प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौं उपत्यकामा बढ्दो अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित अध्ययन समिति गठन गरेका छन् ।
कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेका हुन् ।
समितिमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेत, प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका एसएसपी रमेश थापा, सुपरीवेक्षण तथा अनुगमन महाशाखाका एसएसपी नवराज अधिकारी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी होबिन्द्र बोगटी, नेपाल प्रहरी प्रधान कार्यालय यूएन शाखाका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाही, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराई र अपराध अनुसन्धान विभागका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रुपेन्द्र नारायण श्रेष्ठ सदस्य रहेका छन् ।
यो समितिलाई विशेषगरी चारवटा मुख्य ‘टाक्स’ दिइएको छ । पहिलो, पछिल्लो समय उपत्यकामा विभिन्न प्रकारका अपराधका घटना भइरहेको उल्लेख गर्दै ती घटनालाई न्यूनीकरण गरी अपराध हुन नदिने वातावरण सिर्जना गर्न सकिने रणनीति तय गर्ने रहेको छ ।
दोस्रो, सूचना संयन्त्रलाई कसरी परिचालन गर्न सकिन्छ ?, तेस्रो, प्रविधिमैत्री जनशक्तिको विकास कसरी गर्न सकिन्छ ? चौथो, आधुनिक स्रोत साधनसँगै नवप्रविधिको प्रयोग गरी सुरक्षामा आउन सक्ने चुनौतीलाई सहजै नियन्त्रण लिन सक्ने गरी काठमाडौं उपत्यकाको भुगोललाई मध्यनजर गरेर काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन अवलम्बन गर्नुपर्ने रायसहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार समितिले उपत्यकामा बढ्दो सुरक्षा चुनौतीको अध्ययन गर्दै अपराध नियन्त्रणका लागि प्रभावकारी र दीर्घकालीन रणनीति तयार गर्नुपर्ने हुन्छ । समितिलाई समयसीमा भने तोकिएको छैन । समितिले अहिले काठमाडौं उपत्यकामा हुने अपराधका घटनाको विश्लेषण गरिरहेको छ । विशेषगरी आर्थिक अपराधहरू क्रमश: बैकिङ कसुर र ठगी बढी हुने गरेका छन् । यससँगै प्रविधिमार्फत हुने साइबर अपराध, स्क्यामिङ जस्ता अपराधको पनि यो समितिले विश्लेषण गरिरहेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरमा हुने अपराधका ‘प्याटर्न’ लाई एकै ठाउँमा राखेर विश्लेषण भइरहेको समितिका एक सदस्यले बताए ।उनले भने, ‘काठमाडौं धेरै ठूलो जनसंख्या भएको भुगोल हो । यहाँ धेरै प्रकारका अपराध हुन्छन् । अपराधीले अपनाउने शैली फरक–फरक हुन्छन् । हुनसक्ने सबै खालका अपराध र अपराध अनुसन्धानको विधि तथा अपराध न्यूनीकरणमा के गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका छौं ।’
प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेले काठमाडौं उपत्यकामा लामो समय रहेर काम गरेका अधिकृतको अनुभवका आधारमा उपत्यकालाई अपराध न्यूनीकरणतर्फ कसरी प्रभावकारी ढंगले प्रहरीले काम गर्नुपर्छ भन्ने हेतुले अध्ययन समिति गठन गरिएको बताए ।
काफ्लेले भनेजस्तै समितिमा रहेका सदस्यहरूमध्ये रमेश बस्नेत, रमेश थापा र होविन्द्र बोगटीसँग विगतमा जिल्ला प्रहरी परिसर काठमाडौं र यसका मातहत हुँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेको अनुभव छ ।
एसएसपी नवराज अधिकारी काठमाडौं परिसरमै काम गरेका अधिकृत हुन् । एसपी सुधीर शाही काठमाडौं परिसर र केन्द्रीय अनुसन्धान ब्यूरोमा काम गरिसकेका अधिकृत हुन् । एसपी पवन भट्टराई डीएसपी हुँदा र अहिले पनि काठमाडौं परिसरमै कार्यरत छन् ।
‘विगतमा अपरेशन फिल्डदेखि अनुसन्धानसम्म काम गरेका वरिष्ठ अधिकृतहरूले आफ्नो अनुभव र अहिलेको पछिल्लो अपराध ट्रेन्डको अध्ययन गरेर आगामी दिनमा कसरी प्रभावकारी ढंगले अपराध नियन्त्रण गर्न सकिन्छ भनेर समिति गठन गरिएको हो,’ डीआईजी काफ्लेले भने, ‘उहाँहरूलाई दिइएको टीओआर अनुसार प्रतिवेदन बुझाउनुहुन्छ ।’
