चुनावकै बेलादेखि प्रचार सामाग्रीबाट अध्यक्ष केपी शर्मा ओलीको फोटो हटाउन थालेको नेकपा एमाले र जनसंगठनहरूले अब अतिथि बोलाउन पनि छोडेका छन् ।
ओली नेतृत्वमा आएदेखि नै एमालेले गर्ने हरेक भेला,सभा वा कार्यक्रमका ब्यानर वा पोस्टरहरूमा उनको तस्वीर छुट्दैनथ्यो । प्रथम गोदावरी विधान महाधिवेशनमा त कार्यक्रमस्थलमा ओलीको ठुल्ठूला स्ट्याचुसमेत बनाइएको थियो । तर,गत आम निर्वाचनपछि टुटेको यो सिलसिला पछिल्ला दिनमा क्रमश: संस्थागत हुन थालेको देखिन्छ ।
कुनै समय ‘केपी बा’ आइ लभ यु को नारा लगाउँदै एस्कर्टिङमा हिंडाउने युवा-विद्यार्थीहरूले अब अतिथिका रूपमासमेत निम्त्याउन छोडेका छन् । यसैक्रममा राष्ट्रिय युवा संघले ३७ औँ स्थापना दिवसको अवसरमा भोलि आयोजना गर्न लागेको कार्यक्रममा आफ्नै सँस्थापक अध्यक्ष ओली प्रमुख अतिथि रहने छैनन् ।
युवा संघले भोलि र पर्सी छुट्टाछुट्टै कार्यक्रम गर्दैछ । जसअनुसार भोलि दौड प्रतियोगिता आयोजना हुँदैछ । ‘१०के-एनवाइएफएन रन’ नाम दिइएको सो प्रतियोगितामा अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर प्रमुख अतिथि रहने छन् । मानन्धरको ठूलो फोटोसहित ब्यानर बनाएर प्रचार प्रसार गरिएको छ ।केही वर्षयता संघले ओलीको नाममा ‘केपी ओली कप फुटबल’ र ‘केपी ओली कप क्रिकेट’ प्रतियोगिता आयोजना गर्ने गरेको थियो । प्रचार सामाग्रीमा पनि उनकै ठूलो फोटो राखिन्थ्यो भने उद्धघाटन र समापनमा प्रमुख अतिथि बनाइन्थ्यो ।
अनेरास्ववियु र युवा संघलाई एमालेको सबैभन्दा प्रभावशाली जनसंगठन मानिन्छ । अहिले एमालेको उपल्लो तहमा रहेका अधिकांश नेता र स्वयं अध्यक्ष ओली यी दुई संगठनकै उत्पादन हुन् । यो नाताले पनि अखिल र युवा संघले आयोजना गर्ने हरेक कार्यक्रममा ओलीलाई प्रमुख अतिथि बनाएर मञ्चमा आसन ग्रहण गराइने चलन स्थापितजस्तै थियो ।
केही वर्षयता संघले ओलीको नाममा ‘केपी ओली कप फुटबल’ र ‘केपी ओली कप क्रिकेट’ प्रतियोगिता आयोजना गर्ने गरेको थियो । प्रचार सामाग्रीमा पनि उनकै ठूलो फोटो राखिन्थ्यो भने उद्धघाटन र समापनमा प्रमुख अतिथि बनाइन्थ्यो ।
जेठ २ गते मदन-आश्रित दिवसको अवसर पारेर युवा संघले नै आयोजना गर्न लागेको ‘नागरिक संवाद’मा पनि अध्यक्ष ओलीको उपस्थिति रहने छैन । बरू कुनै समय ओलीको लखेटाइमा परेको भनिएका वरिष्ठ अधिवक्ता शम्भु थापालाई प्रमुख अतिथि बनाइँदै छ ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई,चर्चित मानवअधिकारवादी सुशील प्याकुरेललगायत पनि वक्ता छन् । यी दुई पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षधरका रुपमा चिनिएका एमाले समर्थक हुन् ।
यसअघि पार्टी स्थापना दिवसको कार्यक्रममा पनि ओलीको अनुपस्थितिमात्र होइन ब्यानरबाट फोटो पनि हटाइएको थियो । जबकि यसअघि यस्ता कार्यक्रममा उनका फोटा छपक्कै देखिन्थे ।
यसरी ओलीको उपस्थिति र फोटोबिनै कार्यक्रम हुन थालेपछि केही समयअघि सदाबहार सल्ल्लाकार विष्णु रिमालले पार्टीका हरेक कार्यक्रममा अध्यक्षबाहेक अरुको फोटो नराख्न सर्कुलर जारी गरेका थिए । तर,एमालेपंक्तिले त्यसलाई अस्वीकार गर्न थालेको यी घटनाले प्रष्ट्याउँछ ।
