विद्यालयमा १५ दिन बिदा कटौती

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदाको समय १५ दिन कटौती गरेको छ । हालसम्म एक शैक्षिक सत्रमा ४५ दिन दिइँदै आएको यस्तो बिदा यस शैक्षिक सत्रका लागि भने ३० दिनको मात्रै हुने छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) दिने निर्णय गर्दा पठनपाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।

मन्त्रालयको निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मङ्गलबार ७७ वटै शिक्षा, विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई पत्राचार गरेर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रीपरिषद्को गत चैत २२ गतेको बैठकले सरकारी बिदा एक सातामा दुई दिन दिने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका सन्दर्भमा केन्द्रले मङ्गलबार बिदा कटौतीसहित छ बुँदा समेटिएको परिपत्र गरेको छ ।

जस अनुसार विद्यालयमा प्रत्येक दिन प्रार्थना समय १५ मिनेट मात्रै कार्यान्वयन गर्ने, खाजा समय ३० मिनेट मात्रै छुट्याउने, सोमबारदेखि शुव्रmबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्ने रहेको छ । त्यस्तै पहिलो र दोस्रो त्रैमासमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठनपाठन भएकै दिन वा पठनपाठनलाई असर नपर्ने गरी व्यवस्थापन गर्ने तथा अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमको १२ दिनलाई छुट्याउन पनि केन्द्रले निर्देशन दिएको छ ।

सबैभन्दा धेरै ‘एनजी मधेशमा’ 

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा धेरै परीक्षार्थी मधेश प्रदेशमा अनुत्तीर्ण (ननग्रेडेड) भएका छन् । समग्रमा सबैभन्दा नराम्रो नतिजा पनि यही प्रदेशमा देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार सबैभन्दा थोरै गण्डकी प्रदेशमा अनुत्तीर्ण भएका छन् । तथ्याङ्क अनुसार कोशी प्रदेशमा ७२ हजार २५६ परीक्षार्थी रहेकामा २१ हजार ३६६ जना परीक्षार्थी ननग्रेडेड समूहमा परेका छन् । परीक्षामा सहभागी र अनुत्तीर्णको प्रतिशत हेर्दा अन्य प्रदेशको तुलनामा यो कम नै हो ।

मधेश प्रदेशमा ७६ हजार ३१७ जना परीक्षार्थी रहेकामा ३१ हजार ७२५ जना अनुत्तीर्ण भएका छन् । त्यस्तै बागमती प्रदेशबाट एसइईमा ९८ हजार ८१७ जना सहभागी भएकामा २१ हजार ७०४ जना मात्र अनुत्तीर्ण भएका छन् । सङ्घीय राजधानीसमेत रहेका जिल्ला भएको र तुलनात्मक रूपमा राम्रो मानिएका स्कुल पनि यही प्रदेशमा रहेका कारण यहाँको अनुत्तीर्ण दर अन्य प्रदेशको तुलनामा कम देखिएको हो ।

गण्डकी प्रदेशको नतिजा पनि तुलनात्मक रूपमा राम्रै देखिएको छ । यस प्रदेशबाट ३६ हजार ४९३ जना परीक्षामा सहभागी भएकामा नौ हजार ९४३ जना मात्रै अनुत्तीर्ण भएका छन् । सरोकारवालाले यस प्रदेशको नतिजालाई पनि राम्रै मानेका छन् । कर्णाली प्रदेशबाट ३२ हजार ३३६ जना परीक्षामा सहभागी भएकामा १३ हजार २४१ जना अनुत्तीर्ण भएका छन् । सुदूरपश्चिम प्रदेशबाट ४२ हजार २९९ जना परीक्षामा सहभागी भएकामा २० हजार ६३५ जना अनुत्तीर्ण भएका छन् ।

बोर्डले सोमबार साँझ सार्वजनिक गरेको नतिजा अनुसार कुल सहभागीमध्ये ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । राष्ट्रिय नतिजाको तुलनामा मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशको नतिजा तुलनात्मक रूपमा कम देखिएको छ । यस वर्ष देशभरबाट कुल दुई लाख ८४ हजार १६० जना उत्तीर्ण अर्थात् ग्रेडेड समूहमा परेका छन् । त्यस्तै एक लाख ४६ हजार ५०७ जना अनुत्तीर्ण अर्थात् ननग्रेडेड समूहमा परेका छन् । ननग्रेडेड समूहमा परेका परीक्षार्थीका लागि बोर्डले असार १ देखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले बताए । त्यस्तै अहिलेको नतिजामा चित्त नबुझेका परीक्षार्थीले जेठ १ देखि ७ गतेसम्म पुनर्योगका लागि निवेदन दिन सक्ने पनि बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *