फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फिलिपिन्समा शुक्रबार बिहान आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको खतरा अब समाप्त भएको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ । प्रारम्भिक रूपमा इन्डोनेसिया र फिलिपिन्सका केही तटीय क्षेत्रमा साना छालहरू देखिएका थिए, जसमा इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वारको स्तर करिब १७ सेन्टिमिटर (६.७ इन्च) माथि पुगेको बताइएको छ । होनोलुलुस्थित केन्द्रका अनुसार भूकम्पपछिका करिब दुई घण्टासम्म समुद्रमा हल्का उतारचढाव भइरहने सम्भावना भने कायम छ ।

भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन जारी छ । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले प्रभावित क्षेत्रमा उद्धार र राहत टोलीको तयारी भइरहेको र अवस्था सुरक्षित भएपछि ती टोलीहरू तैनाथ गरिने जानकारी दिए  । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्प दाभाओ ओरिएन्टल प्रान्तको माने शहरबाट करिब ६२ किलोमिटर दक्षिणपूर्वमा समुद्रभित्र १० किलोमिटरको गहिराइमा आएको थियो ।

दाभाओ ओरिएन्टलका सरकारी विपद् न्यूनीकरण अधिकारी जुन सावेद्राले एसोसिएटेड प्रेससँग कुरा गर्दै भने , “म कार चलाउँदै थिएँ, अचानक जमिन हल्लियो र पावरलाइनहरू अनियन्त्रित रूपमा हल्लिँदै गरेको देखेँ । बिजुली बन्द भएपछि मानिसहरू घर र भवनबाट बाहिर भागे ।” उनका अनुसार यस पटकको भूकम्प विगतकाे भन्दा धेरै शक्तिशाली थियो, जसले विद्यालयसहित धेरै भवनमा चिरा पारेको छ ।

सावेद्राका अनुसार भूकम्पका कारण चक्कर र बेहोस भएका कम्तीमा ५० विद्यार्थीलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ । मानेबाट करिब एक सय किलोमिटर दक्षिणमा रहेको जेनेरोसो शहरमा समेत सबै तहका कक्षा स्थगित गरिएका छन् । डाभाओ शहर (जनसङ्ख्या करिब ५४ लाख) मा समेत विद्यालयहरू खाली गरिएका थिए । यो शहर भूकम्पको केन्द्र नजिकको सबैभन्दा ठुलो नगरी हो, जुन दाभाओ ओरिएन्टल प्रान्तको पश्चिमतर्फ करिब दुई सय ५० किलोमिटर दूरीमा पर्छ ।

होनोलुलुको प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पको केन्द्रबाट तीन सय किलोमिटर वरिपरिका तटीय क्षेत्रमा खतरनाक छाल आउन सक्ने चेतावनी दिएकोथियो,  फिलिपिन्सका केही तटमा सामान्य ज्वारभन्दा तीन मिटर (१० फिट) उचाइसम्म छाल आउन सक्ने र इन्डोनेसिया तथा पलाउमा पनि साना तर उल्लेखनीय छालहरू देखिन सक्ने जनाइएको थियो ।

नागरिक रक्षा उपप्रशासक बर्नार्डो राफेलिटो अलेजान्ड्रो चतुर्थका अनुसार बिहान ९ः४३ बजे भूकम्प आएपछि डाभाओ ओरिएन्टलबाट नजिकका छ वटा तटीय प्रान्तमा सुनामीको खतरा रहेको भन्दै तत्काल उच्च भूभागतर्फ सर्न र सतर्क रहन आग्रह गरिएको थियो ।

उनले भिडियो सन्देशमार्फत भने , “हामी यी तटीय समुदायहरूलाई अर्को सूचना नआएसम्म उच्च मैदानमा रहन अनुरोध गर्दछौँ ।” साथै, उहाँले बन्दरगाह तथा तटीय क्षेत्रमा रहेका डुङ्गा मालिकहरूलाई आफ्ना डुङ्गा सुरक्षित राख्न र समुद्र किनाराबाट टाढा रहन आग्रह गरे ।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी एजेन्सीले उत्तरी सुलावेसी प्रान्तमा ३.५ देखि १७ सेन्टिमिटर (१.३ देखि ६.७ इन्च) उचाइका साना सुनामी छालहरू देखिएको पुष्टि गरेको छ र स्थानीय बासिन्दालाई समुद्र तथा नदी किनाराबाट टाढा रहन चेतावनी दिएको छ ।

यसअघि सेप्टेम्बर ३० मा फिलिपिन्समा ६.९ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो, जसमा ७४ जनाको मृत्यु भएको र मध्य प्रान्त सेबु, विशेषगरी बोगो सहर र वरपरका क्षेत्रमा हजारौं मानिस विस्थापित भएका थिए । प्रशान्त महासागरको ‘रिङ अफ फायर’ अर्थात् भूकम्पीय र ज्वालामुखी चापमा अवस्थित फिलिपिन्स विश्वका सबैभन्दा विपद्–संवेदनशील देशमध्ये एक हो । यहाँ प्रत्येक वर्ष करिब २० वटा आँधीबेहरी र प्राकृतिक प्रकोपहरू आउने हुँदा सरकार र स्वयंमसेवी समूहहरू निरन्तर उद्धार तथा राहत कार्यमा तत्पर रहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *