बीपी राजमार्गमा यात्रा सास्ती नै सास्ती

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

एक समय थियो, जतिबेला मानिसहरू बीपी राजमार्गमा यात्रा गर्दा छुट्टै आनन्द महसुस गर्थे । सडकको सुन्दरता र त्यहाँको प्राकृतिक दृश्य देखेर फोटो खिच्नकै लागि मात्रै पनि टाढा–टाढाबाट मानिसहरू घण्टौँको यात्रा गरेर त्यहाँ पुग्ने गर्थे । तर, आज समय फेरिएको छ । त्यही आकर्षक सडकमा पाइला राख्दा अहिले यात्रुहरूको आङ सिरिंग हुन्छ । नेपालकै सबैभन्दा सुन्दर मानिने यो राजमार्ग अहिले खण्डहर र बगरमा परिणत भएको छ । दुई वर्षअघि रोशी खोलामा आएको बाढीले तहसनहस पारेको यो ‘लाइफलाइन’ अझै पूर्णरूपमा तंग्रिन सकेको छैन । यात्रुहरूले अझै कम्तीमा एक वर्ष यही जोखिमपूर्ण यात्रा गर्नुपर्ने निश्चित छ ।

संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो र महत्त्वपूर्ण बाटो हो, बीपी राजमार्ग । काठमाडौंबाट धुलिखेल, काभ्रे भञ्ज्याङ, भकुण्डे बेंसी, नेपालथोक, खुर्कोट, सिन्धुली हुँदै बर्दिबाससम्म पुगिने यो सडक पूर्व-पश्चिम राजमार्गसँग जोडिन्छ । तर, दैनिक करिब १० हजार सवारीसाधन गुड्ने यो बाटोमा अहिले सानो पानी पर्दा पनि यात्रु र चालकको मुटु ढुकढुक हुन्छ । अहिले बाटो पूर्णरूपमा बनिसकेको छैन ।

अस्थायी डाइभर्सन बनाएर खोलाकै बगरबाट जसोतसो गाडी गुडाउन थालिएको छ । तर, सडक खोलाको बहावमै भएकाले पहाडमा थोरै पानी पर्नेबित्तिकै बाढी आएर बाटो बगाइहाल्छ । गत साता मात्रै सामान्य वर्षा हुँदा रातारात यात्रुहरूलाई खोलाबाटै उद्धार गर्नुपर्ने दर्दनाक अवस्था सिर्जना भयो । बाढीले बाटो बगाएपछि लामो दूरीका सार्वजनिक यातायात, मालवाहक सवारी र निजी गाडीहरू काभ्रेको भकुण्डे र सिन्धुलीको नेपालथोक लगायतका ठाउँमा अलपत्र पर्ने गरेका छन् ।

अर्बौंको क्षति, सुस्त पुनर्निर्माण
१६० किलोमिटर लामो यो राजमार्ग जापान सरकारले झण्डै दुई दशक लगाएर निर्माण गरेको थियो । सन् १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी जापानले नेपाललाई यो सडक हस्तान्तरण गरेको थियो । परम्परागत रूपमा पहाडको भित्तो काटेर नभई नदी र पहाडको छेउमा पर्खाल उठाएर अत्यन्तै बलियो प्रविधिबाट यो बाटो बनाइएको थियो । निर्माण सम्पन्न भएको केही महिनामै आएको २०७२ सालको विनाशकारी भूकम्पको मारसमेत यसले सजिलै खेपेको थियो । तर, २०८१ साल असोज दोस्रो साता रोशी खोलामा आएको भयानक बाढीले भने यसलाई क्षणभरमै भत्काइदियो ।

उक्त बाढीले करिब ३० किलोमिटर सडकमा नराम्रो क्षति पुर्‍याएको थियो । सडक विभागका अनुसार झण्डै नौ किलोमिटर खण्ड त पूर्णरूपमै नामेट भएको छ भने अन्य खण्डहरू समेत गरेर करिब २५ किलोमिटर लम्बाइमा अहिले पुनर्निर्माणको काम भइरहेको छ । अहिले सिन्धुली र काभ्रेतर्फ गरी विभिन्न प्याकेजमा ठेक्का लगाएर सडकलाई दुई लेनको बनाउने काम अगाडि बढाइएको छ । तर, कामको गति हेर्दा यात्रुले निर्धक्क भएर यात्रा गर्न अझै धेरै कुर्नुपर्ने देखिन्छ ।

यो राजमार्गलाई पुरानै अवस्थामा फर्काउन करिब साढे आठ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमध्ये दुई अर्ब ६० करोड रुपैयाँ जापान सरकारले अनुदान दिने सम्झौता भइसकेको छ । सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार करिब तीन किलोमिटर अत्यन्तै कठिन खण्डमा जापानी संस्था जाइका आफैँले काम गर्दै छ ।

यसका लागि जापानी ठेकेदारहरू नेपाल आइसकेका छन् । बाँकी भागमा भने विगत छ-सात महिनादेखि नेपाली ठेकेदारहरूले नै काम गरिरहेका छन् । यति ठूलो बजेट र जनशक्ति लाग्दा पनि हालसम्म कुल कामको बल्ल २० प्रतिशत (पाँच भागको एक भाग) मात्र सकिएको छ । सिन्धुलीतर्फको करिब पाँच किलोमिटर खण्डमा ३५ प्रतिशत काम सकिएको सडक डिभिजन खाल्टेका सूचना अधिकारी इञ्जिनियर सुदर्शन उप्रेतीले बताउनुभयो । काभ्रेतर्फ पनि तीनवटा प्याकेजमा काम भइरहेको छ । सबै काम सकेर २०८४ साल असार मसान्तसम्ममा सडक पूरै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

विकल्पहीन सडक, यात्रुलाई सास्ती

बीपी राजमार्ग बन्द हुँदा यात्रुले कतिसम्म दुःख पाउँछन् भन्ने कुरा गत वर्षको वर्षायामले प्रष्ट पारिसकेको छ । बाटो बन्द हुँदा यात्रुहरू धुलिखेल, दोलालघाट, चरिकोट, किर्नेटार हुँदै मन्थली रामेछापबाट सित्खापुल तरेर खुर्कोट निस्कन बाध्य भएका थिए । दोब्बर भाडा तिरेर तय गरिने यो वैकल्पिक सडक ज्यादै साँघुरो र जोखिमपूर्ण छ ।

बीपी राजमार्गको भरपर्दो र छोटो विकल्प नहुँदा अब पूर्व जाने र आउने सम्पूर्ण सवारी साधनहरूको चाप नागढुंगा-मुग्लिन सडकमा पर्ने निश्चित छ । उता नागढुंगा-नौबीसे-मुग्लिन खण्डमा पनि सडक विस्तारको काम धमाधम भइरहेकाले त्यहाँ पनि जाम र सास्ती उस्तै छ । यसले गर्दा राजधानी भित्रिने र बाहिरिने यात्रुहरू चारैतिरबाट मारमा परेका छन् ।

मनसुन नजिकिँदै छ र यस वर्षको वर्षायाम यात्रुहरूका लागि झनै कष्टकर हुने स्पष्ट छ । विशेषगरी काभ्रेको रोशी क्षेत्र राजमार्गकै सबैभन्दा जोखिमयुक्त खण्ड बनेको छ । प्रहरी र जिल्ला प्रशासन कार्यालयले मौसमको अवस्था हेरेर पटक–पटक सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक यो बाटो नहिँड्न आग्रह गरिरहेका छन् । यात्रा गर्नैपरे सडकको अवस्था बुझेर वा १०० र १०३ नम्बरमा सम्पर्क गरेर मात्र अघि बढ्न प्रहरीको सुझाव छ ।

यता, निर्माण कार्यमा पनि चुनौती थपिएका छन् । सडक विभागका महानिर्देशक जैसीका अनुसार मध्यपूर्वमा देखापरेको संकटका कारण निर्माण लागत बढिरहेको र सामग्रीको अभाव हुन थालेको गुनासो ठेकेदारहरूबाट आउन थालेको छ । यद्यपि, समयमै सडकको काम सक्ने विभागको जोड छ । तलको सतह सुरक्षित गरेर भित्तोतिर उठाइँदै गरेको नयाँ सडकमा गाडी चलाउन पाएपछि समस्या कम हुने आशा अधिकारीहरूले व्यक्त गरेका छन् ।

पूर्वी नेपाललाई राजधानीसँग जोड्ने यो मुख्य नाडी यसरी चुँडिएको अवस्थामा सरकार र निर्माण कम्पनीले युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता छ । नत्र भने, सडक मर्मतको पर्खाइमा यात्रुहरूले खोलाको भेलसँग पौँठेजोरी खेल्दै ज्यान हत्केलामा राखेर यात्रा गरिरहनु पर्ने बाध्यता हट्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *