मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार मधेश प्रदेशसभाबाट विश्वासको प्राप्त गरेका छन् । मधेश प्रदेशमा सत्ता समिकरण फेरिएपछि मुख्यमन्त्री यादवले आज नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनका लागि प्रदेशसभामा पेश गरेका थिए ।
उक्त प्रस्तावमाथिको दलगत छलफल पश्चात सभामुख रामअशिष यादवले निर्णयार्थ पेश गर्दा प्रस्तावको पक्षमा ६२ मत र विपक्षमा ३६ मत प्राप्त भएको थियो । मुख्यमन्त्री यादवको पक्षमा परेका ६२ मत प्रदेशसभामा हाल कायम रहेको प्रदेश सभा सदस्यको संख्या १०३ को बहुमत रहेकाले सभामुख यादवले मुख्यमन्त्री यादवले मधेश प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा गरे ।
आजको वैठकमा जम्म १०० जना प्रदेशसभा सदस्य सहभागी रहेका थिए । मुख्यमन्त्री यादवले पेश गरेकाे प्रस्तावका पक्षमा नेकपा (एमाले) को २४, नेपाली काँग्रेसको २२, नेपाली कम्युनिष्ट पार्टीको १५ र नेपाल संघीय समाजवादी पार्टीकोे १ जना गरी ६२ जना प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएकोे हो ।
मुख्यमन्त्री यादवले प्रस्तुत गरेको प्रस्तावको विपक्षमा जसपा नेपाल, जनमत पार्टी र राप्रपा नेपालका प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए ।
