धरापमा कांग्रेस–एमाले सत्ता सहकार्य

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको सातै प्रदेशको सत्ता समीकरण धरापमा परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन गर्नुपर्ने एमाले अडानपछि बढेको विवादले सत्ता सहकार्य टुङ्गिने चरणमा पुगेको हो ।

कांग्रेस–एमालेबिच सङ्घीय सरकार र प्रदेश सरकारमा सहकार्यका लागि २०८१ असार १७ गते भएको सातबुँदे सम्झौता दुई वर्षपछि तोडिएको छ । कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच साढे तीन वर्षका लागि सत्ता सहकार्यको सहमति भएको थियो । तर २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सङ्घीय सरकारबाट दुई दल बहिर्गमनमा परेका थिए ।

प्रदेश सरकारमा सहकार्य जारी रहँदा २०८२ पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व गगनकुमार थापामा हस्तान्तरण भयो । त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो । कांग्रेसले प्रदेश सरकारका कामकारबाही अझै प्रभावकारी बनाउने सन्दर्भमा एमालेसँग संवाद गरे पनि सार्थक निष्कर्ष नआएपछि सत्ता समीकरण परिवर्तनको गृहकार्य सुरु भएको हो ।

प्रदेशतर्फ कोशी प्रदेशमा एमाले सचिव हिक्मतकुमार कार्की, मधेश प्रदेशमा कांग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशमा कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री छन् । त्यसै गरी गण्डकी प्रदेशमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशमा एमाले नेता चेतनारायण आचार्य, कर्णाली प्रदेशमा एमाले सचिव यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेता कमलबहादुर शाह मुख्यमन्त्री छन् ।

कांग्रेस कोशी प्रदेश कार्यसमितिले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ । एमाले बागमती प्रदेश संसदीय दलले सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन शनिबार निर्देशन दिएको छ । मधेश प्रदेश र गण्डकी प्रदेशस्थित दुवै दलको नेतृत्व छलफलमै छ ।

लुम्बिनी प्रदेशमा कांग्रेसले गठबन्धन तोड्न नहुने बताए पनि केन्द्रको निर्देशन अनुसार अघि बढ्ने प्रस्ट पारिसकेको छ । कर्णाली प्रदेश सरकारविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपाले मुख्यमन्त्री शाहलाई राजीनामा दिन सुझाव दिएको छ । मुख्यमन्त्री शाहले केन्द्रको निर्णय पर्खिरहेको बताए  ।

संवाद सुरु भयो : कांग्रेस 

कांग्रेसले एमालेसँग सत्ता गठबन्धन तोडेर नेकपासँग सहकार्यको प्रयास गरिरहेको छ । एमाले पनि नेकपालाई फकाउने प्रयत्नमा छ । कांग्रेस सभापति थापाले प्रतिनिधि सभाका प्रतिपक्षी दलबिच प्रदेशमा सहकार्य गर्नुपर्ने नेकपाको प्रस्तावमा विमति जनाएका छन् । उनले सत्ता सहकार्यका सन्दर्भमा सहमति नभए कांग्रेस प्रतिपक्षमा बस्न तयार हुने प्रस्ट पारे  ।

एमाले अध्यक्ष ओलीले साउन १ गते च्यासलमा आयोजित कार्यक्रममा आफ्नो पार्टीलाई एक्ल्याउने प्रयास निरन्तर बढिरहेको आरोप लगाउदै भनेका थिए  “एमाले यस्तो लहरो होइन, जसले अर्कालाई नसमातीकन उठ्नै सक्दैन ।” यो अभिव्यक्तिले अध्यक्ष ओली कांग्रेससँग चिढिएको प्रस्ट सन्देश दिएको छ ।

कांग्रेस नेताहरू र नेकपाका नेताहरू उनिसँग संवादकै चरणमा छन् । कांग्रेस सभापति थापासँगै उपसभापति विश्वप्रकाश शर्माले अन्य दलसँग संवाद गरिरहेकाे र एमालेका पदाधिकारी नै संवादमा रहँदा नेकपाका सहसंयोजक माधवकुमार नेपालसँगै नेता वर्षमान पुन र प्रमेश हमालले संवादको अगुवाइ गरेका छन् ।

कांग्रेस महामन्त्री गुरुराज घिमिरेले एमालेसँगको मौजुदा राजनीतिक समझदारी सङ्कटमा परेको प्रस्ट पार्दै  पछिल्लो राजनीतिक विकासक्रम र सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको किचलोका कारण कांग्रेसले नयाँ राजनीतिक विकल्पबारे छलफल थालेको बताए  ।

उनले विगतको नेतृत्व तहमा भएको समझदारी अनुसार सङ्घ र प्रदेशमा कांग्रेस–एमाले गठबन्धन अघि बढे पनि पछिल्लो समय एमालेको कार्यशैलीले समस्या उत्पन्न भएको दाबी गर्दै भने विशेष गरी सुदूरपश्चिम प्रदेशमा बजेट पुनर्लेखनको माग र एमालेको असहयोगका कारण गठबन्धनमा अविश्वास पैदा भएको हो ।

उनले थप भने, “एमालेको नेतृत्व भएको ठाउँमा हामीले सहजै साथ दियौँ । तर कांग्रेसको नेतृत्व भएको प्रदेशमा एमालेले जटिलता पैदा गर्ने काम गरेको हो । सुदूरपश्चिममा बजेट पुनर्लेखनको अड्को थापेपछि केन्द्रीय नेतृत्वले पनि त्यसलाई सुल्झाउन तदारुकता देखाएन । यसले एमालेको नियतमा शङ्का उब्जाएको छ ।”

महामन्त्री घिमिरेले अब कांग्रेसका लागि दुई वटा विकल्प खुला रहेको स्पष्ट पारे  । उनका अनुसार कांग्रेस सभापति थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल  बिच गत मङ्गलबार भेटवार्ता भएको थियाे  । उनले समझदारी बने नेकपासँग सहकार्य हुने सम्भावना बलियो रहेको बताउदै भने  सङ्घमा जस्तै प्रतिपक्षमा बस्ने वा नेकपासँग मिलेर नयाँ सत्ता समीकरण बनाउने भन्ने विषयमा पार्टीभित्र छलफल सुरु भएको छ  “हामीले अहिले दुवै ढोका खुला राखेका छौँ । एमालेसँगको संवाद टुटेको छैन तर नेकपासँग पनि संवादको प्रक्रिया अघि बढेको छ ।”

एमाले–नेकपा पनि छलफलमै 

एमाले र नेकपाले पनि बहुपक्षीय छलफल आरम्भ गरेका छन् । एमाले सचिव खगराज अधिकारी र नेकपाका नेता प्रकाश ज्वालाले कांग्रेससँग संवाद भइरहेको बताए  । सचिव अधिकारीले कांग्रेससँग भएको सहमतिमा एमाले अडिग रहेको बताउदै भने  “हामी छलफलमै छौँ । कांग्रेसले अस्थिरता निम्त्याउने विश्वास लागेको छैन । समझदारी हुन्छ भन्ने नै छ ।”

नेता ज्वालाले श्रीलङ्का जानुअघि नेकपा संयोजक दाहाल र कांग्रेस सभापति थापाबिच परामर्श भएको जानकारी दिए  । निर्णयमा चाहिँ नपुगेको बताउँदै उनले एमालेसँग पनि सामान्य छलफल भएको बताउदै भने  “कांग्रेस, एमाले, नेकपा, जसपा नेपालसहित सबै दलबिच प्रदेशमा सहकार्य हुनु पर्छ भन्ने नेकपाको केन्द्रीय नीति हो । सकेसम्म समझदारी गर्ने, नभए नीति निर्धारण गरेर सहकार्य गर्ने हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *