मिस नेपाल २०२५’मा विभिन्न पृष्ठभूमिका २६ सुन्दरी छानिएका छन् । आयोजक हिडन ट्रेजरले सहभागी सुन्दरीलाई स्यास वितरण गर्दै प्रतियोगी नम्बर प्रदान गरेको छ । यो वर्ष पनि मिस नेपालमा डाक्टरी पेसादेखि मानसिक स्वास्थ्यमा सक्रिय सुन्दरीकै सहभागिता बढी देखिन्छ । योगा शिक्षकदेखि स्कुबा ड्राइभर पृष्ठभूमिका २६ महिलाले आगामी भदौ १४ मा गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने ग्रान्ड फिनालेमा ‘मिस नेपाल’ ताजका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पहिलेका वर्षमा झैं यो पटक पनि सुन्दरीलाई नै प्रतियोगी नम्बर छान्न लगाइएको थियो । मञ्चमा राखिएको बक्सबाट योगा शिक्षकसमेत रहेकी आरती थापाले प्रतियोगी नम्बर १६ छानिन् । दोलखाकी २३ वर्षीया आरती कम्प्ट्युटर एप्लिकेसनकी विद्यार्थी हुन् । २५ वर्षीया एन्जिला रजक (१३) काठमाडौंबाट सहभागी भएकी छन् । काठमाडौंकी उनी समाजशास्त्र अध्ययन गर्छिन् । उनी ‘कन्टेन क्रियटर’समेत हुन् । उनी विश्व मञ्चमा नेपाललाई प्रस्तुत गर्न मिस नेपालमा सहभागी भएकी हुन् । अनुप्रिया ठाकुर (६) भने जनकपुरकी हुन् । २२ वर्षीया अनुप्रिया बिजनेसकी विद्यार्थी हुन् ।
अनुराधा शर्मा ढकाल (५) पेसाले फार्मसिस्ट हुन् । २५ वर्षीया उनी नुवाकोटलाई प्रतिनिधित्व गर्दै मिस नेपालमा सहभागी भएकी हुन् । आरशिया थापा (११) पेसाले डाक्टर हुन् । २४ वर्षीया उनी काठमाडौंकी हुन् । ‘आर्म्ड फोर्सेस मेडिकल कलेज’मा अध्ययन गरेकी आरशियाले भारतको अस्पतालमा नेपाललाई प्रतिनिधित्व गर्दै ‘मिलिटरी मेडिकल अफिसर’का रुपमा काम गर्छिन् ।
प्राज्ञिका क्षेत्री (२६) पनि पेसाले डाक्टर हुन् । २६ वर्षीया उनी मेडिकल अफिसरका रुपमा नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छिन् । संस्कृति भट्टराई (२) पनि पेसाले डाक्टर हुन् । उनी रुपन्देहीलाई प्रतिनिधित्व गर्दै मिस नेपालमा सहभागी भएकी हुन् । अहिले उनी इन्टर्नसिप गरिरहेकी छन् । प्रतियोगी नम्बर ९ रोजेकी लुना लुइँटेल पेसाले नर्स हुन् । १७ वर्षको उमेरमा अस्ट्रेलिया गएकी उनी ‘क्लिनिकल नर्स स्पेसलिस्ट’ हुन् । स्कुबा ड्राइभर समेत रहेकी उनी २६ वर्षकी भइन् ।
सुदिना हुमागाईं (३) पनौतीकी हुन् । २२ वर्षकी उनले हालै ‘काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स’बाट ‘ ‘ब्याचुलर इन डेन्टल सर्जरी’को अन्तिम परीक्षा दिइन् । योगा शिक्षकसमेत रहेकी उनी रेडियो प्रस्तोता पनि हुन् । २६ वर्षीया उरुसा भण्डारी (१२) पनि डेन्टल पृष्ठभूमिकी हुन् । काठमाडौंबाट मिस नेपालमा सहभागी उनी मोडलका रुपमा पनि आफूलाई चिनाउँछिन् ।
२४ वर्षीया दीपशिखा नेपाल (७) झापाकी हुन् । वातावरण विज्ञानमा स्नातक गरेकी उनी जलवायु परिवर्तनमाथि अनुसन्धान गर्छिन् । यो बाहेक उनी कार्यक्रम उद्घोषण गर्न रुचाउँछिन् । नेपालगन्जकी जगदिश्वरी शाह आफूलाई अभियन्ताका रुपमा चिनाउँछिन् । २५ वर्षीया उनी सामाजिक क्षेत्रमा करिब १० वर्षदेखि काम गर्दै आएकी छन् । नेपालस्थित अमेरिकी दूतावासको ‘युथ काउन्सिल’की सदस्यसमेत रहेकी उनी सामाजिक परिवर्तनका लागि कार्यरत रहेको बताउँछिन् ।
यो वर्ष थिएटर कलाकार जसोदा कार्कीले पनि मिस नेपालमा सहभागिता जनाउँदैछिन् । दोलखाकी जसोदा राजनीतिशास्त्रकी विद्यार्थी हुन् । अर्की सुन्दरी क्रिस्टिना बस्नेतले कार्यक्रममा प्रतियोगी नम्बर १५ छानिन् । मनोविज्ञान अध्ययनरत उनी ‘थिएटर पर्फर’समेत हुन् । उनी आफूलाई ‘स्टोरी टेलर’का रुपमा चिनाउँछिन् । २१ वर्षे निलिमा पाण्डे (२४) कथ्थक नृत्यांगाना हुन् । काठमाडौंकी उनी ‘क्रियटिभ आर्टिस्ट’समेत हुन् ।
त्यस्तै, ओजल राजमाझी (२३) काठमाडौंबाट प्रतिनिधित्व गर्दैछिन् । प्रियांका थापा (२६) ललितपुरकी हुन् । २५ वर्षीया उनी पेसाले लेखापाल हुन् । साइच्छा थापा (१८) पेसाले व्यवसायी हुन् । विराटनगरलाई प्रतिनिधित्व गर्दै उनी मिस नेपालमा सहभागी हुँदैछिन् । २६ वर्षकी उनी महिला सशक्तिकरणको मुद्दामा इच्छुक छिन् ।समृद्धि केसी पनि सामाजिक सेवामा आफूलाई समर्पित गरेकी छन् । २५ वर्षीया उनी ललितपुरबाट मिस नेपालमा सहभागी भएकी हुन् । उनी अहिले मानसिक स्वास्थ्यको क्षेत्रमा पनि सक्रिय छिन् ।
सान्वी मण्डल जनकपुरबाट सहभागिता जनाएकी प्रतियोगी हुन् । कार्यक्रममा उनले प्रतियोगी नम्बर १ लाई छानिन् । व्यवस्थापनमा स्नातक गरेकी उनी २२ वर्षकी भइन् । श्रीयानी श्रेष्ठले पनि सिड्नीबाट स्नातक गरेकी हुन् । काठमाडौंलाई प्रतिनिधित्व गर्दै मिस नेपालमा सहभागी श्रीयानी २२ वर्षकी भइन् । उनले कार्यक्रममा प्रतियोगी नम्बर २१ छानिन् । प्रतियोगी सृष्टी तामाङ (१४) साउन्ड इन्जिनियरसमेत हुन् । ‘सोसल वर्क’ र ‘मनोविज्ञान’ अध्ययनरत उनी मिस नेपालमा काठमाडौंलाई प्रतिनिधित्त्व गर्छिन् ।
२३ वर्षीया स्रुती महर्जन (४) ललितपुरबाट सहभागिता जनाएकी हुन् । ‘मिडिजा स्टडिज’मा स्नातक गरेकी उनी डिजिटल मिडियाको क्षेत्रमा काम गर्छिन् । त्यस्तै, २३ वर्षकी रामेछापकी स्मृति श्रेष्ठले कार्यक्रममा प्रतियोगी नम्बर २२ रोजिन् । ‘बडी बिल्डर’ विजेतासमेत रहेकी सोनी घले (२०)ले पनि मिस नेपालमा सहभागिता जनाउँदैछिन् ।
२५ वर्षीया सोनी मिस नेपालको मञ्चमार्फत परम्परागत सोच भत्काउँदै महिलालाई प्रेरणा दिन चाहन्छिन् । अस्ट्रेलियाबाट ‘इन्फरमेसन टेक्नोलजी’मा उनले स्नातक गरेकी हुन् । जनपुरबाटै २२ वर्षीया स्वाति पञ्जियार (१९)ले मिस नेपालमा सहभागिता जनाउँदै छिन् । ‘साइकोलोजी अनर्स’मा स्नातक गरेकी उनी मानसिक स्वाथ्यको क्षेत्रमा सक्रिय छिन् ।
