भेडाच्याङ्ग्राको मूल्य मुस्ताङमै ३५ हजार

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोर्सेरका आङ्ग्याल गुरूङले रोज्जा च्याङ्ग्रालाई ३५ हजारसम्ममा मुस्ताङमै बिक्री गरे  । नेपालीहरूको महान पर्व दशैंलाई लक्षित गरी ब्यापारी गोठमै पुगेपछि कृषक गुरूङले हातले उचाल्नै नसक्ने केही च्याङ्ग्रालाई ३८ हजारसम्म पारे  ।

करिब दुई दशकदेखि च्याङ्ग्रापालनमा सक्रिय गुरूङले डेढसय बिक्री गरिसकेका छन्  । थप डेढसय च्याङ्ग्रा बिक्री गर्न सदरमुकाम जोमसोम झरेका छन् । कृषक गुरूङले भन्रे , ‘‘ व्यापारीहरू गोठमै खोसाखोस गर्छन, मलाई बिक्री गर्न कुनै समस्या छैन, पाँच सय च्याङ्ग्रामा यस पटक तीन सय मात्र बिक्री गर्छु ।’’

विगतको तुलनामा च्याङ्ग्राको आकार हेरेर मुस्ताङमै मूल्य घटेकाले यसपटक बजारमा केही सस्तो हुने कृषक गुरूङको भनाइ छ । समग्रमा रोज्जा भेडाच्याङ्ग्रालाई मुस्ताङमै ३५ हजारमा बिक्री भइरहेको छ । उपल्लो मुस्ताङको लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका कृषकमार्फत स्थानीय व्यापारीले समेत खरिद गरेर छिमेकी जिल्ला म्याग्दीसहित बागलुङ, पर्वत र कास्कीसम्म लगेर बिक्री गर्ने गरेका छन् ।

तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) गुरूङले गोठबाटै डोल्पाका व्यापारी अमृत मगरलाई प्रतिच्याङ्ग्रा ३३ हजारमा बिक्री गरी घरमै २९ लाख ७० हजार नगदै बुझे । गोठमा रहेका केही च्याङ्ग्रा तिहारमा बिक्री गर्ने कृषक गुरूङले गोठबाठै ३० हजारभन्दा माथिको मूल्यमा च्याङ्ग्रा बिक्री हुँदा उत्साहित भएको बताए  ।

कृषक गुरूङले भने , ‘‘च्याङ्ग्राको माग अनुसारको उत्पादन हुँदैन, चरन क्षेत्रको अभावले समेत गोठ विस्तार गर्न सकिएको छैन ।’’ व्यापारी मगरले आफूले गोठमै आएर खरिद गरेकाले केही सस्तोमा पाएको बताए पनि जोमसोम बजार क्षेत्रमा कृषकले नै व्यापारीलाई ३५ हजारसम्म बिक्री गरेको बताउछन्।

सामान्यतः एउटा भेडाच्याङ्ग्रा जन्मेको दुईतीन वर्षपछि बेच्न लायक हुन्छ । दशैँलाई लक्षितगरी यसवर्ष मुस्ताङबाट मात्र १२ हजार बढी च्याङ्ग्रा निकासी हुने भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र मुस्ताङले जनाएको छ । मुस्ताङ बाहेक जुम्ला, डोल्पाबाट समेत ५ हजारभन्दा बढी भित्रिने अनुमान गरिएको छ ।

कोरला नाका व्यावसायिक रूपमा खुला भएकाले व्यापारीले अन्तिम समयमा यस क्षेत्रबाट समेत तिब्वती भेडाच्याङ्ग्रा भित्र्याउन सक्ने बताइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालयका अनुसार जिल्लाभरी एक सय कृषक सूचीकृत कृषकको गोठमा ५६ हजार च्याङ्ग्रा रहेकोमा मासुजन्य प्रयोजनका लागि सूचीकृत कृषक र सूचिकृत नभएका कृषकहरूले समेत भेडाच्याङ्ग्रा निकासी गर्ने भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. लालमणी अर्यालले बताए  ।

प्रमुख अर्यालले भने , ‘‘कृषक र व्यापारीको जमघट सुरू भएको छ, कृषकले आफ्नो चाहना अनुसारकै मूल्यमा व्यापारीलाई बिक्री गर्न पाउँछन्, हामीले स्वास्थ्य परीक्षण गरेर मात्र अर्को जिल्लामा पठाउँछौ ।’’ मुस्ताङमा कृषक र व्यापारीको खरिद–बिक्री हेर्दा यस पटक रोज्जा च्याङ्ग्राको मूल्य अन्तिम उपभोक्तासम्म पुग्दा ४० हजारसम्म बिक्री हुने अनुमान गरिएको छ ।

बजारमा व्यापारीले खरिद गरेको भेडाच्याङ्ग्राको मूल्य नियन्त्रणमा हस्तक्षेप नगरे झन आकाशिने देखिन्छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेशगरी जडीबुटी खाएर हुर्केकोे भन्दै स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने भएकाले रोज्जा च्याङ्ग्रा खरिद गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *