अमेरिकाको न्युयोर्क सहरको ब्रुकलिन पुलमा मेक्सिकन जलसेनाको पानीजहाज ठोक्किँदा २ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका छन् । ज्यान गुमाउनेहरू चालक दलका सदस्य हुन् ।प्रहरीका अनुसार क्याप्टेनले जहाजलाई मोड्ने क्रममा विद्युत् अवरोधका कारण नियन्त्रण गुमाएर ब्रुकलिनपट्टि पुलको पिलरमा ठोक्किएको हो । ‘क्वाउहतेमोक’ नामक जहाजमा २ सय ७७ जना सवार थिए ।
सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा सार्वजनिक दृष्यहरूमा जहाजका तीनवटै मस्तुलहरू तोडिएको देखिन्छ । अधिकारीहरूले जनाए अनुसार दुर्घटनासँगै मस्तुलहरूमा उभिरहेका चालक दलका सदस्यहरू तल डेकमा खसेका थिए । त्यस्तै, पुलमा रहेका मानिसहरूमा त्रास उत्पन्न भएको थियो ।
घटनाको साक्षी ब्रुकलिनका स्थानीय निक कोर्सोले दुर्घटना भएसँगै ‘त्यहाँ धेरै चिच्याहट थियो, केही नाविकहरू मस्तुलहरूमा झुण्डिएका थिए,’ उनले समाचार संस्था एपएफपीसँग भनेका छन् । न्युयोर्क सिटीका मेयर एरिक एडम्सले दुई जनाको मृत्यु भएको र घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाएका छन् ।
ब्रुकलिन पुलमा ठूलो क्षति नभएको प्रारम्भिक निरीक्षणपछि त्यसलाई पुनः सञ्चालन गरिएको एडम्सको भनाइ छ । पुलिसका अनुसार ‘मेकानिकल समस्या’ र विद्युत् आपूर्ति बन्द भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।
अर्का प्रत्यक्षदर्शी केल्विन फ्लोरेसले दुर्घटनाका समयमा आफुले काम गरिरहेको बताए । दुर्घटनालगत्तै आफू सडकमा निस्किएको र त्यहाँ दमकल र पुलिसहरूले घटनास्थलमा पुग्ने प्रयास गरिरहेको देखेको बताए । तर ट्राफिकका कारण केहीबेर उक्त क्षेत्रको अवस्था अस्तव्यस्त भएको उनको भनाइ छ । ‘त्यो क्षति देख्दा नै अचम्म लाग्यो,’ उनले भने, ‘मान्छेहरू स्ट्रेचरमा बोकेर घाइतेलाई निकाल्ने प्रयास गर्दै थिए ।’
मेक्सिकन जलसेनाका अनुसार ९१ मिटर लामो र १२ मिटर चौडाइको जहाज पहिलो पटक सन् १९८२ मा समुद्र चलाइएको थियो । उक्त जहाज हरेक वर्ष नेभल मिलिटरी स्कूलमा पढाइ सकिएपछि क्याडेटहरूको तालिम पुरा गर्न समुद्रमा जाने गरेको थियो ।
यस वर्ष यो जहाज ६ अप्रिलमा मेक्सिकोको अकापुल्को बन्दरगाहबाट प्रस्थान गरेको थियो । यसको अन्तिम गन्तव्य आइसल्याण्ड तय गरिएको थियो । पुलिसले भने अनुसार उक्त जहाजको मस्तुलको उचाइ ४८.२ मिटर (१ सय ५८ फिट) थियो । न्यूयोर्क यातायात विभागको वेबसाइट अनुसार ब्रुकलिन ब्रिजको मध्य भागको क्लियरेन्स १ सय ३५ फिट मात्र छ ।
