‘मनसुन’ भित्रन अझै समय लाग्ने

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

यस वर्षको मनसुन नेपाल भित्रन आनाकानी गर्दै नेपालको सीमापारि अड्किएर बसेको छ । छिमेकी भारतको सीमासम्म आइपुगेको मनसुन नेपाल भित्रन आनाकानी गर्दै सीमापार बसेको हो । विभिन्न प्रणालीले यतिबेला भारतको सिक्किम र बिहारसम्म मनसुन आइपुगेको देखाएको छ ।

मनसुन भित्रने मिति जुन १३ बाट घर्किएर जुन १७ लागेको छ । तर पनि मनसुन नेपाल भित्रन नसकेको जल तथा मौसम विज्ञान विभागले औँल्याएको छ । भारतको केरलामा जुन ४ मा  पुगेको थियो । त्यहाँबाट बङ्गालको खाडीको जलवाष्पसहित नेपालतिर आउन विगत झैँ निकै बेर लगाएको छ । सामान्यतया केरलाबाट नेपाल आइपुग्न बढीमा १० दिन लाग्नुपर्ने हो । तर १३ दिन बित्दै गर्दा पनि मनसुन नेपाल भित्रन नसकेको मौसमविद् रोजन लामिछाने बताउछन् । उनका अनुसार नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गर्न अझै केही दिन लाग्ने अनुमान छ ।

ढिला आउँदै छ मनसुन 

मनसुनको मिति घर्किएपछि प्रश्नको ओइरो लाग्न थालेपछि विभागले विगतको मनसुन भित्रँदाको प्रवृत्तिको विश्लेषण गर्दै विगतमा पनि यसरी मनसुन भित्रन ढिलाइ हुने गरेको जानकारी दिएको छ । विगतमा सन् १९७२ देखि २०२३ सम्मका वर्षका मनसुनी वर्षमध्ये ११ वटा वर्षमा नेपालमा मनसुन ढिला भित्रिएको थियो । विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार भूउपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणको आधारमा नेपालमा मनसुन आगमन केही दिन ढिला हुने भएको छ ।

प्रशान्त महासागरमा वर्षा कम गराउन सघाउने प्रणाली एलनिनो विकसित भई तटस्थबाट बलियो हुँदै गएको वर्तमान अवस्था छ । जसले गर्दा नेपालको मनसुन आगमनमा समेत प्रभाव पर्नुका साथै दक्षिण एसियालगायत नेपालको मनसुन कमजोर हुन सक्ने सम्भावना पोखरेलले औँल्याए । विगतमा पनि एलनिनोको विकास प्रशान्त महासागरमा बलियो हुँदा नेपालमा मनसुन आगमन ढिला भएको तर्क उनको छ ।

मनसुनको वर्तमान अवस्था 

दक्षिण एसियाका विभिन्न मुलुकमा विचरण गरिरहेको मनसुनको प्रणाली आफैँमा कमजोर छ । अरब सागरबाट अगाडि बढेको मनसुन कमजोर भए पनि श्रीलङ्का तथा दक्षिण भारतका विभिन्न क्षेत्र हुँदै नेपालको सिमाना पार गरेर नेपाल भित्रने तरखरमा रहेको भारतीय मौसम पूर्वानुमान विभागले जनाएको छ ।

मनसुनका प्रणालीको केही अंशले नेपालको सिमाना पार गरिसकेको दाबी भारतको छ । तराईको बिहार क्षेत्र छोएका नेपाली भूभागमा मनसुनको प्रणालीले असर थालेको उसको मनसुन अवलोकन गर्ने प्रारूपहरूले औँल्याएको छ ।

नेपालको प्रारूपहरूले भने मनसुन भित्रने क्षेत्र नेपालको पूर्वी भूभाग अर्थात् कोशी प्रदेश रहेकाले त्यस क्षेत्रमा मनसुन भित्रने पूरै वातावरण बनिनसकेको औँल्याएको मौसमविद् लामिछानेले जानकारी दिए । उनका अनुसार अहिलेको अवस्थामा नेपालमा मनसुनका लागि वातावरण निर्माण हुने क्रममै रहेको छ । नेपालमा अझै पनि पश्चिमी वायुको प्रभाव बलियो रहनुका साथै माथिल्लो वायुमण्डलमा पूर्वीय वायुसहितको वातावरण बन्न बाँकी छ ।

त्यस्तै जलवाष्पयुक्त हावाको बहाव भने फैलने क्रममा रहेको छ । कतै सानो चरणको वर्षा हुने र कतै नहुने प्रक्रिया चलिरहेको छ । जसले मनसुनी प्रणाली पूरै सक्रिय नरहेको प्रस्ट सङ्केत गर्छ ।

उनले भने , “निरन्तर अवलोकनको अवस्था हेर्दा नेपालको नजिकमै छ, अबको केही दिनमा मनसुन नेपाल भित्रने तरखरमा रहेको देखिन्छ, आजभोलि नै भने मनसुन नेपालमा आउँदैन ।” भारतको प्रणालीले बिहार छोएका केही क्षेत्रमा मनसुनको असर देखाए पनि त्यो नेपालको मनसुन भित्रने पद्धतिमा गणना नहुने उनले प्रस्ट पारे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *