इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तमा रहेको माउन्ट डुकोनो ज्वालामुखी विस्फोट हुँदा तीन जना पदयात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान भएको आकस्मिक प्राकृतिक विपत्तिमा एक सिंगापुरका नागरिक र एक इन्डोनेसियाली नागरिकको मृत्यु पुष्टि भएको सीएनएनले जनाएको छ । घटनाको समयमा क्रेटर (ज्वालामुखीको मुख) नजिकै २० जनाको समूह पदयात्रा गरिरहेको थियो, जसमा नौ विदेशी र ११ स्थानीय नागरिक सामेल थिए ।
१७ जनालाई सुरक्षित स्थानमा सारिएको छ । टर्नेट खोज तथा उद्धार कार्यालयका प्रमुख इवान रामदानीले साँझ ६ बजेसम्मको अपडेट दिँदै मृतक तीन जनाको शव अझै पहाडमै रहेको र खराब मौसम तथा रात परेका कारण खोजी कार्य स्थगित गरिएको समाचारमा उल्लेख छ ।
