अमेरिका-इरान युद्धविराम भंग : मध्यपूर्वमा फेरि सैन्य टकरावको खतरा

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अमेरिका र इरानबीच भएको अस्थायी युद्धविराम सम्झौता पूर्ण रूपमा भङ्ग भएको छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा देश शोकमा डुबेकै बेला दुई देशबीचको युद्धविराम अन्त्य भएको घोषणा गरिएको हो। यस घटनाले मध्यपूर्वमा पुनः भीषण सैन्य टकरावको खतरा बढाएको छ।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र उनकी १४ महिनाकी नातिनी जारासहित परिवारका पाँच सदस्यको मृत्यु भएको थियो। सोही घटनापछि दुई देशबीच भीषण युद्ध सुरु भएको थियो।

हवाई आक्रमणका क्रममा ज्यान गुमाएका नेता खामेनीको मृत्यु भएको चार महिनापछि हालै राजधानी तेहरानको आजादी स्क्वायरमा उनको अन्तिम बिदाइ गरियो। उनको अन्तिम बिदाइ जुलाइ ४ देखि सुरु गरिएको हो। इरान सरकारका अनुसार यस अन्त्येष्टिमा देश-विदेशका गरी करिब डेढ करोड मानिस सहभागी थिए। शोकको कालो कपडा तथा रगत र शहादतको प्रतीक मानिने रातो झण्डासहित उपस्थित लाखौँ सर्वसाधारणले ‘अमेरिका मुर्दाबाद’ र ‘इजरायल मुर्दाबाद’ को नारा लगाउँदै बदलाको माग गरे। अन्त्येष्टिमा सहभागी मोजतबा नामक एक व्यक्तिले आक्रोश पोख्दै भने, ‘चाँडै नै ह्वाइट हाउसको रङ्ग मेरो हातमा भएको रातो झण्डा जस्तै रक्ताम्य हुनेछ।’

यद्यपि, इरानको चरम आर्थिक सङ्कट, ८० प्रतिशतको महँगी र विगतका सरकार विरोधी प्रदर्शनमा भएका दमनका कारण कतिपय सर्वसाधारण भने यो अन्त्येष्टिबाट टाढै रहे।

ट्रम्पद्वारा युद्धविराम अन्त्यको औपचारिक घोषणा: 

खामेनीको अन्त्येष्टिकै दिन ट्रम्पले इरानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेका छन्। दुई देशबीच हालै भएका शृङ्खलाबद्ध आक्रमण र प्रत्याक्रमणपछि राष्ट्रपति ट्रम्पले अमेरिका-इरान युद्धविराम ‘अन्त्य भएको’ औपचारिक घोषणा गरेका हुन्।

नेटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्प इरानी नेतृत्वप्रति निकै आक्रामक रूपमा प्रस्तुत भए। उनले इरानसँग अब कुनै पनि संवादको औचित्य नरहेको दाबी गरे। इरानी नेतृत्वलाई ‘मानसिक रूपमा बिरामी’ को संज्ञा दिँदै ट्रम्पले भने, ‘म अब उनीहरूसँग कुनै कुराकानी गर्न चाहन्न। उनीहरूसँग कुरा गर्नु समयको बर्बादी मात्र हो, उनीहरू झुट बोल्छन्।’

वार्ताको टेबलमा फर्कने वा नफर्कने कुरा तेहरानमै निर्भर रहने स्पष्ट पार्दै ट्रम्पले इरानसँग परमाणु हतियार हुन नहुने कुरामा सबै सहमत रहेको दोहोर्‍याए। उनले यस विषयमा आफ्ना सल्लाहकारहरू स्टिभ विट्कफ र जेराल्ड कुशनरसँग छलफल गर्ने समेत बताए।

यसअघि यी दुई देशबीचको तनावलाई कम गर्न पाकिस्तानको मध्यस्थतामा १४ बुँदे सर्तसहित ६० दिनभित्र काम सम्पन्न गर्ने गरी अप्रिलको सुरुमा यो अस्थायी सम्झौता भएको थियो, जसमा कतारले पनि मध्यस्थकर्ताको भूमिका खेलेको थियो। तर यो सम्झौता एक महिना पनि टिकेन।

अमेरिकाले सम्झौता तोडेको इरानको दाबी :

अमेरिकी घोषणा र सैन्य कदमप्रति  इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकामाथि समझदारी पत्र उल्लङ्घन गरेको आरोप लगाएका छन्। इरानका अनुसार अमेरिकी हमला, इरानी तेल बिक्रीमा पुनः लगाइएको प्रतिबन्ध र लेबनानमा हिजबुल्लाहसँग इजरायलको जारी सङ्घर्षका कारण युद्धविरामका महत्वपूर्ण बुँदाहरू निष्प्रभावी भइसकेका थिए। अमेरिकाले होर्मुज स्ट्रेटको व्यवस्था उल्लङ्घन गरेको इरानको दाबी छ।

परराष्ट्र मन्त्री अराघचीले अमेरिकी सैन्य अखडा रहेका खाडी देशहरूलाई कडा चेतावनी दिँदै भनेका छन्, ‘यदि उनीहरूको भूमि प्रयोग गरेर इरानमाथि आक्रमण गरिएमा, इरानले सिधै आक्रमणको स्रोतलाई नै निशाना बनाउनेछ। खाडी देशहरूले अमेरिकालाई आफ्नो भूमि प्रयोग गर्न दिनु अपराधमा भागीदार हुनु सरह हो।’

विश्व बजारमा हलचल: तेलको मूल्य वृद्धि :

यसैबीच, अमेरिकी सेन्ट्रल कमाण्डले होर्मुज स्ट्रेटमा तीनवटा तेल ट्याङ्करमाथि भएको आक्रमणको जवाफमा इरानका ८० भन्दा बढी ठेगानाहरूमा भीषण हवाई हमला गरेको दाबी गरेको छ। यस आक्रमणमा इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ का ६० भन्दा बढी नेभी युनिटहरूलाई निशाना बनाइएको थियो। जवाफमा इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरेको दाबी गरेको छ। नेटो प्रमुख मार्क रुटेले भने अमेरिकी कदमको समर्थन गर्दै इरानले सम्झौता उल्लङ्घन गरेकाले यो हमला आवश्यक भएको बताएका छन्।

दुई देशबीचको यो तनावले विश्व बजारमा ठुलो हलचल पैदा गरेको छ। होर्मुज स्ट्रेटमा तेल आपूर्ति प्रभावित हुने आशङ्काका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ५ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ डलर ८२ सेन्टले बढेर ७७ डलर ९८ सेन्ट पुगेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ५.१५ प्रतिशतले बढी हो। त्यसैगरी, न्यूयोर्कस्थित बजारमा वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य पनि ३ डलर ७० सेन्टले बढेर प्रतिब्यारेल ७४ डलर १४ सेन्ट पुगेको छ, जसमा ५.२५ प्रतिशतको वृद्धि भएको छ। यो मूल्य दुवै सूचकका लागि जुन २३ यताकै उच्च स्तर मानिएको छ।

अमेरिकाले इरानी कच्चा तेल बिक्रीको अनुमति दिने सामान्य इजाजतपत्र रद्द गरेपछि मङ्गलबार पनि तेलको मूल्य करिब ३ प्रतिशतले बढेको थियो। त्यसपछि ट्रम्पले इरानसँग थप वार्ताको सम्भावना नरहेको बताएपछि बजारमा अनिश्चितता झन् बढेको हो।

ट्रम्पको युद्धविराम घोषणा र धम्की :

इरानसँगको युद्धविराम र सैन्य कदमलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नीति र बयानहरू विगत केही महिनादेखि लगातार फेरिँदै आएका थिए। उनले सुरुमा २१ अप्रिलमा इरानसँगको युद्धविरामलाई अगाडि बढाउन आफू इच्छुक नरहेको बताएका थिए। तर, पाकिस्तानको कूटनीतिक अनुरोध र मध्यस्थतापछि उनले तत्कालका लागि प्रस्तावित सैन्य हमला रोकेको जानकारी दिए।

त्यस्तै, ८ मेमा इरानको आकाशमा रहस्यमय सैन्य गतिविधिको सङ्केत देखिएपछि ट्रम्पले आक्रामक रूप लिँदै अब संसारले युद्धविराम समाप्त भएको थाहा पाउने खुला धम्की दिए भने ११ जुनमा उनले युद्धविराम औपचारिक रूपमै समाप्त भएको बलियो सङ्केत दिँदै इरानमाथि कडा सैन्य कारबाही गर्ने चेतावनी दिए। तर, नाटकीय मोड लिँदै सोही दिन साँझका लागि तय गरिएको भनिएको प्रस्तावित हमला अन्तिम समयमा स्थगित गरियो।

त्यसपछि १७ जुनमा कतारमा १४ बुँदे अस्थायी सम्झौतामा हस्ताक्षर गर्ने क्रममा समेत ट्रम्पको धम्की रोकिएन। उनले इरानलाई चेतावनी दिँदै भनेका थिए, ‘यदि उनीहरूले राम्रो व्यवहार गरेनन् र सर्तहरू मानेनन् भने हामी फेरि बमबारी गर्नेछौँ।’ तर पछि पाकिस्तानको मध्यस्थतामा उक्त युद्धविरामको सम्झौतामा हस्ताक्षर भयो र ६० दिनका लागि गृहकार्य गर्ने सहमति भएको थियो। तर आज विगतका सबै ढुलमुले र अस्थायी कदमहरूलाई पार गर्दै अन्ततः राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धविराम पूर्ण रूपमा समाप्त भएको औपचारिक र अन्तिम घोषणा गरे।

इरानमा मोजतबा खामेनीको नयाँ युग :

 आयतोल्लाह अली खामेनीको अन्त्यपछि इरान अब आफ्ना तेस्रो सर्वोच्च नेता, ५६ वर्षीय मोजतबा खामेनीको नेतृत्वमा नयाँ युगमा प्रवेश गर्दैछ। मोजतबा आफ्ना पिता मारिएको सोही हवाई आक्रमणमा गम्भीर घाइते भएका थिए। इजरायलबाट अझै पनि ज्यानको धम्की रहेका कारण उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्। पिताको अन्त्येष्टिमा पनि उनका तीन भाइ मात्र उपस्थित थिए।

इरानका अगाडि अब एकातिर युद्धको सङ्कट छ भने अर्कोतिर ध्वस्त भएको अर्थव्यवस्था सुधार्न र प्रतिबन्धहरू हटाउन अमेरिकासँग वार्ता गर्नुपर्ने बाध्यता छ। इरानको आगामी बाटो अत्यन्तै चुनौतीपूर्ण र अनिश्चित बनेको देखिन्छ।

-एजेन्सीहरुको सहयोगमा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *