पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा मङ्गलवार साँझ दुईवटा ठुला सवारीसाधन एकापसमा ठोक्किँदा घाइते भएका दुबै चालकको पहिचान खुलेको छ ।
आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको पावर हाउस नजिकै साँझ सवा ६ बजे मुग्लिनबाट आँबुखैरेनी जाँदै गरेको मधेस प्रदेश ०३–००१ क २७०० नम्बरको इन्धन बोक्ने ट्याङ्कर र विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७७७५ नम्बरको मालबाहक डिब्बा ट्रक एकापसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्धारिकाप्रसाद श्रेष्ठका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा तेल ट्याङ्करका चालक लमजुङको सुन्दरबजार नगरपालिका–९ बस्ने ४३ वर्षीय हरीबहादुर घर्ती र डिब्बा ट्रकका चालक धादिङको नौबिसे नगरपालिका–८ बस्ने ३९ वर्षीय गौतम श्रेष्ठ रहेका छन् । उपचारका लागि उनिहरू लाइ स्थानीय आँबुखैरेनी अस्पताल पुर्याइएकाे प्रहरीले जनाएको छ ।
व्यस्त राजमार्गको मुख्य खण्डमै दुर्घटना भई दुवै सवारीसाधन सडकमै रहेकाले पृथ्वीराजमार्गमा सवारी आवागमन दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध बनेको छ। यस क्षेत्रमा गुड्ने अन्य वैकल्पिक सडक नहुँदा गन्तव्यतर्फ हिँडेका सयौँ सवारीसाधन र हजारौँ यात्रीहरू सडकमै अलपत्र परेका छन् ।
घटनाको लगतै इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदिप सुबेदीको कमाण्डमा ट्राफिकसहित १५ जनाको प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ । प्रहरी टोलीले स्थानीय प्रशासन र उपलब्ध साधनहरूको सहयोगमा दुर्घटनाग्रस्त सवारीसाधनहरू हटाई अवरुद्ध राजमार्ग यथाशीघ्र सुचारु गराउन पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
