दसैँ, तिहार र छठका बेला यात्रुको चाप बढ्ने भएकाले प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले सार्वजनिक यातायात व्यवस्थापनका लागि पाँचबुँदे निर्देशन दिएको छ। समितिले पर्याप्त सवारीसाधन परिचालनदेखि टिकट र भाडामा हुने अनियमितता नियन्त्रण, सडक सुरक्षा तथा यात्रु सहायता व्यवस्थासम्ममा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
समितिको बैठकले चाडपर्वमा यात्रुले टिकट नपाउने, बढी भाडा तिर्नुपर्ने र क्षमताभन्दा बढी यात्रु बोकेर सवारी सञ्चालन हुने अवस्था अन्त्य गर्न आवश्यक तयारी गर्न भनेको छ। यात्रुको चापअनुसार सार्वजनिक सवारी थप्न र निर्धारित बसपार्कबाट मात्रै सवारी सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ।
टिकट बिक्रीका लागि निश्चित स्थान तोक्न तथा यात्रुलाई सुरक्षित स्थानबाट मात्रै चढाउने र ओराल्ने व्यवस्था गर्न निर्देशन दिइएको छ। साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिकामैत्री सेवा उपलब्ध गराउन र प्रमुख स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न समितिले आग्रह गरेको छ।
सडक सुरक्षातर्फ समितिले चाडपर्वअघि नै जोखिमयुक्त सडकखण्डको पहिचान गरी अवस्था मूल्याङ्कन गर्न भनेको छ। सडक अवरुद्ध हुन सक्ने सम्भावित स्थानमा वैकल्पिक मार्गको तयारी राख्न तथा सवारीसाधनको प्राविधिक परीक्षणपछि मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ।
लामो दूरीका सवारीमा चालकलाई पर्याप्त विश्रामको व्यवस्था गर्न र तीव्र गतिमा सवारी चलाउने कार्य नियन्त्रण गर्न पनि समितिले जोड दिएको छ। क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिमाथि कडाइ गर्न तथा यातायातसँग सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्न समितिले निर्देशन दिएको हो।
चाडपर्वमा टिकटको अभाव सिर्जना गरी बढी रकम असुल्ने वा टिकट बिक्रीमा अनियमितता गर्ने गतिविधि रोक्न समितिले तत्काल कार्ययोजना बनाउन भनेको छ। यात्रुले सहज रूपमा टिकट पाउने वातावरण बनाउन र सरकारले निर्धारण गरेको भाडादर कार्यान्वयन भए–नभएको नियमित अनुगमन गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइएको छ।
यात्राका क्रममा खानेपानी, खाजा र खानालगायतका वस्तुमा यात्रु ठगिन नदिन मूल्य र गुणस्तरको अनुगमन गर्न पनि समितिले सम्बन्धित निकायलाई भनेको छ। यसअघि असोज ५ गते गठन गरिएको चाडपर्व यातायात व्यवस्थापनसम्बन्धी उपसमितिमा सांसद राजु नाथ पाण्डेलाई सदस्य चयन गर्ने निर्णयसमेत भएको छ।
समितिले चाडपर्वको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सडक, सवारी, टिकट, भाडा र यात्रु सेवाका सबै पक्षमा एकैसाथ निगरानी बढाउनुपर्नेमा जोड दिएको छ। यात्रुको आवागमन सहज बनाउन सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय र यातायात क्षेत्रका सरोकारवालाबीच निरन्तर समन्वय गर्न पनि समितिले आग्रह गरेको छ।
