संवैधानिक परिषद्ले सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशको रुपमा मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा बिहीबार बसेको परिषद्को बैठकले शर्माको नाम सिफारिस गरेको हो ।
शर्माको जन्म २०२७ असार ४ गते (सन् १९७० जुन १८) मा पर्सा जिल्लाको वीरगन्जमा भएको हो। उनले काठमाडौंस्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुणे विश्वविद्यालयबाट एलएलएम उपाधि प्राप्त गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि प्राप्त गरेका छन् ।
उनले २०५२ सालमा अधिवक्ताका रूपमा दर्ता भई कानुनका विभिन्न क्षेत्रमा वकालतमा सक्रिय भएका थिए । उनले विभिन्न कम्पनी तथा संस्थाहरूलाई कानुनी परामर्श पनि प्रदान गरेका छन् । २०१३ जुन १० देखि २०१५ डिसेम्बर १२ सम्म बुटवल र पाटनस्थित पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा कार्य गरेको अनुभव उनीसँग छ।
उनी ६ वैशाख २०७६ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्त भएका थिए । त्यसको पाँच वर्षपछि उनी सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् ।
