कोशी प्रदेशमा यस वर्ष ५४.८६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। प्रदेश कृषि निर्देशनालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशमा हालसम्म १ लाख ५१ हजार ६ सय १९.३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ।
गत वर्ष असार २९ गतेसम्म ४१.३२ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको थियो। यस वर्ष गत वर्षको तुलनामा धान रोपाइँको प्रगति उल्लेख्य रूपमा बढेको निर्देशनालयले जनाएको छ।
तथ्यांकअनुसार उच्च पहाडी जिल्लामा ४२.५१ प्रतिशत, मध्यपहाडी जिल्लामा ६१.०९ प्रतिशत र तराईका जिल्लामा ५३.६६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
जिल्लागत रूपमा भोजपुरमा सबैभन्दा बढी ७५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ भने धनकुटामा सबैभन्दा कम २८ प्रतिशत मात्रै रोपाइँ भएको छ।
अन्य जिल्लामा ताप्लेजुङमा ४९ प्रतिशत, संखुवासभामा ३६ प्रतिशत, सोलुखुम्बुमा ५७.५६ प्रतिशत, पाँचथरमा ६७ प्रतिशत, इलाममा ६६ प्रतिशत, तेह्रथुममा ५१.५८ प्रतिशत, उदयपुरमा ५५ प्रतिशत, ओखलढुंगामा ४७.४६ प्रतिशत, खोटाङमा ७१.३६ प्रतिशत, झापामा ६१.८० प्रतिशत, मोरङमा ४६ प्रतिशत र सुनसरीमा ५२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
कोशी प्रदेशमा कुल २ लाख ७६ हजार ३ सय ८६.७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यस वर्ष सोलुखुम्बु, इलाम, भोजपुर, तेह्रथुम, उदयपुर, झापा, मोरङ र सुनसरीमा गत वर्षभन्दा बढी वर्षा भएकाले धान रोपाइँको गति बढेको निर्देशनालयले जनाएको छ।
