सगरमाथामा बुबा-छोराको ऐतिहासिक कीर्तिमान, एकै सिजनमा दुई पटक संयुक्त आरोहण

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

संखुवासभाको मकालुका नेपाली शेर्पा गाइड बुबा–छोराले यस पटकको सगरमाथामा आरोहण सिजनमा विश्व कीर्तिमान कायम गरेका छन् । मकालुको नोर्बुगाउँका ४२ वर्षीय छाङ्वा शेर्पा र उनका २० वर्षीय छोरा लाक्पा टासी शेर्पाले वसन्तकालीन सगरमाथा आरोहण सिजनमा दुई पटक सफल आरोहण गर्दै इतिहास रचेका हुन् ।

‘हामी बाउछोराले ६ दिनमा २ पटक (जेठ ३ र ९ गते गरी) सगरमाथा आरोहण गर्‍यौं,’ छाङ्वाले कान्तिपुरसँग बुधबार भने, ‘सगरमाथामा एकै सिजनमा दुई पटक सगरमाथा आरोहणमा यसअघि कसैको पनि दाबी रहेनछ । हामीले यो रेकर्डका लागि गिनिज बुक वर्ल्ड रेकर्डका लागि पनि आवेदन प्रक्रिया सुरु गरेका छौं ।’

यी दुवै आबद्ध कम्पनी सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुरागाईंका अनुसार, सगरमाथामा संयुक्त रूपमा पहिलो पटक बुबा–छोराले आरोहण गरेको कीर्तिमान सन् १९९० अक्टोबर ७ मा फ्रान्सका जाँ–नोएल रोश र उनका छोरा बेत्राँ रोशले बनाएका थिए । ‘तर छाङ्वा र लाक्पा टासीले एकै सिजनमा दुई पटक संयुक्त आरोहण गरेर बनाएको यो नयाँ विश्व रेकर्ड हो,’ महाप्रबन्धक गुरागाईंले भने ।

Father-son team sets historic record on Everest, climbing together twice in one season

छाङ्वा ९ वर्षदेखि सेभेन समिट ट्रेक्समा आरोहण गाइडका रूपमा कार्यरत छन् भने लाक्पा पनि गत वर्षदेखि यही कम्पनीमा कार्यरत छन् । लाक्पाको सगरमाथा आरोहणमा यो दोस्रो प्रयास हो । उनी गत वर्ष चौथो शिविरबाटै फर्केका थिए ।

महाप्रबन्धक गुरागाईंका अनुसार, एकै आरोहण सिजनमा दुई पटक संयुक्त रूपमा सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो बुबा-छोरा जोडी बनेका यी दुई जनाको सफल आरोहणबीच केवल ५ दिन २१ घण्टा ५९ मिनेटको अन्तर छ । कम्पनीका अनुसार, उनीहरूले कुनै कीर्तिमान बनाउने लक्ष्य राखेका थिएनन् । तर दुवै आरोहण उनीहरूको नियमित व्यावसायिक जिम्मेवारीअन्तर्गत फरक–फरक अन्तर्राष्ट्रिय टोलीलाई सगरमाथाको चुचुरोसम्म पुर्‍याउने क्रममा सम्पन्न भएको हो ।

सगरमाथाको ‘डेथ जोन’मा उनीहरूले बिताएको एक साताभन्दा कम समयको यात्राले नेपाली उच्च हिमाली गाइडहरूको अद्वितीय क्षमता र समर्पणलाई पुनः प्रमाणित गरेको गुरागाईंले बताए ।

छाङ्वा र लाक्पाले सेभेन समिट ट्रेक्सका तर्फबाट चिनियाँ आरोही चिउलोङ पेंगलाई जेठ ३ मा सफलतापूर्वक सगरमाथाको चुचुरोसम्म पुर्‍याएका थिए । यो उनीहरूको पहिलो संयुक्त आरोहण थियो । तर छाङ्वाका लागि सगरमाथाको यो नवौं सफल आरोहण थियो भने लाक्पाका लागि जीवनकै पहिलो सगरमाथा आरोहण थियो ।

चिनियाँ आरोही पेंगलाई सुरक्षित रूपमा तल्लो शिविरसम्म ल्याएपछि उनीहरूले आराम गर्ने समयसमेत खासै पाएका थिएनन् । छ दिन नपुग्दै उनीहरू भारतको प्रतिष्ठित एनएसजी ब्ल्याक क्याट्स कमाण्डो टोलीलाई गाइड गरेका थिए । यो टोलीसँगै जेठ ९ मा चुचुरोमा पुगेको त्यो क्षणमै उनीहरूको नाम विश्व कीर्तिमानमा दर्ज भइसकेको थियो । यद्यपि त्यसबारे उनीहरूलाई तत्काल जानकारी नभएको छाङ्वाले बताए ।

दोस्रो आरोहणको अनुभव सम्झँदै छाङ्वाले भने, ‘त्यो क्षणमा मैले एक बुबाको रूपमा सोचे कि – यसरी बुबा र छोरा मिलेर दुई पटक सगरमाथा चढ्ने अवसर कति जनालाई मिल्ला ? यो साँच्चै विशेष अनुभव थियो ।’ लाक्पाका लागि पनि सन् २०२६ को वसन्तकालीन सिजन जीवनकै सबैभन्दा महत्त्वपूर्ण मोड बनेको छ । अन्तर्राष्ट्रिय आरोहण टोलीहरूसँग सहज संवाद गर्न हाल अंग्रेजी अध्ययन गरिरहेका उनले पर्वतारोहणसँगै उच्च शिक्षालाई पनि निरन्तरता दिने योजनामा छन् ।

Father-son team sets historic record on Everest, climbing together twice in one season

यो ऐतिहासिक उपलब्धिले अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायको ध्यान तानेको छ । कम्पनीले जारी गरेको वक्तव्यमा बुबा-छोराको समर्पण र व्यावसायिक दक्षताको प्रशंसा गरिएको छ । ‘छाङ्वा शेर्पा र लाक्पा टासी शेर्पाले आधुनिक हिमाली गाइडको वास्तविक आत्मालाई प्रतिनिधित्व गर्छन् । उनीहरू चर्चामा आउन वा व्यक्तिगत गौरवका लागि होइन, आफ्नो व्यावसायिक जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा इतिहास रच्न पुगे । छ दिनभन्दा कम अवधिमा दुई फरक अन्तर्राष्ट्रिय टोलीलाई सगरमाथाको शिखरसम्म पुर्‍याउनु असाधारण सहनशक्ति र दक्षताको उदाहरण हो । बुबा-छोरा मिलेर यस्तो उपलब्धि हासिल गर्नु झन् प्रेरणादायी छ । ’

सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक गुरागाईंका अनुसार, दुई छोराका बुबासमेत रहेका छाङ्वाले नेपालसहित विदेशका विभिन्न हिमालहरूमा गाइड गर्दै ८ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालमा ३५ सफल आरोहण गरिसकेका छन् । अहिले उनी त्यो अनुभव र ज्ञान लाक्पालाई हस्तान्तरण गरिरहेका छन् ।वसन्तकालीन आरोहण सिजन समाप्तिपछि यतिबेला बुबा-छोरा काठमाडौं फर्किसकेका छन् ।

साभारः कान्तिपुर दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *