स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले देशमा बढ्दो आवास संकटविरुद्ध भइरहेका ठूलो जनप्रदर्शनको दबाबबीच आकस्मिक निर्वाचन घोषणा गरेका छन्।
सान्चेजले आफ्नो आधिकारिक निवास म्याड्रिडस्थित मोन्क्लोआ दरबारबाट राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै संसद् विघटन गरी आगामी नोभेम्बर २९ का लागि आकस्मिक निर्वाचन घोषणा गरेका हुन्।
‘अब स्पेनी जनताले आफू र आफ्नो देशका लागि कस्तो भविष्य चाहन्छन् भन्ने निर्णय गर्ने समय आएको छ,’ सान्चेजले भने।
स्पेनको आवास संकटलाई लिएर बढिरहेको जनदबाब कम गर्ने उद्देश्यले सरकारले ल्याएका आवाससम्बन्धी दुईवटा शाही अध्यादेशलाई संसद्को समर्थन जुटाउन नसकेको ७२ घण्टा नबित्दै सान्चेजले निर्वाचन घोषणा गरेका हुन्।
सान्चेजले आफ्नो सरकारले ‘गल्ती गरेको र आफूहरूले गर्न तय गरेका सबै काम गर्न नसकेको’ स्वीकार गरेका छन्।
उनले अझै ‘धेरै अन्याय सच्याउन बाँकी रहेको’ बताए। आवश्यक सुधार अघि बढाउन ‘असमानताको वर्तमान स्तर घटाउन सकून् भन्ने उद्देश्यले सार्वजनिक समर्थन नवीकरण र विस्तार गर्न आवश्यक रहेको’ उनले बताए।
केही दिनदेखि सयौँ मानिस राजधानी म्याड्रिडको मध्यभागमा रहेको पुएर्ता डेल सोलमा शिविर बनाएर देशमा चर्किएको आवास संकटविरुद्ध प्रदर्शन गरिरहेका छन्।
आवास संकट समाधानका लागि विभिन्न उपायको माग गर्दै गत एक सातामा स्पेनका विभिन्न सहरमा पनि प्रदर्शन फैलिएको छ।
