असार २५ देखि मिटरब्याज पीडितहरूको जनकपुर-काठमाडौं पैदल ‘न्याय मार्च’

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालले जनकपुरदेखि काठमाडौंसम्म पैदल ‘न्याय मार्च’ गर्ने घोषणा गरेको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकपछि प्रेस विज्ञप्तिमार्फत आन्दोलन समितिले असार २५ गतेदेखि मार्च सुरु गर्ने घोषणा गरेको हो ।

आन्दोलन समितिका अनुसार मार्च जनकपुरको तिरहुतिया गाछीबाट सुरु हुनेछ । आन्दोलनमा मिटरब्याज पीडितहरू सहभागी हुने र काठमाडौं पुगेर सरकारमाथि दबाब सिर्जना गर्ने तयारी छ । विज्ञप्तिअनुसार सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको निष्कर्षसहित आन्दोलनको नयाँ चरण घोषणा गरिएको हो । आन्दोलनले सरकारलाई १०० दिनसम्म पर्खिने निर्णय गरेको र त्यस अवधिभित्र पीडितका पक्षमा ठोस कदम नचालिए देशव्यापी संघर्ष थप सशक्त बनाइने चेतावनी दिएको छ ।

आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको अध्यक्षतामा चितवनमा बसेको बैठकले न्याय मार्चलाई शान्तिपूर्ण रूपमा अघि बढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकमा संयुक्त जनअधिकार मोर्चाका प्रतिनिधि, भगिनी संगठनका सदस्य तथा सचिवालयका पदाधिकारीहरूको सहभागिता रहेको जनाइएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरबाट संघीय राजधानी काठमाडौंसम्म पैदल यात्रा गर्दै न्यायिक संघर्षलाई राष्ट्रिय बहसको विषय बनाउने आन्दोलन समितिको तयारी छ । आन्दोलनले यसअघि पनि मिटरब्याज पीडितको न्यायका लागि विभिन्न चरणका प्रदर्शन, अदालत घेराउ र जनजागरण अभियान सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *