इरान–अमेरिकाबीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड (कच्चा तेल) को भाउ ११ प्रतिशतले झरेको छ । मंगलबार उच्चतम विन्दुमा १०९.८७ डलर प्रतिब्यारेल कारोबार भएको अन्तर्राष्ट्रिय ब्रेन्ट क्रुड बुधबार अन्तर्राष्ट्रिय न्यून विन्दुमा ९७.४८ डलर प्रतिब्यारेलमा कारोबार भयो । यूएस वेस्ट टेक्सास इन्टरमिडियट क्रुड ११.३ प्रतिशतले घटेर ९०.७४ प्रतिब्यारेलमा कारोबार भयो ।
‘हर्मुजको जलमार्ग चाँडै खुल्ने आशा बढेको छ । सायद तेहरानले त्यहाँबाट जाने जहाजहरूसँग कर पनि उठाउँदैन होला । तर जहाजहरूको आवागमन सामान्य हुन र व्यापारले रफ्तार लिन महिनौं लाग्न सक्छ,’ बेलायती कम्पनी ट्रेड नेसन्सका वरिष्ठ बजार विश्लेषक डेभिड मोरिर्सनले गार्डियनसँग भने । हर्मुज जलघाँटीको संकटले विश्व बजारमा कच्चा तेल, प्राकृतिक ग्यास, रासायनिक मल, पेट्रोकेमिकल्स (प्लास्टिक/प्याकेजिङ), इलेक्ट्रोनिक्स कम्पोनेन्ट्सलगायत आधारभूत वस्तुहरूको संकट छ । एसियाली बजारमा देखिएको रासायनिक मलको संकटले चाँडै नै खाद्यान्न असुरक्षा र भोकमरी बढाउने चेतावनी संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले दिइसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेशमन्त्री मार्को रुबियो र इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका पछिल्ला अभिव्यक्तिहरूले दुई देश सहमतिनजिक रहेको संकेत गरेको छ । यससँगै एउटा ठूलो संकटबाट विश्वले मुक्ति पाउन सक्छ । अमेरिकाले इरानसँगको युद्ध अन्त्यका लागि एक पृष्ठ लामो १४ बुँदे दस्ताबेज प्रस्ताव तयार गरेको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ । दस्ताबेजबारे पश्चिम एसियाका अमेरिकी दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जरेद कुस्नरले इरानी अधिकारीहरूसँग प्रत्यक्ष र मध्यस्थकर्तामार्फत छलफल गरिसकेको एक्सियोसको समाचारमा उल्लेख छ ।
एक्सियोससँगको कुराकानीमा दुई अमेरिकी अधिकारीहरूले युद्ध अन्त्यपछि विस्तृत आणविक सम्झौताका लागि नयाँ फ्रेमवर्क तयार गरिने बताएका छन् । घटनाबारे जानकार थप दुई स्रोतले यसको पुष्टि गरेको एक्सियोसले जनाएको छ । दुवै पक्ष सम्झौताको नजिक पुगेको विश्लेषण एक्सियोसको छ । ‘अहिलेसम्म कुनै पनि विषयमा सम्झौता भइसकेको छैन । तर, दुवै पक्ष युद्ध अन्त्यको सम्झौतामा यति नजिक पुगेको यो पहिलो पटक हो,’ एक्सियोसमा उल्लेख छ । इरानले आणविक संवर्द्धन कार्यक्रम स्थगित गर्ने तथा अमेरिकाले इरानको रोक्का सम्पत्ति खुला गरिदिने विषय सम्झौतापत्रमा उल्लेख हुन सक्ने समाचारमा उल्लेख छ । त्यस्तै, हर्मुजको जलमार्ग क्रमशः खुकुलो गर्दै ३० दिनभित्र पूर्ण रूपमा खुला गर्ने प्रस्ताव गरिएको समाचारमा उल्लेख छ ।
बुधबार अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले ह्वाइट हाउसमा प्रेस ब्रिफिङका दौरान इरानसँगको लडाइँ अन्त्य भएको बताएका थिए । त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत अमेरिकाको प्रस्तावमा इरानले सहमति जनाए युद्ध अन्त्य हुन सक्ने बताएका थिए । तर, इरानले सर्तहरू स्वीकार नगरे अमेरिकाले फेरि तीव्र आक्रमण गर्ने चेतावनी पनि उनले दिएका थिए ।
प्रेस ब्रिफिङका दौरान रुबियोले हर्मुजको जलमार्ग हुँदै जहाजहरूलाई निर्बाध आवागमन गराउनु अबको प्राथमिकता राखेको बताए । एकै दिनमा सबै सहमति जुट्न नसक्ने उनले बताए । ‘हामीले सबै सहमति एकै दिनमा गर्नुपर्छ भन्ने छैन,’ उनले भनेका थिए, ‘यो निकै कठिन र प्राविधिक विषय हो । तर हामीले कूटनीतिक समाधान निकाल्नुपर्छ ।’ रुबियोले इरानका केही शीर्ष नेताहरू मूर्ख रहेको आरोप पनि लगाएका थिए । उनीहरूले वार्ता गर्छन् वा गर्दैनन् भन्ने विषय अस्पष्ट रहेको पनि उनले बताए ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा सोमबार हर्मुज जलमार्ग खुलाउन अमेरिकी सेनाले ‘अपरेसन फ्रिडम’ सुरु गरेको थियो । जसअनुसार हर्मुज पार गर्ने व्यावसायिक जहाजहरूलाई अमेरिकी सेनाले एस्कर्टिङ गर्ने उल्लेख थियो । इरानले यस कदमको निन्दा गर्दै हर्मुज पार गर्न खोज्ने जहाजमाथि आक्रमण गरिने जनाएको थियो । तर, मंगलबार ट्रम्पले इरानसँग वार्तामा राम्रो प्रगति भएको भन्दै यो अपरेसन रोकिएको घोषणा गरे ।
ट्रम्प र रुबियोको घोषणापछि इरानले सकारात्मक जवाफ फर्काएको छ । सामाजिक सञ्जाल एक्समार्फत इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी धम्की र आक्रमणको भाषा बन्द भएपछि नयाँ मापदण्डहरूसहित हर्मुज खुल्ने घोषणा गरेको छ । आवागमनका क्रममा इरानका नियमहरू पालना गरेको भन्दै जहाजका क्याप्टेन र मालिकहरूलाई आईआरजीसीले धन्यवाद दिएको छ ।
२८ फेब्रुअरीमा अमेरिकाले इरानमाथि आक्रमण गरेसँगै इरानले हर्मुजमा अवरोध गर्दै आएको छ । दुई देशबीच पाकिस्तानको मध्यस्थतामा ८ अप्रिलमा युद्धविराम भए पनि हर्मुज क्षेत्रमा तनाव जारी छ । दुई दिन लामो प्रत्यक्ष वार्ता असफल भएपछि १२ अप्रिलमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी जलसेनालाई हर्मुजमा नाकाबन्दी गर्न आदेश दिएका थिए । इरानी बन्दरगाहमा आवतजावत गर्ने व्यावसायिक तेलका ट्यांकरहरूलाई खोजेर कारबाही गर्न उनले आदेश दिएका थिए । त्यसयता, हर्मुजमा दोहोरो नाकाबन्दी छ ।
विश्वको झन्डै २० प्रतिशत कच्चा तेल तथा ग्यास आपूर्ति हुने मार्गमा दुई महिनाभन्दा लामो समयदेखि देखिएको अवरोधले पश्चिम एसियाका साउदी अरेबिया, यूएई, कतारलगायत देशहरूको तेल व्यापार नराम्ररी प्रभावित भएको छ । त्यस्तै, विश्वभर नै तेल, प्राकृतिक ग्यास तथा रासायनिक मलको संकट उत्पन्न भएको छ । अमेरिकी नाकाबन्दीपछि इरानको अर्थतन्त्र पनि नराम्ररी प्रभावित छ ।
दुवै पक्षले युद्धविराम कायम रहेको बताए पनि एकअर्कालाई दबाबमा राख्ने गरी सैनिकहरूलाई अरेबियन सागरस्थित जल क्षेत्रमा तैनाथ गरेका छन् । पछिल्ला केही साता दुई देशबीच वार्ताको प्रयास र मुडभेड एकसाथ चलिरहेको थियो । अप्रिलको अन्तिम साता इरानी विदेशमन्त्री अब्बास अराग्ची वार्ताका लागि इस्लामाबाद भ्रमणमा पनि गएका थिए । त्यसबेला अमेरिकाले पश्चिम एसिया दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जरेद कुस्नरलाई इस्लामाबाद पठाउने तयारी गरेको थियो । तर, इरानले सिधा वार्ता नगर्ने बताएपछि ट्रम्पले अन्तिम अवस्थामा उनीहरूको भ्रमण रद्द भएको घोषणा गरेका थिए । अमेरिकाले गत सोमबार मात्रै ७ वटा इरानी जलसेनाको डुंगालाई डुबाइएको दाबी गरेको थियो । उक्त घटनाको निन्दा गर्दै इरानले जलसेना नभएर सर्वसाधारण चढेको डुंगामा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको थियो ।
के–के छन् प्रस्तावमा ?
पछिल्लो अमेरिकी प्रस्तावमा युद्ध अन्त्य घोषणा गरिने, इरानको आणविक कार्यक्रम स्थगित गर्नेलगायत विषय उल्लेख भएको अमेरिकी अधिकारीहरूले एक्सियोससँग बताएका छन् । इरानले ४८ घण्टाभित्र यस प्रस्तावमा सहमति दिने अमेरिकाको अपेक्षा छ । यस सम्झौतामा अन्तिम हस्ताक्षर पाकिस्तानको इस्लामाबाद वा स्विट्जरल्यान्डको जेनेभामध्ये एक स्थानमा हुन सक्ने स्रोतले जनाएको छ । युरेनियम संवर्द्धनबारेको प्रस्तावमा तीन वटा स्रोतले फरक–फरक जानकारी दिएको एक्सियोसले जनाएको छ ।
दुई स्रोतका अनुसार कम्तीमा १२ वर्षसम्म यसलाई स्थगित गरिने व्यहोरा सम्झौतापत्रमा उल्लेख छ । एक स्रोतले १५ वर्षको समयसीमा निर्धारण भएको दाबी गरेको छ । यसअघि इरानले ५ वर्ष र अमेरिकाले २० वर्षसम्म आणविक कार्यक्रम स्थगित गर्नुपर्ने माग गरेका थिए । स्रोतका अनुसार स्थगन अवधि अन्त्यपछि इरानले ३.६७ प्रतिशतको न्यून दरमा युरेनियम संवर्द्धन गर्न सक्छ । विज्ञहरूले यो स्तरमा गरिएको युरेनियम संवर्द्धन ऊर्जा प्रयोजनमा मात्रै सीमित हुने र यसले आणविक हतियार नबन्ने भएकाले कुनै जोखिम नरहने बताउँदै आएका छन् ।
चीन भ्रमणअघि नै युद्ध टुंग्याउने पक्षमा थिए ट्रम्प
बुधबार इरानी विदेशमन्त्री अब्बास अराग्चीले चिनियाँ समकक्षी वाङ यीसँग भेटेका थिए । त्यसक्रममा यीले तत्कालै विस्तृत युद्धविराम आवश्यक रहेको बताएका थिए । ‘घृणाको निरन्तरता स्वीकार्य छैन र सहमति तथा संवादमा कायम रहिरहन दुवै पक्ष प्रतिबद्ध हुन जरुरी छ,’ यीले भनेका थिए ।
राष्ट्रपति ट्रम्प १४ र १५ मेमा चिनियाँ समकक्षी सी चिनफिङसँग भेट्न बेइजिङ जाने कार्यक्रम छ । त्यसअघि नै ट्रम्पले इरानसँगको युद्धलाई टुंग्याउन चाहेका छन् । ‘इरानमा युद्ध समाप्त नहुनु भनेको बेइजिङसँगको वार्तामा अमेरिकाको हात तल पर्नु हो,’ स्रोतलाई उद्धृत गर्दै सोमबार अमेरिकी सञ्चारमाध्यम सीएनएनले लेखेको थियो ।
‘ट्रम्पको भ्रमण अन्य राष्ट्रपतिजस्तो होइन । ट्रम्पको कार्यकालले विश्व व्यवस्थामा ठूलो प्रभाव पार्ने देखिन्छ र अहिल्यै पनि अमेरिकाले आफ्ना स्वार्थलाई हेर्ने दृष्टिकोण उनले परिवर्तन गरिसकेका छन्,’ एक चिनियाँ अधिकारीले सीएनएनसँग भनेका थिए, ‘उनको भ्रमणको असफलता वा असफलताले चीन र अमेरिकाबीचको सम्बन्धमा दीर्घकालीन प्रभाव पार्नेछ । यसपछि डेमोक्रेट्स वा रिपब्लिकन जोसुकै सत्तामा आए पनि यस भ्रमणको अर्थ महत्त्वपूर्ण हुनेछ ।’
चीनले अमेरिकासँग धेरै वटा विषयमा सहमति गर्न चाहेको भए पनि इरान संकटले चीनको योजना र अपेक्षाहरूमा गम्भीर अवरोध सिर्जना गरेको बेइजिङ फरेन स्टडिज युनिभर्सिटीका अन्तर्राष्ट्रिय मामिला अध्येता कुई होङजियानले सीएनएनसँग बताएका थिए । ‘चीनको विदेश नीतिको एउटा स्पष्ट अडान छ ः चीन–अमेरिका सम्बन्ध महत्त्वपूर्ण छ । चीन–अमेरिका सम्बन्ध स्थिर भयो भने यसले अन्य देशहरूसँगको चीनको सम्बन्ध पनि स्थिर गर्छ वा पहिलेभन्दा अझै राम्रो बनाउँछ,’ कुईले सीएनएनसँग भने, ‘तर चीन–अमेरिका सम्बन्धमा आफ्नो निकट साझेदार इरान बीचमा आउँदा बेइजिङलाई गाह्रो भएको थियो ।’
अस्ट्रेलियाको डिकिन विश्वविद्यालयमा पश्चिम तथा मध्य एसियाली राजनीतिका प्राध्यापक साहराम अकबरजादेहले अमेरिकामा युद्धविरुद्ध जनआक्रोश बढ्दै गएको पृष्ठभूमिमा ठ्याक्कै कुन कारणले ट्रम्पले युद्ध अन्त्य रोजे भनेर निर्धारण गर्नु कठिन हुने बताए । अमेरिकी बजारमा पेट्रोल तथा अत्यावश्यक सामग्रीमा देखिएको मूल्य वृद्धिले उपभोक्ता आजित भइसकेका थिए । यसअघि गत साता संसदीय सुनुवाइका क्रममा युद्ध मामिलामन्त्री पिट हेग्सेथले अमेरिकाले २५ अर्ब डलर इरान युद्धका दौरान खर्च गरेको बताएका थिए । उनले ठूलो खर्च हतियार र उपकरण मर्मतमा भएको दाबी गरेका थिए । तर, डेमोक्रेटिक पार्टीका सांसद तथा अमेरिकी अर्थशास्त्रीहरूले अमेरिकी जनताले भोगेको मूल्य वृद्धि तथा अर्थतन्त्रमा देखिएको प्रभावलाई समेत जोड्दा खर्च निकै ठूलो पुग्ने दाबी गरेका थिए ।
अमेरिका–इजरायल आक्रमणले इरानमा कम्तीमा ३५ सय र इजरायलको आक्रमणमा परेर लेबनानमा कम्तीमा २७ सय जनाले युद्ध सुरु भएयता ज्यान गुमाइसकेको सम्बन्धित देशका अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युद्धका दौरान इरानले पश्चिम एसियास्थित अमेरिकी सैन्य पूर्वाधार तथा तेल खानीहरूमा आक्रमण गरेको थियो । जसक्रममा १३ जना अमेरिकी सैनिकको मृत्यु तथा ३ सय ५० भन्दा धेरै घाइते भएका थिए । इजरायलमा कम्तीमा २४ जनाले यस युद्धमा ज्यान गुमाएका छन् । ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन् । (अन्तराष्टि्य एजेन्सीहरूको सहयोगमा)
