बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत कोदारीस्थित इको पहिरोका कारण ५२ दिनदेखि तातोपानी नाका सडक बन्द रहेको छ । उक्त सडकखण्ड बन्द भएदेखि मालबाहक कन्टेनरदेखि सबै प्रकारका सवारीसाधान पूर्णरूपमा ठप्प छन् । इको पहिरोले कोदारी सडकखण्ड बन्द भएपछि तातोपानी भन्सार जाँचपासका लागि आउन लागेका एक हजार पाँच सयभन्दा बढी मालवस्तु बोकेका कन्टेनरहरू चिनियाँ क्षेत्रमा अलपत्र छन् । उक्त कन्टेनरहरूले अर्बौंको सामान बोकेका छन् । विशेषत चाडपर्वका सामान बोकेका कन्टेनर डेढ महिनाभन्दा बढी चिनियाँ क्षेत्रमा रोकिदाँ व्यापारीहरू मारमा छन् ।
चीनको न्यालम, ढिंगेर, खासा, जाङ्बुपोर्ट, सिगात्से लगायतका चिनियाँ क्षेत्रमा मालवस्तु बोकेका कन्टेनरहरु रोकिएका छन् । मँहगो शुल्क तिरेर कन्टेनरहरू चिनियाँ क्षेत्रका गोदाम राख्नु परेको व्यापारीहरू काे दुखेसाे छ । साथै नेपालतर्फ मितेरीपुल क्षेत्र, पुरानो भन्सार कार्यालय प्राङगण, लिपिङबजार, कोदारी बजारमा मालवस्तु बोकेका कन्टेनर रोकिएका छन् । फलफूलजन्य, मसलाजन्य वस्तु बोकेका कन्टेनरका सामान मजदुरलाई बोकाएर इको पहिरो तारिँदै आएको छ ।
इको पहिरोले यति लामो समयसम्म तातोपानी नाका सडक बन्द हुदाँ राज्यले अरबौं राजश्व घाटा बेहोर्नु परेको छ । भन्सार भई काठमाडौँ जान लागेका कन्टेनरहरू पनि इको पहिरोले राजधानी पुग्न पाएको छैन । सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङको निर्देशनमा सडक विभागका महानिर्देशक डा.बिजय जैसी, उपमहानिर्देशक प्रभातकुमार झा, पहिरो विशेषज्ञ मधुसुधन आचार्य, उदयराज न्यौपाने, शुभराज न्यौपाने लगायतका सरकारी टोलीले इको पहिरो, डाक्लाङ पहिरो लगायतका पहिरो स्थलगत निरीक्षण गरेको थियो ।
उक्त निरीक्षण टोलीले इको पहिरोलाई एक साताभित्र एकतर्फी रूपमा सञ्चालनमा ल्याइने जनाकारी दिएको छ । भोटेकोशी नदीको कटान र सडकमाथिको कमेरो लेदो माटो बगिरहेका कारण इको पहिरो निरन्तर झरिरहेको छ । यस्तो अवस्थामा सडक एकतर्फी सञ्चालनमा ल्याइदा पहिरोमाथिको सयभन्दा बढी घर पहिरोले तान्ने निश्चित छ ।
पहिरोमाथिका बस्तीहरू दुई महिनाअघि नै घर छाडेर विस्थापित भएका छन् । साउन ७ गते खसेको इको पहिरो सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेत नेतृत्वमा इको पहिरो पन्छाएर उक्त सडक भदौ ५ गते एकतर्फी सञ्चालनमा आएको थियो । तर भदौ ८ गतेदेखि उक्त पहिरो झर्न थालेपछि हालसम्म इको पहिरो खण्डको कोदारी सडक सञ्चालनमा आउन सकेको छैन । पहिरो पन्छाएर सडक सञ्चालनमा अहिले पनि सङ्घ निरन्तर लागिरहेको छ ।
