इजरायल सरकारले प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन उनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल झिकाउने र संयुक्त राष्ट्रसंघसम्म पुर्याउने तयारी गरेको छ । उनीहरूको भिसालगायतका कागजातको काम सकिएको र छिट्टै झिकाइने विदेश मन्त्रालयका अधिकारीले बताएका छन् ।
राष्ट्रसंघका पदाधिकारीसँग भेटवार्ता गराउन अमेरिका पठाउने इजरायल सरकारले योजना बनाएको छ । ‘विपिनको रिहाइका लागि राष्ट्रसंघमार्फत पहल र दबाबका लागि आग्रह गर्ने र अमेरिकी राष्ट्रपतिसँग पनि भेट गराउने योजना छ,’ विदेश मन्त्रालयका मध्य–पूर्वी एसिया विभागका प्रमुख सागी कार्नीले भने ।
हमासको नियन्त्रणमा रहेका ५० मध्ये २० जना मात्र जीवित रहेको अनुमान गरिएको कार्नीले बताए । ‘ती २० जनामध्ये को जीवित छन् र क–कसको मृत्यु भइसकेको छ, हामी प्रस्ट भन्न सक्ने अवस्थामा छैनौं,’ उनले भने । इजरायल स्पेसल फोर्सका क्याप्टेन नादभ बेन याहुदाले विपिनको रिहाइमा सक्दो प्रयास गरिरहेको बताए । ‘विपिनलाई लिएर म नै काठमाडौं आउनेछु, त्यसमा हामी सफल हुने विश्वास छ,’ उनले भने ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिनको पछिल्लो अवस्थाबारे इजरायल सरकार वा अन्य स्रोतले प्रस्ट भन्न नसकिरहेको जानकारी दिए । विपिनबारे हमासका तर्फबाट पनि केही जानकारी सार्वजनिक भएको छैन । ‘नेपालबाट प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले इजरायल र हमाससँग विपिनको विषयमा संवाद गराउन केही मुलुकसँग आग्रह गरिरहनुभएको छ,’ उनले भने ।
हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किबुजमा आक्रमण गर्दा १२ सय मारिएका थिए भने विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाइएको थियो । विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए । हमासको आक्रमणमा परी किबुजमै १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
केही समयअघि इजरायल र हमासबीच केही दिनका लागि भएको युद्धविराममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल खुलाइफीसँग फोनमार्फत अपिल गरेकी थिइन् ।
उनले नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासमार्फत इजरायल सरकारसमक्ष पनि रिहाइका लागि आग्रह गरेकी थिइन् । राजदूत बासले मन्त्री राणासँग हमास समूहले ३४ जनालाई रिहा गर्न लागेको र त्यसमा वृद्धवृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थाका व्यक्ति रहेका समाचार इजरायल सरकारले प्राप्त गरेको जानकारी गराएका थिए ।
त्यस अवधिमा हमासले केही बन्धकलाई रिहाइ गरे पनि विपिन परेनन् । उता विपिन रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परिवारले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च अधिकारीलाई पटक–पटक भेटिसकेको छ । परिवारले इजरायली राष्ट्रपति आइजेक हर्जोकसँग भर्चुअल कुराकानी पनि गरिसकेको छ । नेपालस्थित इजरायली राजदूतसँग पनि पटक–पटक भेट भइसकेको छ ।

