वसन्तकालीन हिमाल आरोहणको सिजन अन्तिम मोडमा पुग्दा निर्मल पुर्जा (निम्सदाइ) ले मकालु हिमालमा नयाँ रेकर्ड बनाएका छन् । ८,४८५ मिटर अग्लो, विश्वकै पाँचौं अनि खतरनाक मानिने मकालु शिखरमा पुर्जाले बिहीबार आरोहण गरेका हुन् । योसहित उनले सबैभन्दा बढी ५६ औं पटक ८ हजार मिटरमाथिका चुचुरा चुम्ने कीर्तिमान रचेका हुन ।
संसारका १४ वटा सर्वोच्च शिखरमा आफ्नै लयमा आरोहण गर्न सिपालु यी भूतपूर्व ब्रिटिस ‘स्पेसल बोट सर्भिस’ कमान्डोले यसपटक मकालुमा ‘नो-बोतल अक्सिजन’ च्यालेन्ज गरेका थिए । कृत्रिम अक्सिजन (बोतल) बिना नै मकालुको चुचुरो टेकेका पुर्जाको यो अक्सिजनबिनाको २८ औं आरोहण हो । विश्व पर्वतारोहणको इतिहासमा यो तथ्यांक पनि अर्को रेकर्ड हो ।
मकालुको आधार शिविरमा ओर्लिँदै गरेका पुर्जाले कान्तिपुरसँग शुक्रबार दिउँसो भने, ‘हिजो दिनको ठिक १२ बजे एकजना गेस्टसहित मैले मकालुको सफल आरोहण गरेँ । कतिपय ठाउँमा डोरी नै थिएन । कतिपय ठाउँ हिउँले पुरिएको थियो । टोलीलाई लिड गर्ने काम मेरै काँधमा थियो । यो आरोहणसँगै ८ हजार मिटर माथिका हिमालमा मेरो ५६ औं र बिना अक्सिजन २८ औं यात्रा पूरा भएको छ । मेरो पुरानो रेकर्डलाई मैले बदलेको छु ।’
पुर्जाका अनुसार धेरैजसो उकालोमा हिमाल चढ्नका लागि पहिले टाँगिएका फिक्स डोरी कि त हावाले उडाइसकेका थिए, कि त गहिरो हिउँको पहिरोभित्र हराएका थिए । बाटो नै नभएको ठाउँमा हिउँ काट्दै, उनले टोलीलाई गाइड गरेका थिए ।
पुर्जाको यो रेकर्ड ब्रेकको सिलसिला केही दिनअघि (जेठ १३ र १४ गते) सगरमाथा र ल्होत्से हिमाललाई बिनाअक्सिजन मात्र १३ घण्टा ४२ मिनेट १७ सेकेन्डमा ‘फ्लाइङ स्पिड’ मा सिध्याएर सुरु भएको थियो । जेठ १५ गतेपछि उनी सिधै मकालुतर्फ सोझिएका थिए।
‘मकालु सिध्याएर म लुक्ला फर्किँदै छु,’ उनले भने, ‘लुक्ला टेक्नेबित्तिकै मेरो अर्को यात्रा सिधै कञ्चनजंघा (८,५८६ मिटर) का लागि हुनेछ ।’
नेपालका यी सबै आरोहण अभियान जुन १० सम्ममा सिध्याएर उनी सिधै पाकिस्तानको ‘किलर माउन्टेन’ भनिने केटु हिमालका लागि जाने योजनामा छन् ।
