‘आकर्षणको मुखुन्डो उतारौँ, निकोटिन र सुर्तीको लतविरुद्ध प्रतिकार गरौँः विश्व धूमपानरहित दिवस

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ३९ हजार दुई सय जनाको मृत्यु हुने गरेको छ । सरकारले सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले सुर्ती मात्र होइन, निकोटिनका नयाँ उत्पादनतर्फ युवापुस्तालाई फसाउँदै छन् । सुर्तीजन्य पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउनुपर्नेमा नेपालमा सुर्तीजन्य पदार्थमा ३५ प्रतिशतभन्दा बढ्न सकेको छैन । सुर्तीजन्य पदार्थ उत्पादनको नियन्त्रणका लागि थप कडा नीतिगत हस्तक्षेप आवश्यक रहेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वास रोगलगायतका नसर्ने रोगको जोखिम बढाएको जानकारी दिए ।  यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सुर्तीजन्य पदार्थ र निकोटिनजन्य उत्पादनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठुलो आर्थिक तथा सामाजिक भार थपिरहेको बताए  ।

डा. देवकोटाका अनुसार युवापुस्तालाई लक्षित गरी बजारमा ल्याइएका नयाँ निकोटिन उत्पादन नियन्त्रणका लागि कानुनी तथा नियामकीय संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभर एक अर्ब २० करोडभन्दा बढी मानिसले सुर्तीजन्य तथा निकोटिनजन्य पदार्थ प्रयोग गर्छन् ।

दक्षिणपूर्वी एसियामा मात्रै करिब ३२ करोड २० लाख वयस्क र ८६ लाख किशोरकिशोरीले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन् । यस क्षेत्रका २८ करोड ८० लाखभन्दा बढी मानिसले धूमपानरहित सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको तथ्याङ्क छ । जुन विश्वव्यापी कुल प्रयोगकर्ताको झन्डै ८० प्रतिशत हो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सुर्तीजन्य पदार्थबाट उठेको कर स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउदै भने सुर्ती नियन्त्रण अझै चुनौती रहेको भन्दै पछिल्ला वर्षमा धूमपानमा इलेक्ट्रोनिक चुरोट, भेप, निकोटिन पाउच जस्ता नयाँ उत्पादनले युवालाई आकर्षित गरिरहेको छ  ।

सुर्तीको स्वाद, आकर्षक प्याकेजिङ, सामाजिक सञ्जाल र डिजिटल विज्ञापनमार्फत किशोरकिशोरीलाई लक्षित गरिरहेको छ । यसलाई रोक्न सरकार, स्वास्थ्यकर्मी र समुदायबिच समन्वयात्मक अभियान आवश्यक रहेको डा. कार्कीकाे भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार दक्षिणपूर्वी एसिया क्षेत्रले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन विश्वकै सबैभन्दा तीव्र प्रगति हासिल गरेको छ । सन् २००० मा वयस्क पुरुषमा ७०.१ प्रतिशत रहेको सुर्ती प्रयोगको दर सन् २०२४ मा ३७.४ प्रतिशतमा झरेको छ भने महिलामा ३८ प्रतिशतबाट ९.३ प्रतिशतमा झरेको छ । सन् २०१० देखि २०२५ बिच वयस्क सुर्ती प्रयोगमा ४० प्रतिशत सापेक्षिक कमी हासिल गर्ने लक्ष्यतर्फ उल्लेखनीय प्रगति गरेको छ । जुन विश्व स्वास्थ्य सङ्गठनको ३० प्रतिशत कमीको लक्ष्यभन्दा माथि रहेको जनाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले युवालाई सही सूचना र सचेतना प्रदान गर्नुपर्ने बताइन् । उनिले सुर्तीजन्य पदार्थको लत सुरु हुन नदिन विद्यालय, परिवार र समुदाय तहबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् ।

उनिले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक प्रचार र आकर्षक विज्ञापनको प्रभावबाट युवालाई जोगाउन डिजिटल स्वास्थ्य शिक्षा कार्यक्रमलाई विस्तार गर्न आवश्यक रहेको बताइन  ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेका अनुसार धूमपानका कारण अस्पतालमा क्यान्सर रोगीको सङ्ख्या बढेको छ । उनले चुरोटमाथि कडा नियमन बढ्दै गएपछि सुर्ती तथा निकोटिन उद्योगले इलेक्ट्रोनिक चुरोट, सिन्थेटिक निकोटिन उपकरण र निकोटिन पाउच जस्ता नयाँ उत्पादनको प्रवर्धन गरिरहेको आरोप लगाए  ।

ती पदार्थमा स्वादयुक्त उत्पादन, आकर्षक डिजाइन तथा डिजिटल मार्केटिङका माध्यमबाट युवालाई लक्षित गर्ने प्रवृत्तिले सार्वजनिक स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती थपेको बताउदै  जनचेतना, कर नीति र उपचार सेवाको पहुँचलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए  । यसैबिच आज  ‘आकर्षणको मुखुन्डो उतारौँ, निकोटिन र सुर्तीको लतविरुद्ध प्रतिकार गरौँ’ भन्ने मूल नाराका साथ विश्व धूमपानरहित दिवस मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *