अमेरिकाको स्यान डिएगोस्थित क्लेरमन्टमा रहेको इस्लामिक सेन्टरमा भएको एक घातक गोलीकाण्डमा दुई सन्दिग्ध आक्रमणकारीसहित पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार, यो घटनालाई घृणा अपराधको रूपमा अनुसन्धान अगाडि बढाइएको छ ।
स्यान डिएगोका प्रहरी प्रमुख स्कट वाहलले दिएको जानकारी अनुसार, स्थानीय समय अनुसार बिहान ११ः४३ बजे प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो । प्रहरी टोली घटनास्थलमा पुग्दा मस्जिद बाहिर तीन जनाको शव देखिएको थियो ।
घटनामा संलग्न १७ र १९ वर्षका दुई संदिग्धलाई नजिकैको एउटा गाडीमा मृत अवस्थामा फेला पारिएको थियो । उनीहरूले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । मारिने अन्य तीन जनामध्ये एक जना सोही केन्द्रमा कार्यरत सुरक्षा गार्ड रहेको पनि प्रहरी प्रमुख वाहलले पुष्टि गरेका छन् ।
एक प्रत्यक्षदर्शीले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएअनुसार, उनले ‘सेमी–अटोमेटिक हतियार’ बाट चलेको जस्तो करिब ३० पटक गोलीको आवाज सुनेका थिए । घटना लगत्तै प्रहरीले आसपासको क्षेत्रलाई नियन्त्रणमा लिई नजिकैका विद्यालयहरू बन्द गराएको थियो ।
