इजरायल र हमासबीच गाजापट्टीमा भएको युद्धविराम इजरायली सरकारले हिजाे बिहीबार साँझ सम्झौताको पुष्टि गरेपछि लागु भएकाे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
सरकारले युद्धविराम अनुमोदन गरेपछि २४ घण्टाको अवधि सुरु हुनेछ, जसको दौरान उक्त निर्णयलाई न्यायको उच्च अदालतमा अपिल गर्न सकिने बताइएको छ । त्यो अवधि समाप्त भएपछि, हमाससँग सम्झौताको आफ्नो भाग पूरा गर्न र सबै बन्धकहरूलाई (जीवित र मृत दुवै) रिहा गर्नका लागि ७२ घण्टाको समय हुनेछ ।
फलस्वरूप, हमासले बन्धकहरूलाई आइतबारको सट्टा सोमबारसम्म रिहा गरिसक्ने सम्भावना रहेको जेरुसेलम पोस्टले जनाएको छ । सुरुमा, युद्धविराम दिउँसो १२ः०० बजे सुरु हुने तय गरिएको थियो । यो सम्झौता कुनै हस्ताक्षर गरिएको कागजातबिना नै दुवै पक्षबीचको अनौपचारिक सहमति मा आधारित छ ।
मृत्यु भएका बन्धकहरूको शव पत्ता लगाउनका लागि संयुक्त इजरायली–अमेरिकी–कतारी–इजिप्टियन कार्यदल स्थापना गरिने उल्लेख छ ।विवरणसँग परिचित एक स्रोतले द जेरुसेलम पोस्टलाई बताएअनुसार, कार्यदलले मृत व्यक्तिको शवसम्म पुग्नका लागि खन्न वा भवन भत्काउन जस्ता कार्यहरूका लागि ठूला उपकरणहरू उपलब्ध गराउनेछ ।
कार्यदलको लक्ष्य जीवित बन्धकहरूका साथै अपहरण गरिएका व्यक्तिहरूको सकेसम्म धेरै शवहरूलाई ७२ घण्टाभित्र इजरायल फिर्ता गर्नु हो ।
गाजा सम्झौतालाई अनुमोदन गर्न अहिले इजरायलको संसद्मा मतदानको प्रक्रिया सुरु हुन लागेको समाचारमा उल्लेख छ । गाजा युद्ध अन्त्य गर्ने र सबै बन्धकहरूलाई रिहा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्झौतामा मतदानका लागि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू मन्त्रिपरिषद् र सरकारी मतदान हुनुअघि बिहीबार नेसेट (इजरायली संसद्) आइपुगेका छन् ।
यसअघि बिहीबार बिहान अर्थमन्त्री बेजालेल स्मोट्रिचले एक्समा मन्त्रिपरिषद् बैठकमा युद्धविराम सम्झौताको विपक्षमा मतदान गर्ने कुराको पुष्टि गरेका थिए ।
