कार्यवाहक प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पश्चिम नेपालमा बाढी तथा डुबानको खतरा बढेकाले सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले गृह मन्त्रालय तथा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उच्च सतर्कताका साथ क्षतिबाट नागरिकको जिउधनको रक्षाका लागि आवश्यक व्यवस्थापन सहित तैनाथ रहन निर्देशन दिएका हुन ।
जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भीषण वर्षा भइरहेको भन्दै मङ्गलबार विशेष सूचना जारी गरेलगत्तै कार्यवाहक प्रधानमन्त्री सिंहले सरोकारवाला मन्त्रालयका मन्त्री तथा निकायका उच्च अधिकारीसहितको आकस्मिक बैठक डाकेर यस्तो निर्देशन दिएका हुन ।
पश्चिम राप्ती, बबई र भेरी नदीको जलस्तरले खतराको तह पार गरेकाले आसपासका बस्तीमा डुबान र कटानको खतरा बढेको छ । त्यसैले ती जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्दै कुनै पनि प्रकारको जनधनको क्षति हुन नदिन सिंहले गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल एवं राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टलाई निर्देशन दिए ।
गृहमन्त्री रमेशलेखकले पनि आफू निरन्तर प्राधिकरणसँग नजिकरहेर आमनागरिकको जिउधनको रक्षाका लागि खटिएको कार्यवाहक प्रधानमन्त्रीसमक्ष प्रस्टपारे । पछिल्लो समय मधेशको खडेरी र त्यसपछिको अवस्थासँगै पश्चिम नेपालमा भइरहेको बढी वर्षाको सन्दर्भमा कार्यवाहक प्रधानमन्त्री सिंहले चासो व्यक्त गर्दै थप सतर्कताका लागि निर्देशन दिएकाे प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जनाए । मङ्गलबार राप्ती र बबई नदीमा बाढीसँगै बहाव उच्च हुँदै खतरा तह आसपास आयो । देशभर मनसुनका कारण उत्पन्न विपत्का विषयमा पनि कार्यवाहक प्रधानमन्त्री सिंहले जानकारी लिए ।
कार्यवाहक प्रधानमन्त्री सिंहको भनाइ उल्लेख गर्दै भट्टले भने , “जुन क्षेत्रमा जलस्तर बढ्दो छ, त्यहाँका स्थानीय तह, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन भन्नुभएको छ ।” निर्देशन अनुसार सबै निकायलाई उच्च सतर्कतामा राख्दै राप्ती र बबई आसपास माइकिङ गरेर विपत्को सूचना प्रवाह गरी नागरिकलाई सुरक्षित रहन अपिल गरिएको भट्टले बताए । त्यस्तै उनका अनुसार पछिल्लो समय मधेशमा भएको वर्षा, त्यसअघि कायम रहेको खडेरी सुक्खाको अवस्थाबाट नागरिकले राहत महसुस गरेको विषयमा कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराइएको छ ।
मधेशमा भएको वर्षा, त्यसअघि कायम रहेको खडेरी सुक्खाको अवस्थाबाट नागरिकले राहत महसुस गरेको विषयमा कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराइएको छ । खेतका आलीहरू पानीले भरिँदै छन् भने खानेपानीको अभाव पनि बिस्तारै हट्दै गएको उनले बताए । अब खेत रोपाइँको बाँकी काम थाल्दै जीवनस्तर सामान्यतर्फ उन्मुख भएको छ ।
जल तथा मौसम विज्ञान विभागले पछिल्लो समय उल्लेखित क्षेत्रमा अझै पनि वर्षा भइरहेको छ र यसअघि नै भीषण वर्षा रेकर्ड भएकाले सुरक्षित रहन अपिल गरेको छ ।
विभागका अनुसार दाङको तुलसीपुर, अम्बापुर, जलकुण्डी आसपास भीषण वर्षा भएको छ । त्यस्तै बाँकेको पश्चिम राप्ती, सिक्टा क्षेत्र र बर्दियाको मानपुरसँगै आसपासका क्षेत्रमा भीषण वर्षा रेकर्ड भएको छ । स्थानीय खोलासँगै ठुला नदीको जलसतह बढ्दो क्रममा रहेको छ ।
