जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो सबैभन्दा बढी सुनसरीको चतरामा २७.८ मिलिमिटर वर्षा मापन गरिएको छ। अहिले कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार र मङ्गलबार देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ।
सोमबार कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी एवम् तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी र मधेस प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै मङ्गलबार देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
