रूस-युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग पूर्व जर्मन चान्सलर मर्केलले कुरा गर्न सक्ने

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

रूस-युक्रेन युद्ध अन्त्य गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्नेबारे युरोपका राष्ट्रहरू छलफल गर्न थालेका छन्। पुटिनसँग वार्ता गर्न युरोपियन युनियन (इयु) ले जर्मनीकी पूर्व चान्सलर एङ्गेला मर्केल वा युरोपेली केन्द्रीय बैंकका पूर्व अध्यक्ष मारियो द्राघीलाई पठाउन सक्ने भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

सन् २०२२ मा पुटिनले युक्रेनमाथि आक्रमण गरेपछि, केही युरोपेली नेताहरूद्वारा गरिएका छिटपुट सम्पर्कका प्रयासबाहेक, इयुले रूससँगको औपचारिक सम्पर्क पूर्ण रूपमा बन्द गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा रूस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयास गरे पनि सफल हुन सकेको छैन। उनले रुसलाई फाइदा हुनेगरी सम्झौता गर्न हालेको दबाब युक्रेन र युरोपेली देशहरूले अस्वीकार गरेका थिए। केही महिना अघि इरानसँग युद्ध शुरू गरे पछि ट्रम्पको सम्पूर्ण ध्यान मध्यपूर्वमा भएकाले अमेरिकाले पनि अहिले मध्यस्थताको प्रयास गरिरहेको छैन।

यस्तोमा इयु आफैंले पुटिनसँग वार्ता गर्नेबारे छलफल थालेको हो। त्यसरी वार्ता गर्न अमेरिका र युक्रेन दुवैले सहमति दिएको पनि फाइनान्सियल टाइम्सले जनाएको छ। आगामी हप्ता साइप्रसमा बस्ने इयुको बैठकमा विदेश मन्त्रीहरूले सम्भावित उम्मेदवारहरूको योग्यता र सान्दर्भिकताका बारेमा छलफल गर्नेछन्।

द्राघी र मर्केल बाहेक फिनल्यान्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टब वा उनका पूर्ववर्ती साउली निनिस्तोलाई पनि सम्भावित वार्ताकार हुनसक्ने  छन्। इयुका २७ राष्ट्रिय नेताहरूको प्रतिनिधित्व गर्ने युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले सो विषयमा आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन कुराकानी गरेका थिए।

‘वार्तामा युरोप सहभागी हुनु पर्छ भन्नेमा हामी दुवै सहमत छौं। यो प्रक्रियामा युरोपको बलिया आवाज र उपस्थिति हुनु महत्वपूर्ण छ। र युरोपले कसले प्रतिनिधित्व गर्छ भनेर निर्धारण गर्नु पर्छ,’ कोस्टासँग कुरा गरेपछि जेलेन्स्कीले भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *