बाढीले क्षति गरेको बीपी राजमार्गमा असार दोस्रो साताबाट सवारी साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही–केही ठाउँमा बर्खाकालागि ठूला ढुंगा राखेर सडक तयार गरी सवारी साधन सञ्चालन गर्न लागिएको हो ।
अहिले रोशी खोलामा डाभइर्सन बनाएर सवारी साधन चलाइएको छ । बेला–बेलामा आउने बाढीले गर्दा सवारी आवागमनमा समस्या हुने गरेको छ । बाढीले डाइभर्सन बगाउने र फेरी अस्थायी रुपमा बनाएर सवारी साधन चलाउने गरिएको छ ।
बर्खालाई मध्यनजर गर्दै बनाइरहेको बनीरहेको नयाँ ट्रयायकबाट असार दोस्रो सातादेखि सवारी साधन चलाउनेगरी तयारी गरीरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘अहिले पनि चार ठाउँमा माथिबाट सवारी साधन कुदाउन सक्ने अवस्थामा छौं, मनसुनको समस्या भइनसकेकाले काम रोक्नेगरी ट्रयाक सडक खुला नगरिएको हो,’ उनले भने, ‘बाढी आयो, तल खोलाको डाइभर्सनबाट गाडी चल्न नसक्ने अवस्था भएमा माथिबाटै चलाउन सुरु गरिहाल्छौं ।’
चारसयबेंसी, बोक्सीकुना, कालढुंगा र डालाबेंसीको एउटा खण्ड तयार भएको उनको भनाई छ । ‘अन्यत्र पनि बाढी आयो भने गाडी रोकिने अवस्था छैन,’ उनले भने, ‘जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले बनाउने खण्डमा माटो भरेर बोल्डर (ठूला ढुंगा) राख्ने काम हुँदैछ, बर्खामा यस खण्डमा खोलाबाट सवारी साधन चलाउनु पर्दैन ।’
खोला भन्दा माथी बनेको सडकबाट गाडी चलाउँदा त्यताको काम रोकिने भएकाले बर्खा सुरु नहुदाँ सम्मकालागि खोलाबाटै चलाइएको उनले प्रस्ट पारे । ‘आरसीसी वालको फाउण्डेसन पुरा गरेर त्यसमाथीको काम हुँदैछ,बर्खा अघि बनीरहेको सडकमा ग्राभेल राखेर सवारी साधन चलाउने मात्र हो,’ उनले भने, ‘अहिलेसम्म १५ असारदेखिनै नयाँ ट्रयाकबाट सवारी साधन चलाउने तयारी छ ।’
अहिले उक्त सडक कालोपत्र हुने छैन । ‘ग्राभेल तहको सडक बनाएर सवारी साधन चलाउने व्यवस्था गर्छौं, अर्को आर्थिक वर्षमा कालोपत्रको काम थाल्छौं,’ उनले भने, ‘बर्खाअघि ७ मिटर उचाईसम्म सडक बनाएर ग्राभेल राखी सवारी साधन चलाउँछौं ।’ बर्खापछि खोलाबाट १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्र गरिने उनले बताए ।
राजमार्गअन्तर्गत भकुन्डेबोसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किमि क्षेत्रमा क्षति गरेको हो ।
काभ्रेतर्फ ३ र सिन्धुलीतर्फ १ गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरी काम अघि बढाइएको हो । दुई लेनमा निर्माण भइरहेको राजमार्गको भकुन्डेबेंसीदेखि चारसयबेँसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले लिएको छ । चारसयबेँसीदेखि डालाबेसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीले ठेक्का लिएर काम गरिरहेको छ । दुवै ठेक्काको सम्झौता असार ०८२ मा भएको हो ।
पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग कात्तिक ०८२ मा सम्झौता भएको हो । बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । सबै खण्डको काम सम्झौताअनुसार २ वर्षभित्र सक्नुपर्ने छ।
मनसुन सक्रिय हुनुअघि नै सिन्धुली खण्डमा नयाँ ट्रयाकमा सवारी साधन चलाउने गरी नै काम गरिरहेको सडक डिभिजन कार्यालय खाल्टे, सिन्धुलीका प्रमुख पारसमणि हमालले बताए । ‘५ किमि मध्ये ३ वटा खण्डमा बाढीले पूरै सडक बगएको थियो, दुईवटा खण्ड नेपालथोक पुल नजिक र कालढुंगामा नयाँ ट्रयाकबाट सवारी साधन चलाउन मिल्नेगरी काम भएको छ,’ उनले भने ।
आँपघारीमूनिको १ सय २० मिटर खण्डमा अझै काम सकिसकेको छैन । त्यहाँ बोल्डर राखेर भए पनि बर्खामा सवारी साधन चलाउने व्यवस्था गरिने उनको दाबी छ । बर्खाकालागि जनशक्ति र मेसिन तयारी अवस्थामै हुने भएकाले केही समस्या आए तत्काल काम गर्न सहज हुने उनको भनाई छ ।
बीपी राजमार्गअन्तर्गत पिप्ले–बर्खेखोला खण्डको ३.२ किमि सडक दुई लेनको बनाउने गरी ११ जेठमा शिलान्यास गरिएको हो । राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किमि क्षेत्रमा क्षति गरेको थियो । जसमा जाइकाले क्षतिग्रस्त खण्डमध्ये ३.२ किमि मात्रै बनाउने छ । यसबाहेक २७.३ किलोमिटर ठेक्का भई एक वर्षअघि नै काम सुरु भइसकेको छ ।
जापानको २ अर्ब ६० करोड रुपैयाँ अनुदानमा ३.२ किमि सडक निर्माण गर्न लागिएको हो । मंसिर २०८४ सम्म यसको निर्माण सकिसक्नुपर्ने छ । निर्माणको ठेक्का जापानी कम्पनी शिमिजु कर्पोरेसनले लिएको हो । नयाँ ट्रयाकबाटै सवारीसाधन चलाउन मिल्ने गरी काम भइरहेको र बर्खामा समस्या आउन नदिने गरी तयारी गर्न सम्बन्धित कार्यालयहरुलाई भनिएको प्रतिनिधि सभाको पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले बताए । ‘बर्खा सुरु हुन लागेकाले म बीपी राजमार्गमा नियमित जस्तो अनुगनमा पुगिरहेको छु, मेरो निर्वाचन क्षेत्र जाने सडक पनि यही हो,’ उनले भने, ‘कुनैपनि समयमा बनेको नयाँ ट्रयाक सडकमा सवारी साधन चलाउन मिल्नेगरी नै तयारी गरिएको छ ।’
बर्खामा सवारी साधन रोकिने वातावरण बनाउन नहुने उनको भनाई छ । ‘समग्र सडकको ट्रयाक निर्माणको काममा ढिलाई त भइरहेको छ,कामको गती बढाउन भनिरहेका छौं,’ उनले भने, ‘मान्छे थपेर कामको रफ्तार बढाउनु पर्छ ।’
