इरान वार्तामा नफर्किए उसका पुल र पावर प्लान्टमा बम हान्ने ट्रम्पको धम्की

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्के अर्को हप्ता इरानका ठुला पुल र ऊर्जा संयन्त्रमा प्रहार गर्ने धम्की दिएका छन् । दुई देशबिच लगातार  एक–अर्कामाथि मिसाइल हानाहान भएपछि ट्रम्पले ‘फक्स न्युज’सँगको कुराकानीमा यस्तो चेतावनी दिएका हुन् ।

‘अर्को हप्ता उनीहरूका लागि साँच्चै नराम्रो हुन्छ । हामी उनीहरूका सबै ऊर्जा संयन्त्रलाई नष्ट गर्नेछौँ । उनीहरू वार्तामा नआए हामी उनीहरूका सबै पुल उडाइदिनेछौँ,’  फक्स न्युजमा प्रसारित ब्रेट बायरसँगको अन्तर्वार्तामा ट्रम्पले भने ।

यसअघि पनि अप्रिलमा ट्रम्पले इरानका पुल र ऊर्जा संयन्त्रसहित नागरिक पूर्वाधार नष्ट गर्ने चेतावनी दिएका थिए । त्यतिवेला संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले ‘अन्तर्राष्ट्रिय कानुनअन्तर्गत नागरिक र नागरिक पूर्वाधारमा जानाजानी आक्रमण गर्नु युद्ध अपराध हुने’ चेतवानी दिएका थिए । युद्धमा मानवीय आचरणसम्बन्धी सन् १९४९ को जेनेभा महासन्धिले नागरिक प्रयोजनका लागि प्रयोग हुने क्षेत्रमाथि आक्रमण गर्न निषेध गर्छ ।

तथापि, ट्रम्प यसअघि आफैँले दिएको ‘स्ट्रेट अफ हर्मुज’मा हुने कार्गो ढुवानीमा २० प्रतिशत शुल्क लगाउने धम्कीबाट भने पछि हटेका छन् । ट्रम्पको घोषणाको केहीपछि देखि इरानभित्र लगातार सात घण्टा बमबारी भएको थियो । ‘व्यावसायिक ढुवानी र नागरिक चालक दललाई धम्की दिने इरानको क्षमतालाई अझ कमजोर बनाउने’ उद्देश्यले स्ट्रेट अफ हर्मुज क्षेत्रनजिकै ‘दर्जनौँ’ इरानी सैन्य लक्ष्यमा प्रहार गरेको ‘अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)’ले बताएको छ ।

अमेरिकी आक्रमणको जवाफमा इरानले खाडी क्षेत्रका जोर्डन, कुवेत र बहराइनमा रहेका अमेरिकी आधार क्षेत्रमा मिसाइल र ड्रोन प्रहार गरेको इरानी सरकारी टेलिभिजन आइआरआइबीले जनाएको छ । यसबिच, ढुवानीसम्बन्धी तथ्यांक राख्ने संस्थाका अनुसार इरान र अमेरिकाबिच जवाफी आक्रमण सुरु भएपछि स्ट्रेट अफ हर्मुजबाट हुने ट्राफिक आवागमन दुई महिनायताकै न्यून स्तरमा पुगेको छ । त्यस्तै कच्चा तेलको बेन्चमार्क ब्रेन्टको मूल्य पनि तीव्र गतिमा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *