विश्व बैंकले सन् २०२६ को पहिलो त्रैमासमा रासायनिक मलको मूल्य १२ प्रतिशले वृद्धि भएको जनाएको छ । विश्व बैंक समूहको रासायनिक मल मूल्य सूचकांकले पछिल्ला सातौं त्रैमासमध्ये छैटौं पटक वृद्धि भएको देखाएको हो । यो चार वर्षयताकै उच्च हो ।
इरान–इजरायलको युध्दका कारण हर्मुज जलघाँटी बन्द हुँदा आपूर्तिमा आएको अवरोध नै मुख्य कारण रहेको विश्व बैंकको हालै सार्वजनिक ‘अप्रिल २०२६ कमोडिटी मार्केट्स आउटलुक’ प्रतिवेदनमा उल्लेख छ । अन्य मलको मूल्यवृद्धि तुलनात्मक रूपमा मध्यम रहे पनि सबैभन्दा बढी युरियाको मूल्यवृद्धि भएको छ ।
अहिलेको मूल्यवृद्धि सन् २०२१ र २०२२ मा देखिएको तीव्र उछालको तुलनामा उक्त वृद्धि निकै कम रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२१–२०२२ को जस्तो मूल्यको दबाब नभए पनि किसानहरूका लागि मलको क्रयशक्ति भने तीव्र रूपमा कमजोर भएकाले खाद्य उत्पादन, कृषि उत्थानशीलता र खाद्य सुरक्षाको जोखिम बढाएको विश्व बैंकको निष्कर्ष छ ।
अमेरिका र युरोप लगायतका उत्तरी गोलार्धका मुलुकका किसानहरूले आफ्नो धेरैजसो मल आपूर्ति पहिले नै सुरक्षित गरिसकेका, प्राकृतिक ग्यासको मूल्य (नाइट्रोजन–आधारित मल उत्पादनको मुख्य लागत) रुसले युक्रेनमाथि आक्रमण गरेपछिको अवस्थाजस्तो तीव्र रूपमा नबढेको र पश्चिम एसियाबाट हुने व्यापारिक ढुवानीहरू क्रमशः स्थलमार्गमार्फत मोडिएकाले पनि अपेक्षाकृतभन्दा कम प्रभाव देखिएको प्रतिवेदनमा उल्लेख छ ।
युरियाको मूल्य गत फेब्रुअरीदेखि ८० प्रतिशतले बढेर प्रतिटन ८५० डलरभन्दा माथि पुगेको छ । यो मूल्यवृद्धि अप्रिल २०२२ पछिकै उच्च स्तर हो । सल्फरको लागत दोब्बर भएको र निर्यात प्रतिबन्धले आपूर्ति कडा पारेका कारण डीएपीको मूल्य बढेको छ । पोटासको मूल्य बढे पनि बजार तुलनात्मक रूपमा राम्रो आपूर्ति अवस्थामा रहेको जनाएको छ ।
पश्चिम एसियामा उत्पादित नाइट्रोजनमा आधारित मलका लागि हर्मुज महत्त्वपूर्ण ढुवानी मार्ग हो । हर्मुज जलमार्ग ठप्प भएसँगै पश्चिम एसियाबाट हुने मलको निर्यात लगभग ठप्प भएको छ । जसको प्रत्यक्ष असर विश्वव्यापी आपूर्ति र मूल्यमा देखिएको हो ।
विश्वव्यापी बजारमा देखिएको निरन्तरको उतारचढावबीच कृषकहरूलाई जोगाउन र विश्वव्यापी खाद्य प्रणालीको रक्षा गर्न तत्काल कदम चाल्नुपर्ने देखिएको छ । यसका लागि आपूर्ति शृंखलालाई सुदृढ बनाउनु, व्यापार मार्गहरूलाई सहयोग पुर्याउनु र कृषि उत्पादकत्वमा लगानी बढाउनु अत्यन्त महत्त्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ ।
इन्टरनेसनल फर्टिलाइजर एसोसिएसनको तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी प्रयोग हुने युरियाको कुल विश्वव्यापी निर्यातमा पश्चिम एसियाको हिस्सा करिब २५ प्रतिशत छ । युरिया उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ ‘अमोनिया’ को विश्वव्यापी निर्यातमा पनि पश्चिम एसियाको १५ प्रतिशतभन्दा बढी हिस्सा छ । मुख्य आपूर्तिकर्ता क्षेत्रकै निर्यात रोकिँदा विश्वभर कृषि लागत महँगो हुने जोखिम बढेको समेत बताइएको छ ।
द्वन्द्वका बीच इरानले अमोनिया उत्पादन पूर्ण रूपमा बन्द गरेको छ भने कतारका मुख्य औद्योगिक संरचनाहरूमा क्षति पुगेपछि त्यहाँबाट हुने युरिया, अमोनिया र सल्फरको उत्पादन स्थगित गरिएको छ । तरल प्राकृतिक ग्यासको आपूर्तिमा आएको गिरावटका कारण भारतले पनि युरिया र अमोनियाको उत्पादन कटौती गरेको छ । विश्वकै प्रमुख उत्पादक चीनबाट निर्यातमा कडाइ र संकुचित आपूर्तिका कारण बजारमा थप चिन्ता चुलिएको छ ।
चौतर्फी संकटका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य अत्यधिक बढेको छ । त्यस कारण किसानहरूका लागि मलको क्रयशक्ति सन् २०२२ को मध्ययताकै सबैभन्दा कमजोर स्तरमा पुगेको छ । अर्थात् रासायनिक मल महँगो भएको छ । सन् २०२६ को सुरुवातमा स्थिर रहेको डीएपी मलको मूल्य अप्रिल महिनामा आएर १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बजारमा मलको संकुचित आपूर्ति र उत्पादन लागतमा भएको भारी वृद्धिका कारण यसको मूल्य बढेको हो ।
मल उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ सल्फरको मूल्यमा गत जनवरी महिनायता दोब्बर वृद्धि भएको छ । यसरी कच्चा पदार्थको लागत ह्वात्तै बढेपछि त्यसको प्रत्यक्ष असर डीएपी मलको उपभोक्ता मूल्यमा पर्न गएको प्रतिवेदनहरूले देखाएका छन् । रासायनिक मलको मूल्यवृद्धिले आगामी सिजनमा विश्वभरकै कृषकहरूका लागि कृषि उत्पादन लागत थप खर्चिलो बनाउने देखिएको छ ।
साभारः कान्तीपुर
