जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले पाँच दिन अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा टिप्पर सन्चालनमा रोक लगाउने भएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले धुलिखेल खावा सडक खण्डको बाँकी काम गर्न एक लेन सडक बन्द गर्नुपर्ने भएकाले असार १४ देखि असार १८ गतेसम्म टिप्पर सन्चालनमा रोक लगाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको बैठकले पाँच दिन टिप्पर सन्चालनमा रोक लगाउनुको साथै अन्य सवारी साधनलाई साँझ ७ बजेदेखि विहान ५ बजेसम्म प्रवेशमा रोक लगाउने निर्णय गरेको बताइएकाे छ । उक्त अवधिमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीसाधनलाई पूर्ववत रुपमा सञ्चालन गर्न दिइने छ ।
बैठकले राजमार्ग बन्दको समयमा सवारी साधनलाई डाइभर्ट गर्न सहयोगका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रशासन कार्यालय दोलखा र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकसँग सडक डिभिजन भक्तपुरले समन्वय गर्ने निर्णय गरेको छ ।
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावासम्मको करिब साढे ४ किलोमिटर सडक बिस्तार तथा स्तरोन्नतिको काम जारी छ । हालसम्म उक्त खण्डको साढे दुई किलोमिटर सडक कालोपत्रे भएको छ।
