साविक विजेता अर्जेन्टिना विश्वकपको फाइनलमा

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकास्थित एटलान्टा स्टेडियममा  आज बिहान भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गोलले हरायो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा अर्जेन्टिनाले पुनरागमन जित निकालेको छ  ।

अर्जेन्टिनाको जितमा एन्जो फर्नान्डेज र लौटारो मार्टिनेजले गोल गरे ,खेलमा सुरुवाती अग्रता इङ्ल्यान्डले लिएको थियो । ५५औँ मिनेटमा एन्थोनी गोर्डनले पोस्ट नजिकबाट जाली चुमाएका थिए  ।

त्यसपछि थप आक्रामक बनेको अर्जेन्टिनाले ८५औँ मिनेटमा बराबरी गोल फर्कायो । एन्जो फर्नान्डेजले कप्तान लियोनल मेस्सीको पासमा डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए  ।

फर्नान्डेजको शसक्त प्रहारलाई विपक्षी गोल रक्षकले नियाल्न समेत भ्याएनन् । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लौटारो मार्टिनेजले उत्कृष्ट हेड गोल गर्दै अर्जेन्टिनालाई उपाधि नजिक पुर्‍याए ।

उनले कप्तान मेस्सीकै पासमा गोल गरे मेस्सीको गोल गर्ने प्रयास भने यस पटक सफल भएन । दुवै गोलमा पास मिलाएका मेस्सी प्लेयर अफ दि म्याच भए  ।

मेस्सी जारी विश्वकपमा सर्वाधिक आठ गोल गर्दै गोल्डेन बुटको दौडमा छन्। लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको अर्जेन्टिनाले उपाधि रक्षाका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि पहिलो सेमिफाइनल खेलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले हराएर फाइनलमा प्रवेश गरिसकेको छ  ।

इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले फहराए ‘फकल्यान्ड अर्जेन्टिनाकै हो’ लेखिएको झण्डा

विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेपछि अर्जेन्टिनाका केही खेलाडीले “Las Malvinas Son Argentinas” (माल्भिनास अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेका छन् । माल्भिनास अर्थात् फकल्यान्ड टापु । जितपछि अर्जेन्टिनाका खेलाडी लिसान्द्रो मार्टिनेज र जियोभानी लो सेल्सोले उक्त ब्यानर समातेर मुस्कुराउँदै दर्शकतर्फ देखाएका थिए।

यो फिफाको नियमविपरित हुन सक्ने बताइएको छ। फिफाको स्टेडियम आचारसंहिताअनुसार स्टेडियमभित्र राजनीतिक, आपत्तिजनक वा विभेदपूर्ण सन्देश भएका ब्यानर, झण्डा, पर्चा, कपडा वा अन्य सामग्री प्रदर्शन गर्न पाइँदैन। यस घटना’का सम्बन्धमा फिफाले हालसम्म कुनै टिप्पणी गरेको छैन।

दक्षिण एटलान्टिक महासागरमा रहेको उक्त टापुलाई बेलायतले फकल्यान्ड भने पनि अर्जेन्टिनाले माल्भिनास भनेर चिन्ने गर्छ। यो टापुमाथिको स्वामित्वको विषय लामो समयदेखि बेलायत र अर्जेन्टिनाबीच विवादको कारण बनेको छ।

सन् १९८२ मा दुवै देशबीच यस टापाका विषयमा युद्ध भएको थियो। त्यस युद्धमा अर्जेन्टिनाका ६४९ र बेलायतका लागि लडेका २५५ गोर्खा सैनिक सैनिकको मृत्यु भएको थियो। अन्ततः बेलायतले युद्ध जितेको थियो । टापुका अधिकांश बासिन्दाले बेलायतकै हिस्सा भएर बस्न चाहेको बताएका छन्।

तर अर्जेन्टिनाले सन् १८१६ मा स्वतन्त्र भएपछि स्पेनबाट उक्त टापुमाथिको अधिकार आफूले पाएको दाबी गर्दै आएको छ। साथै, सन् १८३३ मा बेलायतले अवैध रूपमा टापु कब्जा गरेको अर्जेन्टिनाको भनाइ छ।

विश्वकपका क्रममा राजनीतिक सन्देश भएका ब्यानर देखिएको यो पहिलो घटना भने होइन। गत महिना लस एन्जलसमा इरानको खेलका बेला इरानी–अमेरिकी समर्थकहरूले तेहरान सरकारविरुद्धको विरोधको प्रतीक मानिने पूर्व–क्रान्तिकालीन इरानी झण्डा प्रदर्शन गरेका थिए। त्यसबेला भने खेल कुनै अवरोधबिना सम्पन्न भएको थियो।

एजेन्सीहरू काे सहयाेगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *