दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । असार ३१ गते राति ध्रुर्वेलाई सुखीभार पोष्ट नजिक डार्ट गरेर दुई वटा दाह्रा काटिएको हो ।
ध्रुर्वेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ । जडान गरिएको रेडियो कलरबाट प्रत्येक १० मिनेटमा सूचना सङ्कलन भइरहेको छ । दुई दिनअघि चितवन राष्ट्रिय निकुञ्जबाट सीतामाई नजिक जान लागेको भए पनि पुनःफर्किएर चुरेको फेदितर्फ पुगेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।
बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउनेगरी तयारी गरिएकोछ ।निकुञ्जभित्र ४५ देखि ५० वटा हात्ती छन् ।
