बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको अभावले समस्यामा परेका छन्। धानको ब्याड राख्ने र मकै बालीमा मल हाल्ने समय भइसक्दा पनि पर्याप्त मल उपलब्ध नभएको किसानहरूको गुनासो छ।बर्खे धान खेतीका लागि ब्याड राखेर रोपाइँको तयारीमा जुट्नुभएका घोराही उपमहानगरपालिका–१, पन्तटोल निवासी नवराज पन्तले आवश्यक मल पाउन नसकेको बताए । हिउँदे बालीका लागि ल्याएर बाँकी रहेको मल प्रयोग गरी धानको ब्याड राखे पनि रोपाइँका लागि आवश्यक मल अभाव भएको उनको भनाइ छ।
“मलका लागि सहकारीमा आठ घण्टा लाइनमा बस्दा आधा बोरा मात्र पाइयो,” पन्तले भने , “मकै र धान खेतीका लागि करिब १४ बोरा मल चाहिन्छ, तर अहिलेसम्म एक बोरा पनि पाउन सकेको छैन।”घोराही–२, निमुरिया निवासी किसान गोवर्धन गिरीले रामपुरस्थित साना किसान कृषि सहकारी संस्थाबाट दुई बोरा युरिया मल पाउने आशामा बिहीबार राति ११ बजेदेखि लाइनमा बसेको बताए ।
“धान खेतीका लागि मल अनिवार्य छ। अहिले नपाए पछि झन् समस्या हुन सक्छ,” उनले भने , “सहकारीमा मल आएको खबर पाएपछि रातिदेखि नै लाइनमा बसेका छौँ।”साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद खनालका अनुसार कृषि सामग्री कम्पनीले सीमित मात्रामा मल उपलब्ध गराउने भएकाले वितरण सुरु नहुँदै सकिने अवस्था छ। त्यसैले किसानहरू रातिदेखि नै लाइनमा बस्न बाध्य भएका छन्।
उनका अनुसार सहकारीले किसानलाई आधा–आधा बोराका दरले युरिया मल वितरण गरेको छ। “कृषि सामग्री कम्पनीले मागअनुसार मल उपलब्ध गराउँदैन,” अध्यक्ष खनालले भने , “कोटाअनुसार एक पटकमा करिब सय बोरा मल आउँछ, जसले किसानको आवश्यकता पूरा गर्न सक्दैन।”
कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लाको ६५ हजार ९८० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३९ हजार हेक्टरमा धान खेती गरिन्छ। यसका लागि युरिया, डीएपी र पोटास गरी ३२ हजार ८२१ मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने अनुमान छ। कृषि सामग्री कम्पनी लिमिटेड, घोराही शाखाका प्रमुख डेविट हमालका अनुसार हालसम्म शाखाबाट युरिया १ हजार ८९८ दशमलव ९० मेट्रिक टन, डीएपी १ हजार १९८ दशमलव ५० मेट्रिक टन र पोटास १०६ दशमलव १५ मेट्रिक टन बिक्री गरिएको छ।
हाल शाखामा युरिया ८५६ दशमलव ८० मेट्रिक टन, डीएपी ७०५ दशमलव ८५ मेट्रिक टन र पोटास ८९ मेट्रिक टन मौज्दात रहेको उनले जानकारी दिए । कृषि सामग्री कम्पनी लिमिटेड, तुलसीपुर शाखामा भने हाल दाङका लागि रासायनिक मल मौज्दात छैन। शाखा प्रमुख लीलाधर वलीका अनुसार तुलसीपुर शाखाबाट युरिया २ हजार ९९५ दशमलव ५९ मेट्रिक टन, डीएपी १ हजार ९२१ दशमलव ४० मेट्रिक टन र पोटास ४७ दशमलव ०५ मेट्रिक टन बिक्री भइसकेको छ।
त्यसैगरी, कृषि सामग्री कम्पनी लिमिटेड, लमही शाखाले युरिया ३०० मेट्रिक टन, डीएपी ४३ मेट्रिक टन र पोटास २६ दशमलव ६० मेट्रिक टन मल सहकारीमार्फत किसानलाई वितरण गरेको जनाएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, घोराही शाखाका प्रमुख रामबाबुप्रसाद गुप्ताका अनुसार कम्पनीले हालसम्म युरिया २ हजार २६९ दशमलव १० मेट्रिक टन, डीएपी २ हजार ३४८ दशमलव ०५ मेट्रिक टन र पोटास २४० मेट्रिक टन वितरण गरेको छ।
हाल कम्पनीको गोदाममा युरिया १५८ दशमलव ६५ मेट्रिक टन, डीएपी ९४ दशमलव १० मेट्रिक टन र पोटास ५४ दशमलव ९० मेट्रिक टन मौज्दात रहेको छ। गत पुसदेखि दाङमा रासायनिक मलको नियमित आपूर्ति हुन नसक्दा धान खेतीको समयमा मल अभाव चुलिएको कार्यालयले जनाएको छ।
