पूर्वपश्चिम लोकमार्गभित्रका ३१ हजार ५२९ वटा रुख काटिने

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

स्तरोन्नतिको चरणमा रहेको पूर्वपश्चिम महेन्द्र  राजमार्गको कमला–पथलैया खण्डको १३० किमी सडक दायाँबायाँका रुख व्यवस्थापनका लागि  स्वीकृति भएको छ । वन तथा भू संरक्षण विभागले असार २३ गते स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजना बमोजिम ३१ हजार ५२९ वटा रुख हटाउन गौरीडाँडास्थित कमला/ढल्केवर/पथलैया सडक आयोजनामा पत्राचार गरेको छ ।

पूर्वी खण्डका आयोजना प्रमुख छविलाल पौडेलका अनुसार रुख व्यवस्थापन हुन नसक्दा सडक स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको थिएन। यसका लागि आयोजनाले २ वर्षअघिदेखि प्रयास गर्दै आएको थियो । २०८१ सालमै वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) स्वीकृति भए पनि कटान आदेश बल्ल आएको हो ।

विश्व बैङ्कको १८ अर्ब ६० करोड ऋण सहयोगमा पूर्वी खण्डको सन २०२५ जनवरी १ तारिखदेखि कमला पुल पश्चिम,  धनुषा जिल्लाको बडहरी र सर्लाहीको फूलजोर गरी ३ ठाउँबाट एकै साथ स्तरोन्नतिको काम अघि बढाइएको छ ।

अहिले २ लेनको पूर्वपश्चिम महेन्द्र  राजमार्गलाई एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा  ‘मेडियन’ सहित १८ मिटर चौडाइको ४ लेनमा स्तारोन्नतीको कामका लागि ठेक्का सम्झौता भएको हो । यसका लागि कमला पुलदेखि बडहरीसम्म इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाले तथा दोस्रो र तेस्रोमा पर्ने बडहरी–फूल जोर र फूलजोर–बागमती खण्ड चाइनिज कम्पनी एसडब्ल्यु इजे र रखुवा कन्स्ट्रक्सन कम्पनी आरसिसी ज्वाईन्ट भेन्चरले काम अघि बढाइरहेका छन् ।

काम सुरु गरे पनि सडक क्षेत्राधिकारमा अनेकन् बाधा अड्चनले ठेकेदार कम्पनीहरू खिन्न छन् । आगामी सन २०२७ सम्म निर्माण सम्पन्न भइसक्नुपर्ने यस आयोजनाको ६ महिना बितिसकेको छ । यस अवधिमा न्यूनतम १५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने थियो । सडक मार्गमा रहेका रुख, पोललगएतका अवरोधले १० प्रतिशत मात्र काम भएको आयोजना प्रमुख पौडेलले बताए  ।

उनले भने  ‘निर्माणलाई गति दिन सडकछेउका रुखले सबैभन्दा बढी अवरोध गरेका छन् । रुखका कारण विद्युत् पोल व्यवस्थापनमा पनि समस्या आएको छ ।’

मूख्यत. रुखले गर्दा ठेकेदार कम्पनीहरूले सडक स्तरोन्नतिलाई थाती राख्दै नयाँ पुल निर्माणमा हात हालेका छन् । कमला–बागमती पूर्वी खण्डमा ३४ पुल र १०० वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा १५ पुल र १७ वटा कल्भर्टमा मात्र काम गर्न सकिएको छ ।

पौडेलले भने  ‘रुखका कारण डाइभर्सनलाई ठाउँ नपुग्दा बाँकी पुल र कल्भर्टको काम अघि बढाउन सकिएन ।’ लामो प्रतीक्षापछि विभागबाट आदेश आए पनि तत्कालै रुख कटान गर्न सकिने अवस्था देखिँदैन । मधेस प्रदेशका वन निर्देशक जगन्नाथप्रसाद जयसवालले कटान अघि रुखहरूमा टाँचा हान्ने लगायतका प्रक्रिया बाँकी रहेकाले थप केही समय लाग्ने बताए  ।

जयसवालले भने  ‘विभागबाट कटान आदेश आइसकेकोले आयोजना र सम्बद्ध जिल्ला वन अधिकृतहरू बिच छपान र कटानबारे छलफल गर्नुपर्छ । यसका लागि समय लाग्छ । छिटो टुङ्ग्याउने प्रयासमा छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *