सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकसहित पाँचको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेकाे छ।
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ का सदस्य विज्ञान राज शर्माका अनुसार आयोगको आज बसेको बैठकले पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा, काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेकाे हो।
भदौ २३ र २४ गतेको घटना छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको सदस्य शर्माले जानकारी दिए । निजहरूमाथि आवश्यक कारवाही गर्न तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगका स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गरिने उनको भनाइ छ।
यसैगरी, भदौ २३ र २४ गतेका घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न बनेको जाँचबुझ आयोगको काम प्रभावकारी रुपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकोले थप जनशक्तिको लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय भएको उाले जानकारी दिए ।
ओलीको राहादानी रोक्काप्रति एमालेको आपत्ति
नेकपा (एमाले)ले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आइतबार गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेण्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक डाकेको छ ।
‘सम्भवत हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दैछौं । केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ’, ज्ञवालीले भन्न्ने । ज्ञवालीका अनुसार जेनजी आन्दोलनका क्रममा निधन भएकाप्रति श्रद्धान्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी आन्दोलनका दोषी र तोडफोड र आगजनीमा संलग्नलाई कार्यबाहीको दायरामा ल्याउन पनि बैठकले माग गरेको छ ।
ज्ञवालीका अनुसार भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहादानी रोक्का गरेको समाचारप्रति गम्भीर ध्यानआकर्षण भएको बताए । ‘सरकारले राजनीतिक दलहरुलाई पन्छाउन खोजेको मात्र नभइ निषेध गरेको, दलहरुलाई सम्पर्क, संवाद आदि गर्न नचाहेको देखिएको छ ज्ञवालीले भने , ‘यी सबै घटनाप्रति हामी गम्भीर र चिन्तित छौं ।’
