तातोपानी नाकाबाट अब हेलिकोप्टर पनि आयात

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल र चीनको मुख्य सीमा तातोपानी नाका हुँदै पहिलो पटक हेलिकोप्टर नेपाल आयात गरिएको छ । नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको फ्रान्सेली कम्पनी एयर बसद्वारा उत्पादित हेलिकोप्टर चीनको ‘तिया जिन’ सहर हुँदै कन्टेनर मार्फत  तातोपानी भन्सारको सुक्खा बन्दरगाहमा ओरालिएको हो ।

भूकम्पपछि चीनबाट विभिन्न सामान ढुवानी गर्दै आएको ‘आडो ट्रान्सपोर्ट’ कम्पनीले उक्त हेलिकोप्टरलाई ४० फुटे ट्रेलरमा राखेर तातोपानी नाका ल्याएको हो । हेलिकोप्टरको पङ्खा खोलेर ल्याइएको थियो ।

अहिले भन्सार जाँचसँगै पङ्खाको पुनः जडानको काम भइरहेको छ । माउन्टेन हेलिकोप्टर प्रालिले त्यस्ता पाँच वटा हेलिकोप्टर खरिद गरेको जनाएको छ । सबै हेलिकोप्टर तातोपानी नाकामार्फत काठमाडौँ ल्याइँदै छ ।

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालका अनुसार भन्सारमा अहिले हेलिकोप्टरको कागजात, लागत मूल्य, नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त अनुमतिलगायतका विवरणको जाँच भइरहेको छ । उनले हेलिकोप्टरका लागि एक प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने जनाए  ।

यस आधारमा करिब चार करोड १२ लाख रुपियाँभन्दा बढी राजस्व लाग्ने तातोपानी भन्सारका सूचना अधिकारी सूर्य काफ्लेले जानकारी दिए ।भन्सार जाँचपछि प्राविधिक टोलीले हेलिकोप्टरको अवस्था परीक्षण गरी तातोपानीबाट उडाएरै काठमाडौँ लगिने आयातकर्ताले जनाएका छन् ।

हालसम्म लत्ताकपडा, फलफूल, तरकारी, विद्युतीय सामान, विद्युतीय सवारीसाधन मात्र आयात हुने यस नाकाबाट अब हेलिकोप्टर लगायतका प्राविधिक र उच्च मूल्यका सामग्री पनि भित्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *