल्लेख छ ।
उल्लेखित मापदण्ड पूरा गरेका कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न पाउनेछन् । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्दा आईपीओलाई दुई भागमा छुट्याइनेछ । ४० प्रतिशत संस्थागत लगानीकर्ताका लागि लिलामी प्रक्रियाबाट मूल्य निर्धारण गरिन्छ भने बाँकी ६० प्रतिशत सेयर कट अफ प्राइसमा सर्वसाधारणका लागि छुट्याइन्छ ।
नेपाल धितोपत्र बोर्डको चारवटा मापदण्डमध्ये पहिलो तीन आर्थिक वर्षमा लगातार नाफा गएको भन्नेमा आशंका रहेको छ । कम्प्लेक्सको वैधानिकतामाथि मुद्दा उल्टिएपछि ठूला तथा अन्तर्राष्ट्रिय स्तरका कार्यालय र व्यवसायले छोडेका कारण लामो समयदेखि ठूलो क्षेत्रफल खाली छ । धमाधम सटर खाली हुने र अफिसहरू हट्ने क्रम बढिरहेका बेला छायाँ सेन्टरको वित्तीय विवरणमा नक्कली नाफा देखाएको आशंका बोर्डलाई रहेको छ ।
छायाँदेवी सेन्टर बनेको जग्गा सार्वजनिक भएको भन्दै परेको मुद्दा सर्वोच्च अदालतले मुद्दाको किनारा नलगाउँदै हतारमा आईपीओ निष्कासनका लागि आवेदन दिनुलाई संशय उत्पन्न भएको ठमेलका स्थानीय तथा अभियन्ता भागवत नरसिंह प्रधानले बताउनुभयो ।
‘हामीले आईपीओ निष्कासन रोक्न माग गर्दै तीन वर्षअघि नै नेपाल धितोपत्र बोर्डसँग माग गरेका थियौं’, प्रधानले भन्नुभयो– ‘सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ सकेर निर्णय सुनाउने समयमा पारेर पुनः छायाँदेवी कम्प्लेक्सले आईपीओ निष्कासनका लागि आवेदन दिनु अदालतको अवहेलना गर्नु हो ।’ हाल सर्वोच्चमा छायाँदेवी कम्प्लेक्सविरुद्ध १५ थान मुद्दाको अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने निर्णय भइसकेको छ ।
सो कम्प्लेक्समा शुरूमा ४३ जनाको लगानी रहेकोमा हाल अधिकांशले बेचेर १७ जनामा आइपुगेका छन् । धेरैले कम्प्लेक्समा गरेको लगानी उठाइसकेका छन् । तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमन पाण्डे र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे प्रमुख रहेका छन् ।
