फिफा विश्वकप २०२६ को खेलहरू अब सकिन लागेको छ। सेमिफाइनल र फाइनलका खेलहरू बाँकी हुँदा यी टिमहरूले विश्वकपको उपाधि जितेमा कति पुरस्कार पाउँछन् भन्ने ठूलो चासोको विषय बनेको छ।
यसमा फिफाले धेरैवटा विधा छुट्याएर पुरस्कार वितरण गर्ने गर्छ। सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाएको थियो। यो पटकको विश्वकप विजेताले भने योभन्दा बढी रकम पाउने फिफाले जनाएको छ।
विश्वकप २०२२ को सफलता पछि फिफाले गत अप्रिलमा २०२६ को विश्वकपमा पुरस्कार रकम बढाउने सहमति भएको थियो। जसमा सन् २०२२ मा ४४० मिलियन खर्च गरेको फिफाले यस पटक ८७१ मिलियन खर्च गर्नेमा सहमति जनाएको थियो। यस षयमा सहमति भएसँगै सहभागी टिमहरूको रकम पनि स्वतः वृद्धि भएको हो।पुरस्कार कुन कुन टिमले कति पाउँछन् ?
बीबीसीका अनुसार हरेक टिमले तयारी खर्च वापत २.५ मिलियन अमेरिकी डलर पाएका थिए। जसमा टिमहरूको यातयात खर्च, बसोबास खर्च र अभ्यासका लागि क्याम्पहरूको खर्चका लागि फिफाले उपलब्ध गराएको थियो।
यस पटकको विश्वकपमा ४८ देशले सहभागिता जनाएका थिए। यी हरेक देशले सहभागिता जनाए वापत १० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन्। जसमा तयारी खर्च जोड्ने हो भने, हरेक सहभागी टिमले १२.५ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन्।
हरेक राउन्डमा अघि बढेसँगै यी देशहरुको रकम बढ्दै जान्छ। राउन्ड अफ ३२ मा पुगेका हरेक देशले १२ मिलियन अमेरिकी डलर पाउँछन्। यो चरण पार गर्दै राउन्ड अफ १६ मा पुगेका टोलीले १६ मिलियन रकम पाउँछन्। त्यस्तै क्वाटरफाइनल प्रवेश गरेका हरेक टिमले २० मिलियन रकम पाउनेछन्।
सेमिफाइनलमा स्थान बनाएका ४ टिम जसमा इङ्ल्यान्ड, स्पेन, फ्रान्स र अर्जेन्टिनाले कम्तीमा २८ मिलियन पाउनेछन्। चौथो हुने टिमले २८ मिलियन, तेस्रो हुने टोलीले ३० मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्।
२०२६ को विश्वकप विजेता टोलीले ५१ मिलियन अमेरिकी डलर पुरस्कार पाउने फिफाले जानकारी दिएको छ। त्यस्तै उपविजेता टोलीले भने, ३४ मिलियन पुरस्कार पाउनेछ।
