सिद्धार्थ राजमार्ग र पृथ्वीराजमार्गको मिलनविन्दु पृथ्वीचोकमा रहेको अतिक्रमित बसपार्कको जग्गा खाली गर्ने अभियान जारी छ । पोखरा–९, पृथ्वीचोकमा रहेको पोखरा बसपार्कका दुई सय घर, टहरा बिहीबार भत्काइएकोमा शनिबार थप तीन सय २० सटरहरु हटाइएका छन् ।
बसपार्कका लागि अधिग्रहण गरी पछि सट्टाभर्नाका रुपमा दिइएको जग्गामा बनेको बास्तोला कम्प्लेक्स शनिबार हटाइएको हो । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बास्तोल कम्प्लेक्स र उत्तरतर्फका जग्गाधनी पुर्जा भएका जग्गा खाली भएको बताए ।
महानगरले बसपार्क बस्दै आएका साढे पाँच सय सुकुमबासी परिवारको छानबिन गरिरहेको छ । नगर प्रमुख धनराज आचार्यले बसपार्क निर्माण गर्ने अभियानमा सबैको साथ मिलेको उल्लेख गर्दै बसपार्कका लागि अधिग्रहण गरिएको सबै क्षेत्रमा बसपार्क बनाइने बताए ।
“बसपार्कका लागि अधिग्रहण भएको सबै जग्गामा बसपार्क बनाउने योजना छ,” उनले भने , “सुकुम्वासीहरूको व्यवस्थापन, गुरुयोजनाअनुसार बसपार्क निर्माणमा हामी लागेका छौँ ।”
महानगरले आगामी वर्षको बजेटमा अतिक्रमित जग्गा संरक्षण र व्यवस्थापनमा १० करोड बजेट विनियोजन गरेको छ । सुकुमवासीहरूको व्यवस्थापनसँगै बसपार्क निर्माण सुरु गरिने भएको छ । महानगरले बनाएको छानबिन समितिले सुकुमवासी बस्तीका पाँच सय ७२ परिवारमध्ये तीन सय ३७ परिवारको छानबिन गरिसकेको छ ।

यसअघि जग्गाधनीपुर्जा भएका र सुकुम्बासीहरुले समेत आफैं खाली गरेका टहराहरु भत्काएर बसपार्क सम्याउन थालिएको थियो । बसपार्क क्षेत्रमा एक सरकारी स्कुलसहित टोल विकास संस्थाका भवनहरु पनि छन् । पोखराको पृथ्वीचोकमा बसपार्क निर्माणका लागि पाँच दशकअघि दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएकोमा अहिले करिब २६ रोपनीमात्र सीमित बनेको थियो ।
