E=mc2 भौतिक विज्ञानको यो सूत्र कतै सुन्ने/देख्नेबित्तिकै सम्पूर्ण संसारले अल्बर्ट आइन्स्टाइनलाई सम्झन्छ । यो प्रसिद्ध सूत्रले पिण्ड (mass) र ऊर्जा एउटै चीजका दुई फरक रूप हुन् भन्ने देखाउँछ । यहाँ इको अर्थ ऊर्जा, एमको अर्थ पिण्ड र सीको अर्थ प्रकाशको गति हो अर्थात सानो मात्राको पिण्डलाई धेरै ठूलो मात्रामा ऊर्जामा रूपान्तरण गर्न सकिन्छ भन्ने हो । आइन्स्टाइन महान् व्यक्ति हुन् ।
विश्वप्रसिद्ध हाँस्य अभिनेता चार्ली च्याप्लिन पनि महान् व्यक्ति हुन् । उनले अभिनय क्षेत्रमा पाइला टेक्दा विश्वमा बोल्ने चलचित्र बनेकै थिएन । त्यसैले उनलाई विश्वको पहिलो सुपरस्टार मानिन्छ । यसको श्रेय उनको चर्चित पात्र ‘लिटल ट्रम्प’ लाई जान्छ । यो भूमिका धेरै चलचित्रमा निभाए । पछि उनैको लेखन र निर्देशनमा सन् १९१५ मा ‘दि ट्रम्प’ चलचित्र पनि बन्यो ।
यो पात्रमा हास्यब्यंग्य, मार्मिक अनि भावनात्मक गहिराइको अद्भूत सम्मिश्रण हुन्थ्यो, जुन भूमिकाले उक्त युगमा सबैखाले दर्शकलाई प्रभावित पार्यो । उनको असाधारण मुक अभिनय, सिर्जनशील चलचित्र निर्माण र गरिबी पार गरेको एक साधारणको सरल स्वाभावले उनलाई विश्वव्यापी रूपमा लोकप्रिय बनायो ।
सन् १९३१ मा लस एञ्जलसमा ‘सिटी लाइट्स’ चलचित्रको प्रिमियर शो थियो । जसको लेखन, निर्माण र निर्देशन च्याप्लिन आफैँँले गरेका थिए । मुख्य कलाकार पनि आफैँ थिए । कार्यक्रमलाई भब्य बनाउन त्यसबेला अमेरिकामै रहेका आइन्स्टाइन र उनकी पत्नी एल्सालाई विशेष पाहुनाको रूपमा निम्त्याए ।
आइन्स्टाइन च्यापलिनको अभिनय क्षमताबाट अत्यन्त प्रभावित थिए भने च्याप्लिन पनि भौतिक विज्ञानमा आइन्स्टाइनको नयाँ खोजबाट उत्तिकै दंगदास । च्याप्लिनले हाकाहाकी भनेका थिए – ‘मेरो चलचित्रको प्रिमियर शोमा कोही पाहुना बन्छन् भने अल्बर्ट आइन्स्टाइन मात्र, म हलिउडका कसैलाई पाहुना बनाउँदिन ।’
विश्वका दुई महान् व्यक्तित्वहरूको भेटघाट हुने हल्लाले लस एन्जलस शहर पुरै तात्यो । आइन्स्टाइन दम्पतीलाई स्वागत गर्न सडकको दायाँबायाँ करिब ३० हजारको भीड उर्लियो । जब उनीहरू सभाहलमा पुगे, च्यापलिनले जोशिलो पाराले हात मिलाएर स्वागत गरे । रंगमञ्च, चलचित्र र कलाकारहरू बारे अत्यन्त चासो राख्ने आइन्स्टाइनले पूरै सिनेमा हेरे । शो सकिएपछि च्यापलिनको अभिनयको प्रशंसा गरे । विश्वका दुई महान व्यक्तित्वले कुराकानीको क्रममा कला र विज्ञानसम्बन्धी धारणा साँटासाट गरे ।
आइन्स्टाइनले भने – ‘तपार्ईंंको कलामा मलाई सबैभन्दा बढी मन पर्ने तपार्ईंंको सर्वब्यापकता हो । एक शब्द बोल्नु हुन्न, तैपनि तपार्ईंंलाई सबैले सजिलै बुझ्छन् । ‘
च्यापलिन – ‘कुरो ठीक हो । तर, तपार्ईंंको प्रसिद्धी मेरोभन्दा बढी छ । संसार तपार्ईंंको प्रशंसा गर्छन् जबकि कसैले तपार्ईंंको कुरो बुझेकै हुंदैन ।’
उक्त भेटघाटपछि दुबैबिच गहिरो मित्रता बस्यो । च्यापलिनले आइन्स्टाइन दम्पतीको सम्मानमा रात्रिभोजको आयोजन गरे । उनको योजना आइन्स्टाइनलाई अमेरिकी मिडिया टाइकुन विलियम राण्डोल्फ हस्र्टसित परिचय गराउने थियो । तर, आइन्स्टाइन त्यो समय आफूद्वारा प्रतिपादित सिद्धान्तको ब्याख्या गर्ने मूडमै थिएनन् ।
रात्रिभोजको रौनक हराएपछि हस्र्ट मौन बस्दै प्लेटमा राखिएको मिठाइसित खेल्न थाले । वातावरण नमिठो बन्दै गएपछि हस्र्टकी पत्नी हाँस्यकलाकार मरियम डेबिसले आइन्स्टाइनको गुजुमुज्ज परेको कपालमा औंला घुसार्दै ठट्टा गरिन् ‘तपार्ईंं कहिले कपाल काट्नु हुन्छ ?’
मरियमको कुरो सुनेर सबैजना गललल हाँसे । त्यसपछि बल्ल आइन्स्टाइन खुलेर कुरा गर्न थाले । तर,पनि, उक्त रात्रिभोज च्यापलिनले सोचेजस्तो फलिफापपूर्ण भने भएन । अमेरिका बसुञ्जेल आइन्स्टाइन बरोबर च्यापलिनको घरमा गए । उनी पहिलोपटक सन् १९२१ मा अमेरिका पुगेका थिए भने दोश्रोपटक सन् १९३० मा । त्यहाँ बसुञ्जेल यहुदी समाजमा भुले । अधिकांश समय् यहुदीहरूको बिभिन्न संगठनले आयोजना गर्ने भेला–सभाहरूमा प्रवचन दिंदैमा बित्यो । सन् १९३२ मा युरोप फर्के ।
आइन्स्टाइन युरोप पुगेको १ महिनापछि च्यापलिन म्युनिखस्थित उनको घर पुगे । लामो गफ गरे । यो भ्रमणपश्चात मित्रता झन् घनिष्ठ बन्यो । लगत्तै जर्मनीमा नाजी पार्टीको उदय भयो । यहुदीमाथि दमनचक्र चलाइयो । यहुदी भएकैले आइन्स्टाइन पनि डराए । परिवारसहित अमेरिकातिर भागे । बाँकी जीवन त्यहीं बित्यो ।
आइन्स्टाइन गणितमा अब्बल थिए । १६ वर्षको उमेरमा ज्युरिचको पोलिटेक्निक कलेजमा पढ्छु भनेर प्रवेशपरीक्षा दिन गए । गणित र विज्ञान बाहेक सबै विषयमा अनुत्तिर्ण भए । फ्रेञ्च भाषा, प्राणीशास्त्र र वनस्पति विज्ञानमा त अत्यन्तै कम अंक ल्याए । धेरैको दावी छ, मर्नुअघि उनले मृत्युपछि मेरो शरीरमाथि अनुसन्धान गर्न नदिनु, चुपचाप त्यस्तो स्थानमा गाड्नु जहाँ आसपास कोही नहुन् भनेका थिए । तर, यो कुरो जर्मन भाषामा भनिएकाले उनको सेवामा खटिएकी नर्सले बुझिनन् ।
नतिजा, सन् १९५५ मा जब मृत्यु भयो, परिवारलाई जानकारी नदिइकनै पोष्टमार्टमको दौरान डाक्टर थोमस हार्भेले उनको मस्तिष्क र आँखाको नानी झिकिदिए । उनले उक्त मस्तिष्क ४० वर्षसम्म राखे, २ सय ४० टुक्रा पारेर अध्ययनको विषय बनाए । आँखाको नानी भने नेत्ररोग बिशेषज्ञ हेनरी अब्राहमलाई दिए । सन् २०१० मा बल्ल उनले मस्तिष्कको बचेको टुक्रा मेरिल्याण्डस्थित राष्ट्रिय स्वास्थ्य तथा चिकित्सा संग्रहालयलाई हस्तान्तरण गरे ।
आइन्स्टाइन सिगारको शौखिन थिए । एकपटक डुँगामा सयर गर्दैगर्दा पिउँदै गरेको सिगार पानीमा खस्यो । ठूलो मिहिनेत लगाएर खोजे । सिगार त पिउन नमिल्ने गरी पुरै भिजिसकेको थियो, यसको बावजुद सिगारको पाइपलाई भने बचाए । उनी मोन्ट्रियल स्मोकर क्लबका आजीवन सदस्य थिए । अन्तिमसमयमा स्वास्थ्यको कारण धुम्रपान गर्न दिइएन । तर, सिगारको तलतल मेटाउन उनी खालि पाइप मात्र भए पनि मुखमा हालिराख्थे । उनी भन्थे– ‘धुम्रपानले सही निष्कर्षमा पुग्न र सांसारिक वा व्यावहारिक मामिला समाधान गर्न एक हदसम्म मद्धत गर्छ ।’
उनी राम्रो नतिजा निकाल्नुपर्छ भनेर १० घण्टा सुत्थे । तल्लो दर्जाको संगीतकार थिए । चार्ली च्याप्लिनको जीवनीमा आइन्स्टाइनको संगीतप्रतिको प्रेमसम्बन्धी चर्चा छ । पुस्तकमा आइन्स्टाइन किचेनमा गएर भ्वाइलिन बजाउँथे भन्ने उल्लेख छ । बाल्यकालदेखि बुढेशकालसम्म उनले साथमै राखेको आफ्नो भ्वाइलिनको नाउँ थियो ‘लीना’ ।
फुर्सदमा मोजार्टको संगीत सुन्न रुचाउँथे । यसको अर्थ उनमा संगीतप्रति ठूलो लगाव थियो तर ज्ञानको भने अभाव थियो । कहिलेकाहीँ गन्यमान्य व्यक्तिहरूकोसामु बडो आत्मविश्वासको साथ बेसुरा भ्वाइलिन बजाइरहन्थे । कोहीकोही उनलाई हौसला दिन वाहवाह भनिराख्थे भने कोही हाँसिरहन्थे । पत्नी एल्सा लोवन्थल भने सधैं तारिफ नै गर्थिन् ।
सन् १९४८ मा यहुदीहरूको छुट्टै मुलुक इजरायल बन्यो । इजरायलको निर्माण र निर्माणपश्चात मान्यता प्रदान गर्नेमा ब्रिटेन र अमेरिका अगाडि थिए । सन् १९५२ मा अमेरिकाले आइन्स्टाइनलाई इजरायलको प्रधानमन्त्री बन्न प्रस्ताव राख्यो । तर, आइन्स्टाइनले आफू राजनीति गर्न जन्मेको होइन भनेर अस्वीकार गरिदिए ।
त्यतिखेर ७३ वर्षको भइसकेका थिए । धेरैले उनको प्रयोगशाला बारे सोध्थे । सधैं उनी आफ्नो टाउको देखाउँथे र मुसुक्क हाँसेर उम्कन्थे । एकजना वैज्ञानिकले उनीसित सबैभन्दा प्रिय उपकरण कुन हो भनेर सोधे । उनले कलमलाई देखाए । उनको भनाइ थियो– दिमाग मेरो प्रयोगशाला हो, अनि कलम उपकरण ।
साभारः राजेन्द्र स्थापित /जनआस्था
