मुस्ताङको घरपझोङ गाउँपालिका–४,जोमसोमस्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा निर्मित २२ फिटको शालिग्राम मूर्तिको प्राण प्रतिष्ठान गरिएको छ । दक्षिणाम्नाय शारदापीठ शृङ्गेरीका शंकराचार्य श्री विधुशेखर भारती सन्निधानमले दीप प्रज्वलन र फुलमाला चढाएर शालिग्राम शीलाको प्राण प्रतिष्ठान गरेका हुन ।
घरपझोङ गाउँपालिका र ललितकला प्रज्ञाप्रतिष्ठानको प्राविधिक सहयोगमा निर्मित शालग्रामको प्राण प्रतिष्ठान गदैं शंकराचार्य श्री विधुशेखरले विश्वभर कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीहरूले पवित्र मान्ने शालिग्रामको संरक्षणमा समुदायस्तरबाट भइरहेको प्रयासको प्रशंसा गरे ।
शालग्रामको महिमा,सभ्यता र शालग्राम लोप हुनबाट जोगाउने तथा जलसम्पदा, जंगल, जमिन, प्रकृति र पर्यावरण लगायत धार्मिक पर्यटन प्रर्बधन भित्राउन अभियानमा समेत शंकराचार्य श्री विधुशेखरले सघाउने प्रतिबद्धता जनाउनुभएको घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनले बताए ।
अध्यक्ष लालचनले भने , “अब भारतीय हिन्दु धर्मालम्बीको आगमन झनै बढ्ने अनुमान गरिएको छ, शालग्रामको संग्रालय नै बनाउने प्रयासमा छौं ।’’ कालीगण्डकी नदीमा मात्र पाइने कालो रङ्गको बाटुलो, चिल्लो शालिग्राम शिलाको चोरीनिकासीप्रति समेत शंकराचार्य श्री विधुशेखरले चासो देखाए ।
वैष्णव तथा अन्य सनातनीहरूले विष्णुको अवतारको रूपमा पुज्दै आएका शालिग्राम उपल्लो मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने गरेको छ ।
शालिग्रामको प्राण प्रतिष्ठान कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित सुरक्षा निकाय, स्थानीय धार्मिक संघसंस्थाका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो । धार्मिक भ्रमणका लागि नेपाल आएका शंकराचार्यले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिर, म्याग्दीको गलेश्वरधाम मन्दिर सहित विभिन्न शक्तीपीठमा पुगेर दर्शन गरे ।
